Comments Add Comment

थानकोटमा बिजोग : जाडोले काम्दै, फुको चिउरा चपाउँदै

१५ वैशाख, काठमाडौं । लकडाउनको एक महिना बित्दा काठमाडौंमा मजदुर र विद्यार्थी अलपत्र परेको खबरपछि स्थानीय तहहरूले आफ्ना नागरिक धमाधम गाउँ फर्काउन थालेका छन् । दर्जनौं गाडी साँझ कोटेश्वर र कलंकीबाट छुट्छन् ।

सरकारले अघोषितरुपमा गाडी खोलिदिएका कारण दैनिक हजारौंले काठमाडौं छाडिरहेका छन् । यसैबीच आइतबार विराटनगरबाट सात वटा बसमा हिँडेका काठमाडौंवासी सोमबार बिहान पाँच बजे नागढुंगा आइपुगे । उनीहरूलाई चाहिँ सरकारले त्यहीँ रोकेर राख्यो ।

विराटनगर महानगरपालिकाको सिफारिसमा आएका उनीहरूको समूहमा दूधे बालबालिकाहरू पनि थिए । दिउँसो मुसलधारे पानी परेपछिको जाडोमा काम्दै उनीहरू चन्द्रगिरि नगरपालिकाको २ नम्बर वडा कार्यालयले बाँडेको फुको चिउरा खाँदै थिए ।

त्यही भिडमा रहेका छुमलाल माझी थारुले ६ वर्षकी छोरी र उनकी श्रीमती सरस्वतीले ७ महिनाकी अर्की छोरी च्यापेका थिए । करिब एक सयको हाराहारीमा रहेका सबै सडक किनाराको बन्द सटर छेउमा ओत लागेका थिए । मुसलधारे पानीको बाछिटाले भिजिरहेका छुमलाल र सरस्वती आफ्ना नानीहरू जोगाउने ध्याउन्नमा थिए ।

पुर्खौली घर विराटनगर गएर आएका उनीहरू अहिले बालकुमारी निवासी रहेछन् । मुटुको बिरामी जेठी छोरीलाई गंगालाल अस्पतालमा देखाउने मिति भ्याउन जोडबल गरेर आउँदा बिजोग भएको छुमलालले बताए ।

लकडाउन सुरु हुनुभन्दा दुई दिनअघि उनीहरू विराटनगर पुगेका थिए । त्यसपछि उनीहरू लकडाउन खुल्ने आशामा बसे । त्यसबीचमा स्थानीय तहहरूले गाडी काठमाडौं पठाएर धमाधम आफ्ना मान्छे ओसार्न थाले । विराटनगर महानगरपालिकाले पनि त्यहाँ थुनिएकाहरूलाई पठाउने खबर गरिरहेको उनीहरूले सुने । त्यसरी उनीहरू थानकोट आइपुगेका थिए ।

थारु दम्पतीसँगै छिन्, सिन्धुपाल्चोक मार्मी घर भएकी फुलमाया तामाङ । विरानगरमा व्यवसाय बन्द भएपछि उनलाई घर जान मन लाग्यो । त्यहाँको वडा कार्यालयको सिफारिस लिएर तीन वर्षकी छोरी तेन्जिङ तामाङलाई लिएर उनी काठमाडौं आइन् । उनी अहिले थानकोटमा अलपत्र परेकी छिन् । कार्यालयले बाँडेको चिउरा र कालो चियाले भोक मेटाउनुपर्दा तेन्जिङ निन्याउरी देखिन्छिन् ।

काठमाडौंको मूलपानी घर भएका भुवन बस्नेत बुबा सारै बिरामी भएको खबर पाएर ४ कक्षामा पढ्ने छोरा संस्कारलाई लिएर लकडाउन अघि विराटनगर पुगेका थिए । बुबा बितेपछि उनी काजकिरियामा बसे । १३ दिनको काम सक्दा लकडाउन थपियो । काठमाडौं घर भएकाहरूलाई विराटनगर महानगरपालिकाकै समन्वयमा पठाउने भएपछि उनी पनि छोरासहित बस चढेका थिए ।

सेतो पहिरनमा उनले बाहिर जेपायो त्यही खान पनि मिल्दैन । त्यसमाथि छ, नाबालक छोराको चिन्ता । ‘घर त्यहीँ पर छ । जान दिँदैनन्’, बस्नेतले भने, ‘काठमाडौंमा थुनिएकाहरू विराटनगर जान हुने, उताबाट यता आउन नहुने, सरकारको नियम पनि बुझिसक्नु भएन ।’

देशका अन्य भागबाट आएकाहरूलाई पनि प्रहरीले थानकोटमै रोकेको छ । चप्पल कारखाना घर भएकी रञ्जना हमाल आफन्त बितेकाले लकडाउनकै बेला सीडीओ कार्यालयमा पास बनाएर धनगढी पुगेकी थिइन् । फर्किँदा भने उनलाई थानकोटमा रोकियो ।

बनेपा घर भएका रमेश प्रसाईं पनि थानकोटमा चिउरा चपाउँदै बसेका छन् । उनी घरिघरि प्रहरीलाई ‘अब हामीलाई के गर्नुहुन्छ ?’ भन्दै सोध्छन् । प्रहरी निरीक्षक आफूलाई केही जानकारी नभएको र माथिको आदेश कुरिरहेको बताउँछन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडको गाडी चालक पनि यहीँ रोकिएका रहेछन् । घरमा जरुरी काम परेर स्कुटरबाट नुवाकोट पुगेका उनी फर्किँदा रोकिएपछि मन्त्रालयका अधिकारीहरूलाई फोन गरिरहेका थिए ।

त्यही समूहमा रहेका बझाङका विष्णुराज जोशी खानेपानीसम्बन्धी एउटा परियोजना सम्बद्ध रहेछन् । कामको सिलसिलामा विराटनगर पुगेका उनलाई लकडाउनले एक महिना त्यहीँ रोकेछ ।

‘हाम्रो गाउँपालिकाले काठमाडौंबाट आफ्ना मान्छे लैजान थालेको सुनेर आएको, प्रहरीले यहीँ रोकेका छन्’, उनी भन्छन्, ‘जान दिने, आउन नदिने, अनौठो नियममा परियो ।’

लडकडाउनमा विराटनगरमा फसेका खोटाङका हेमन्त श्रेष्ठ पनि यताबाट सजिलो हुने देखेर काठमाडौं हुँदै आएका रहेछन् । ‘म काठमाडौं बस्ने नै होइन, खोटाङबाट कोटेश्वर आउने गाडी चढेर गइहाल्थेँ,’ उनी भन्छन्, ‘यो जाडोमा यसरी फुको चिउरा चपाएर कसरी बस्नु ?’

काठमाडौंका सीडीओ, काठमाडौं प्रहरी परिसर प्रमुख, ट्राफिक प्रहरी प्रमुखका साथै नेपाली सेना र सशस्त्र प्रहरीका अधिकृतहरू आएर स्थिति अवलोकन गरे । त्यसपछि प्रहरीले दर्जनभन्दा बढी गाडी जताबाट आयो उतै फर्काइदियो । यो समाचार तयार पार्दासम्म एक सयभन्दा बढीको समूह थानकोटमै अलपत्र छ ।

तस्वीर र भिडियाे– आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment