Comments Add Comment

रहस्यको पर्दाभित्र उत्तर कोरियाली तानाशाह

किम जोङ उनको स्वास्थ्यमाथि विश्वव्यापी खुल्दुली

१५ वैशाख, काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन जीवित छन् या छैनन् ? अहिले विश्वभरका मानिसहरु यो प्रश्नको विश्वसनीय जवाफ खोजिरहेका छन् । व्यापक सञ्जाल भएका प्रख्यात अन्तर्राष्ट्रिय मिडियाहरुले ‘एस’ र ‘नो’ मा जवाफ दिन सकिरहेका छैनन् । चारै ध्रुवका अन्तरकुन्तर सूचनाहरु राख्ने शक्तिशाली देशका खुफिया एजेन्सीहरुले पनि यथार्थ पत्ता लगाउन सकेका छैनन् ।

किमको स्वास्थ्यलाई लिएर विभिन्न चर्चा र अफवाह फैलिन थालेको धेरै दिन भइसक्यो । अहिले त उनको मृत्यु भइसकेको समाचारसमेत सामाजिक सञ्जालमा व्यापक सेयर भइरहेको छ । यसमा उत्तर कोेरियाको सरकारी निकायले कुनै औपचारिक प्रतिक्रिया जनाएका छैनन् । मिडिया पनि मौन छन् । यसले झन् शंसय बढाएको छ ।

उत्तर कोरिया एउटा बन्द समाज र नियन्त्रणमुखी शासन व्यवस्था भएको कम्युनिष्ट देश हो । त्यहाँभित्रका महत्वपूर्ण सूचनाहरु पनि सरकारले नचाहिकन बाहिर आउँदैनन् ।

बेलायतको एउटा वेबसाइटले विभिन्न स्रोतहरुको हवाला दिँदै किमको शनिबार राति निधन भएको समाचार आइतबार प्रकाशित गरेको छ । तर, समाचारको प्रस्तुति विश्वसनीय छैन

उदाहरणका लागि विश्वभरका देशहरुमा कोरोनाबाट संक्रमित र मृत्यु भएकाहरुको दैनिक आँकडा सार्वजनिक भइरहेका छन् । तर, उत्तर कोरियाले आफ्नो देशमा एकजना पनि संक्रमित नभएको दावी गरेको छ । उक्त दावीलाई अपत्यार गरे पनि झुटो सावित गर्ने तथ्य कसैले पेश गर्न सकेका छैनन् ।

इन्टरनेट र सामाजिक सञ्जालले संसारलाई नै एउटा सानो गाउँजस्तो बनाइदिएको छ । संसारको एउटा कुनामा कुनै ठूलो घटना भयो भने केही मिनेटमै अर्को कुनासम्म भाइरल हुन्छ । राष्ट्रप्रमुख वा सरकार प्रमुखलाई जरो आयो भने पनि क्षणभरमै समाचार फैलिन्छ । यस्तो विश्व परिवेशमा एउटा अमूक देशको सर्वोच्च व्यक्ति जिवित छ वा छैन भन्ने नै अन्योल हुनु हदैसम्मको गोपनीयता र अपारदर्शिता हो ।

तर, उत्तर कोरियाली जनता यही शासन प्रणालीमा अभ्यस्त छन् । वाक् स्वतन्त्रताको माग गर्दै त्यहाँ कुनै आन्दोलन वा विद्रोह भएको छैन । आर्थिक र सामरिकरुपमा देश बलियो छ । बाहिर जति आलोचित भए पनि उत्तर कोरियाका जनतामा किम लोकप्रिय रहेको विश्वास गरिन्छ ।

अपुष्ट समाचार श्रृंखला

किम जोङ उन अस्वस्थ रहेको समाचार गत अप्रिल १५ बाट आउन थालेको हो । पछिल्लोपटक १२ अप्रिलमा उनले सत्तारुढ वर्कर्स पार्टीको एउटा वैठकको अध्यक्षता गरेको समाचार सरकारी मिडियामा आएका थिए । त्यसयता उनी सञ्चारमाध्यममा अनुपस्थित छन् ।

१५ अप्रिलमा किमका हजुरबा किम इल सुनको जन्मजयन्तीको समारोह थियो । निकै महत्वपूर्ण मानिने यो समारोहमा किम उपस्थित नभएपछि उनको स्वास्थ्यलाई लिएर अड्कलबाजी सुरु भएका हुन् । त्यसपछि उनी सेनाको स्थापना दिवसको कार्यक्रममा पनि देखिएनन् । कतै उनी कोरोना संक्रमित भएर वा कोरोनाबाट बच्न आइसोलेसनमा त छैनन् भन्ने पनि एकथरिले आशंका गरे ।

त्यसपछि आएका समाचारहरुमा चाहिँ किमको मुटुको आपत्कालिन शल्यक्रिया गरिएको उल्लेख छ । तर, शल्यक्रिया सफल भए–नभएको नै प्रष्ट भएको छैन । बरु उनको मृत्यु भइसकेको भनेर अपुष्ट समाचारहरु भाइरल भइरहेका छन् । दुई दिन त #KimJongUndead ह्यासट्याग ट्विटरमा ट्रेन्डिङ नै भएको थियो ।

बेलायतको एउटा वेबसाइटले विभिन्न स्रोतहरुको हवाला दिँदै किमको शनिबार राति निधन भएको समाचार आइतबार प्रकाशित गरेको छ । तर, समाचारको प्रस्तुति विश्वसनीय छैन ।

समाचारको भाषा यस्तो छः-

‘चीन र जापानका मिडियाहरुले पेश गरेको तथ्यअनुसार ३६ वर्षिय तानाशाहको निधन भएको छ । अन्य स्रोतहरुले चाहिँ उनी मुटुको असफल शल्यक्रियापछि बाँच्ने कुनै आशा नरहेको स्थितिमा मृत्युशैयामा रहेको जनाएका छन् । तर, उत्तर कोरियाको अति गोप्य शासन व्यवस्थाले गर्दा किम जोङ उनको मृत्युको खबर पुष्टि गर्न अत्यन्त कठिन छ, जबसम्म राज्यले आधिकारिक घोषणा गर्दैन ।’

आफूलाई चिनियाँ विदेशमन्त्रीका भान्जी बताउने हङकङको एउटा न्यूज च्यानलकी उपनिर्देशकले किमको मृत्यु भएको दाबी गरेकी छन् । एचकेएसटिभीकी उपनिर्देशक शिजियान सिन्झोउले भनेकी छन्, ‘अत्यन्त बलियो सूत्रले मलाई किम जोङ उनको मृत्यु भएको पुष्टि गरेको छ ।’

जापानको एउटा साप्ताहिकले चाहिँ किम यसै महिनाको प्रारम्भतिर गरिएको शल्यक्रियापछि अहिले भेजिटेटिभ स्टेज (प्राविधिकरुपमा जीवित तर, अचेतन अवस्था) मा रहेको जनाएको छ । उसले पनि कुनै ठोस प्रमाण दिन सकेको छैन ।

‘शुकान गेन्दाई’ नामको सो साप्ताहिकले गत शुक्रबार प्रकाशित गरेको समाचारलाई विश्वास गर्ने हो भने अप्रिलको पूर्वार्द्धतिर किमको मुटुको शल्यक्रिया भएको थियो, जुन सफल हुन सकेन । उक्त साप्ताहिकले किमको उपचारमा संलग्न रहेको विश्वास गरिएका एक डाक्टरको हवाला दिएको छ ।

सो समाचारअनुसार किम गत १३ अप्रिलमा कन्ट्रिसाइडमा भ्रमण गरिरहेका बेला छाति दुखेर ढलेका थिए । उनीसँगै रहेका चिकित्सकले किमलाई तत्काल सीपीआर (कार्डियोपल्मोनरी रिससाइटेसन : आपत्कालीन अवस्थामा स्वासप्रश्वास सहज पार्ने काम) गरेर अस्पताल लगेका थिए । यतिबाहेक अरु विवरण यो समाचारमा पनि छैन ।

अन्य केही सञ्चारमाध्यमले चाहिँ किमको अवस्था सुधारोन्मुख रहेको पनि जनाएका छन् । दक्षिण कोरियाको राजधानी सियोलको वेबसाइट ‘डेल्ली एनके’ ले गत साता प्रकाशित समाचारमा अप्रिल १२ मा गरिएको मुटुको शल्यक्रियापछि किमको स्वास्थ्य सुधारोन्मूख रहेको उल्लेख थियो । यसले उत्तर कोरियाको नाम नखुलेको सूत्रलाई उद्धृत  गरेको छ ।

गत शुक्रबार नै एउटा दक्षिण कोरियाली सूत्रको हवाला दिँदै रोयटर्सले किम जीवित रहेको र चाँडै सार्वजनिक हुने समाचार दियो । तर, किमको अहिलेको अवस्थाबारे समाचारले प्रष्ट पार्न सकेन ।

अमेरिकास्थित उत्तर कोरियाको निगरानी योजना ३८–नर्थले गत साता उत्तर कोरियाको वोन्सानमा किमको २५० मिटर लामो ट्रेन रोकिएको स्याटेलाइट फोटो सार्वजनिक गरेको छ ।

गत साता किम जोङ उन सोही क्षेत्रमा रहेको दक्षिण कोरियाका गुप्तचर अधिकारीले पनि बताएका छन् । ३८ नर्थका अनुसार अप्रिल २१ र २३ मा वोन्सानमा किमको रेल देखिएको थियो । त्यसैले किम त्यति क्षेत्र आसपासमा रहेको पनि अनुमान गरिएको छ ।

कति पत्याउने ?

सूचनामा सहज पहुँच नदिँदा उत्तर कोरियाका बारेमा अनेकन अफवाहहरु फैलने पुरानै सिलसिला हो । किम जोङ उनका पिता किम जोङ इलका विषयमा पनि यस्ता अफवाहहरु आइरहन्थे । सन् २०११ मा उनको मृत्यु भएको खबर दुई दिनपछि मात्रै राज्यले औपचारिक रुपमा पुष्टि गरेको थियो ।

अहिलेसम्म आएका अपुष्ट समाचारहरुका आधारमा किम जोङ उन गम्भीर अस्वस्थ छन् भन्ने आँकलन गर्न सकिन्छ । लामो समय सार्वजनिकरुपमा र महत्वपूर्ण कार्यक्रममा नदेखिनु तथा बाहिर चलिरहेका अफवाह र समाचारहरुबारे उत्तर कोरियाको जिम्मेवार निकायले मौनता साँध्नुले यस्तो निस्कर्षमा पुग्न कर लाग्छ । धुम्रपानका अम्मली, मोटो शरीर र वंशाणुगत कारणले गर्दा पनि उनी मुटुरोगको जोखिममा नै थिए । उनका पिताको पनि हृदयाघातबाट निधन भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले चीनबाट एउटा मेडिकल टिम उत्तर कोरियाको राजधानी प्योङहाङमा पठाइएको उल्लेख गरेका छन् । उक्त टिममा किमको उपचारका लागि एक चिनियाँ विशेषज्ञ डाक्टर सामेल रहेको समाचारमा उल्लेख छ । चिनियाँ मेडिकल उत्तर कोरिया जानुले किमको मृत्यु नभएको तर गम्भीर अस्वस्थ रहेको तर्फ संकेत गर्छ । तर, यस विषयमा चीनले कुनै प्रतिक्रिया दिएको छैन ।

गत बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किम ‘क्रिटिकल’ अवस्थामा रहेको नहुन सक्ने बताएका थिए । उनले संवाददाताहरुसँग भनेका थिए, ‘मलाई लाग्छ, (किमको बारेमा आएका) समाचार बेठीक छन् ।’ तर, यस विषयमा आफूले उत्तर कोरियाका अधिकारीहरुसँग बुझेको वा नबुझेको बारे उनले बताएनन् ।

किमको घोषित उत्तराधिकारी अहिलेसम्म कोही छैन । यदि दुर्भाग्यवस तत्काल उनको मृत्यु भयो वा फेरि शासन सम्हाल्न नसक्ने गरी अशक्त भए भने उत्तर कोरियामा नयाँ नेतृत्वको संकट पैदा हुनेछ । नेतृत्वविहीनताले त्यहाँ गृहयुद्धको अवस्था आउन सक्नेसम्मका विश्लेषण भइरहेका छन्

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्पर्क विभागका एक वरिष्ठ सदस्यले नेतृत्व गरेको डेलिगेसन बिहीबार बेइजिङबाट उत्तर कोरिया गयो । छिमेकी उत्तर कोरियासँगको सम्वन्ध हेर्ने जिम्मेवारी बोकेको यो विभागबाट गएका व्यक्तिहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

यदि किमको मृत्यु भएको हो भने त्योबारे सबैभन्दा पहिलो जानकारी पाउन सक्ने देश चीन हो । संयुक्त राष्ट्रसंघको कडा प्रतिबन्ध भोगिरहेको उत्तर कोरिया कुटनीतिक तथा आर्थिक मामलामा चीनसँग निकै निर्भर छ । चीनसँग लामो उत्तर कोरियाको लामो सीमा जोडिएको छ । अप्ठेरोमा साथ दिने एक मात्र देश भएकाले उत्तर कोरियामा कुनै संकट आएको खण्डमा चीनलाई वा चीनको विदेश मन्त्रालयलाई थाहा हुनुपर्ने हो । तर, सूचना चुहाउने मामलामा चीन पनि उत्तर कोरियाभन्दा धेरै खुकुलो छैन ।

यसअघि पनि एकपटक किम लामो समय अदृष्य बनेका थिए । सन् २०१४ मा उनी ४० दिनसम्म लापता हुँदा नानाथरि अफवाहहरु चले । ४० दिनपछि सरकारी मिडियामा उनले वैशाखी टेकेर हिँडिरहेका तस्वीरहरु आए । त्यसबेला किमको स्वास्थ्यमा समस्या आएको बताइए पनि विस्तृत विवरण दिइएन । अहिले पनि किम अस्वस्थ छन् भन्नेमा लगभग सबै सहमत भए पनि उनको अवस्था कति क्रिटिकल हो भन्ने चाहिँ अन्योल छ ।

किमको नेतृत्वमा उत्तर कोरिया

किम उत्तर कोरियामा शासन गर्ने तेस्रो पुस्ताका वंशाणुगत नेता हुन् । दक्षिण कोरिया र उत्तर कोरिया अलग भएपछि किमका हजुरबा किम इल सुनले देशको शासनसत्ता सम्हालेका थिए । सन् २०११ मा उनको मृत्यु भएपछि किम जोङ इलको पालो आयो ।

देशको बागडोर सम्हाल्दा किम कलिलै थिए । उनको उमेर २८ वर्ष मात्र भएको थियो । उमेरले युवा र विदेशमा पढेको हुनाले उनले पिताको भन्दा फरक र उदार शासनशैली अपनाउने अनुमान गरिएको थियो । तर, किमले पिताकै पदचाप पछ्याए ।

उत्तर कोरियाका सबै महत्वपूर्ण राज्य संयन्त्रहरु किमले आफ्नो नियन्त्रणमा राखेका छन् । उनी वर्कर्स पार्टी अफ कोरियाका अध्यक्ष हुन् भने सेन्ट्रल मिलिटरी कमिसन, स्टेट अफेयर्स कमिसनका पनि अध्यक्ष हुन् । अहिले उनलाई चुनौति दिने कुनै नेता उत्तर कोरियामा छैन । उमेरले कच्चा भए पनि उनी कठोर र दृढ निश्चयी छन् । उनलाई सीधा आँखाले पनि कसैले हेर्न नसक्ने बताइन्छ ।

पश्चिमा मिडिया र मानवअधिकारवादीहरुले किमको खराब र क्रुर छवि पेश गर्दै आएका छन् । सामान्य गल्तिमा पनि उनले देशका नागरिकलाई कठोर ढंगले मृत्युदण्ड दिने गरेको दाबी गर्ने गरिएको छ । आफ्ना लाखौं विरोधीहरुलाई उनले हत्या गरेको, जेलमा हालेको र श्रम शिविरमा राखेको आरोप छ । संयुक्त राष्ट्रसंघले समेत उत्तर कोरियामा व्यवस्थित र व्यापक रुपमा मानवअधिकार उल्लंघन भइरहेको भनेर चिन्ता व्यक्त गर्दै आएको छ ।

देशभित्र भने किम लोकप्रिय नै रहेको मानिन्छ । उनलाई अपदस्थ गर्न वा देशमा स्वतन्त्रताको बहाली गर्न कुनै उल्लेख्य गतिविधि भएको छैन । यसको अर्थ जनताले स्वतन्त्रताभन्दा देशको स्वाभिमान र तरक्कीलाई ठूलो ठानेका छन् भनेर बुझ्न सकिन्छ ।

किमका बाबुछोराले उत्तर कोरियालाई आणविक शक्तिसम्पन्न बनाएका छन् । यसले नै अमेरिका लगायतका शक्ति राष्ट्रहरुको टाउको दुखाइरहेको छ । किम जस्ता ‘सन्की’ नेताले कुनै पनि बेला यस्ता अस्त्रहरुको दुरुपयोग गर्न सक्ने भय उनीहरुलाई छ । त्यही भयले गर्दा अमेरिकाले उत्तरकोरियालाई नि:शस्त्रीकरण गर्नेतर्फ कडा कदम चाल्न सकेको छैन ।

सन् २०१५ को डिसेम्बरमा किमले भनेका थिए कि आफ्नो देशको सार्वभौमिकता र आत्मसम्मान माथि कुनै प्रहार भएमा त्यसको प्रतिवाद गर्न सक्ने आणविक शक्ति उत्तर कोरियासँग छ । उनको कार्यकालमा उत्तर कोरियाले ८० भन्दा बढी क्षेप्यास्त्र परीक्षण गरिसकेको छ ।

पछिल्लो समय किमले अन्तर्राष्ट्रिय सम्वन्धहरुमा भने खुकुलोपन ल्याउन उनले प्रयत्न गरिरहेका छन् । खासगरी चीनसँग उनले मजबुत सम्वन्ध बनाएका छन् । गत वर्ष चिनीया राष्ट्रपति सि जिनपिङले १४ वर्षपछि पहिलोपटक उत्तर कोरियाको राजकीय भ्रमण गरे । त्यसयता दुई नेताले पटक–पटक एक–अर्को देश भ्रमण गरेका छन् ।

यता, उत्तर कोरियाको प्रमुख सत्रू राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि किम संवादमा छन् । सन् २०१८ र २०१९ मा यी नेताहरुले दुईपटक भेटवार्ता गरेका छन् ।

उत्तराधिकारी को ?

किमको घोषित उत्तराधिकारी अहिलेसम्म कोही छैन । यदि दुर्भाग्यवस तत्काल उनको मृत्यु भयो वा फेरि शासन सम्हाल्न नसक्ने गरी अशक्त भए भने उत्तर कोरियामा नयाँ नेतृत्वको संकट पैदा हुनेछ । नेतृत्वविहीनताले त्यहाँ गृहयुद्धको अवस्था आउन सक्नेसम्मका विश्लेषण भइरहेका छन् ।

किमका बुवाले चार श्रीमती बिहे गरेको बताइन्छ । किम माइला छोरा हुन् । आफूभन्दा जेठा सौतेनी दाजु किम जोङ नामलाई पछाडि धकेल्दै किम पिताको उत्तराधिकारी बनेका थिए । विभिन्न विवादमा मुछिएर उत्तर कोरिया हाँक्ने अवसर गुमाएका नामको तीन वर्षअघि मलेसियाको क्वालालम्पुर इन्टरनेसनल एयरपोर्टमा हत्या भएको थियो । उनको हत्या पनि किमको हात रहेको आशंका गरिएको छ । नामले बेलाबखत किमको आलोचना गर्ने गरेका थिए ।

राज्यसत्ता सम्हाल्नु अगावै किमको विवाह सन् २००९ मा रि सोल–जुसँग भएको थियो । उनीहरुका कति सन्तान छन् भन्नेसमेत यकिन छैन । पहिलो सन्तानका रुपमा २०१० मा छोरा जन्मिएका थिए । त्यसपछि कम्तिमा दुई सन्तान जन्मिएको विश्वास गरिन्छ । तीनैजना छोराछोरी सानै भएकाले उनीहरु अहिले किमको उत्तराधिकारी बन्न सक्दैनन् ।

यदि किमलाई केही भइहालेमा उनकी बहिनी किम यो जोङलाई सम्भावित उत्तराधिकारीका रुपमा हेरिएको छ । तीस वर्ष नाघेकी जोङले राज्य सञ्चालनमा अहिले किमलाई सघाइरहेकी छिन् । उनले किमका भेटघाट तथा कार्यक्रमहरुको व्यवस्थापन गर्छिन् ।

सन् २०१८ मा दक्षिण कोरियामा भएको ओलम्पिकमा जोङले उत्तर कोरियाली टोलीको नेतृत्व गरेकी थिइन् । त्यसपछि अन्तर्राष्ट्रिय मिडियामा उनको चर्चा हुन थालेको हो । ट्रम्प र उनबीच भितनामको होनाईमा भएको शिखर वार्ता पनि जोङले दाजुलाई सघाएकी थिइन् । किम र जोङको बाल्यकाल स्वीट्जरल्यान्डमा बितेको थियो ।

पितृसत्तात्मक समाज भएको उत्तर कोरियामा महिलालाई उच्च पदमा त्यति विश्वास गरिँदैन । र, पनि किमका छोरा सानै भएकाले जोङ प्रबल दावेदार बनेकी हुन् । तर, किम चाँडै स्वस्थ भएर फेरि आफ्नो नियमित जिम्मेवारीमा फर्कने आशा उत्तर कोरियाली जनतालाई छ ।

प्रस्तुति : चिरञ्जीवी पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment