Comments Add Comment
अन्तर्वार्ता :

‘कोरोनाको उपचार गर्ने भएपछि अरू बिरामी झन् सुरक्षित छन्’

पाटन अस्पताललाई सरकारले कोरोना भाइरस (कोभिड–१९) को उपचार गर्ने अस्पताल तोकेको छ । पेप्सिकोलाको सनसिटी अपार्टमेन्टका आमाछोरा पाटनमै उपचार गरेर घर फर्किएका छन् । तर पाटनमा अरु बिरामीको पनि नियमित उपचार चलिरहेको छ । कोरोना र अरु बिरामीलाई एउटै अस्पतालमा उपचार गर्दा बिरामी र आफन्तहरु स्वयंम पनि असहज महसुस गर्ने गरेका छन् ।

तर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. विष्णुप्रसाद शर्मा भने कोरोनाको उपचार गर्ने भएपछि अरू बिरामी झन् सुरक्षित हुने बताउँछन् । प्रस्तुत छ, शर्मासँग विश्वास खड्काथोकीले गरेको कुराकानीको सम्पादित अंशः

सरकारले कोरोना संक्रमितको उपचार गर्ने भनेर छुट्याएको अस्पतालमध्ये पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि एउटा हो । यहाँ अरू बिरामीको पनि उत्तिकै चाप हुने गर्छ । कस्तो उपचार पद्धति अपनाउनुभएको छ ?

हामीकहाँ सबै खालका बिरामी आउने हुनाले सबभन्दा पहिलो ‘केस डेभिनेसन’ गरिन्छ । ‘सस्पेक्टेड’ बिरामीलाई छुट्टै राखेर उपचार गरिन्छ ।

ज्वरो पनि भएका डेलिभरी केस छ भने पहिला ‘फिवर क्लिनिक’ वा इमरजेन्सीमा लगिन्छ । बिरामीलाई सबभन्दा पहिला ज्वरोको कारण के हो ? त्यो पत्ता लगाउँछौँ । कोभिड १९ को लक्षण भन्ने शंका लागे अरू बिरामीसँग राख्ने कुरै भएन । त्यस्ता बिरामीलाई ‘आइसोलेट’ गरेर राख्छौँ । फरक समस्या भएका बिरामीको उपचारका लागि छुट्टै भवनहरू छन् ।

कोभिड–१९ का शंकास्पद बिरामीलाई आइसोलेसन वार्डमा कसरी राखिरहनुभएको छ ?

आइसोलेसनको लागि छ वटा वार्ड छुट्टाइएको छ । चीनमा कोरोना देखापर्दा नै हामीले आइसोलेसन वार्डको स्थापना गरेका थियौँ । त्यतिबेला बनाएको पाँच वटा शय्या लामो समय खाली नै बस्योे ।

बिस्तारै अन्य देशहरूसँगै नेपालमा पनि संक्रमित संख्या बढ्ने संकेत देखिएपछि छ वटा आएसोलेसन वार्ड बनायौँ । अर्कै प्रयोजनको लागि तयार भवनलाई आइसोलेसनको लागि प्रयोग गर्‍यौँ ।

कोरोना उपचारकै लागि १५ शय्याको ट्रिटमेन्ट वार्ड बनाएका छौँ । आइसोलेसनमा राखेका बिरामीमा कोरोना पोजेटिभ देखिए त्यो वार्डमा राखेर उपचार गर्छौँ । त्यहाँ राखिएका बिरामी सिकिस्त भएको अवस्थामा आइसीयूमा लैजान्छौँ । कोरोनाको लागि हामीसँग २१ वटा आइसीयू छ । १५ वटा भेन्टिलमेटर छन् । अरू बिरामीका लागि आईसीयू र भेन्टिलेटर यथावत नै छन् ।

कोरोनाका बिरामीको उपचार गर्ने भएपछि अरू बिरामीले असहज मान्छन् नै । यही डरले कतिपय बिरामी अस्पताल नआएका हुन सक्छन् । यो अवस्थालाई कसरी सम्बोधन गर्नुहुन्छ ?

पहिलो कुरा त कोही त्रसित हुनुहुँदैन । पाटन अस्पतालमा कोरोनाको पनि उपचार हुन्छ, भनेपछि त झन् सकारात्मक मान्नुपर्छ । फेरि कोरोनाको बिरामीलाई पहिल्यै छुट्टाएर उपचार गरिन्छ । त्रसित भएर बिरामी हाम्रो अस्पताल नआउने स्थिति म देख्दिनँ ।

कोरोनाको बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोविज्ञान कस्तो पाउनुभएको छ ?

यस्तो अवस्थामा स्वास्थ्यकर्मीको त्रास व्यवस्थापन गर्नु महत्वपूर्ण हुन्छ । यसमा हामी किन गर्व गरिरहेका छौँ भने उहाँहरू समर्पित ढंगले उपचारमा खट्नुभएको छ । बिरामीको उपचार हाम्रो दायित्व हो भन्ने आत्मबोधले उहाँहरू समर्पित हुनुहुन्छ । फेरि स्वास्थ्यकर्मी नै त्रसित भएर संक्रमितलाई छोडिदिने हो भने त कोरोनाले सबैलाई सखाप पार्छ ।

‘फ्रन्टलाइन’का स्वास्थ्यकर्मीलाई नै पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई) लगायतका अत्यावश्यक सुरक्षा सामग्रीको अभाव देखिन्छ । तपाईंहरूले कसरी व्यवस्थापन गर्नुभएको छ ?

पाटन अस्पताल सुरुदेखि नै ‘डिजास्टर म्यानेजमेन्ट’को काम गरेको अस्पताल हो । हामी भुइँचालो, दुर्घटना, सरुवा रोग आदिको ड्रिल गरिरहेकै थियौँ । यसले गर्दा पनि हामी तुलनात्मक रुपमा सहज परिस्थितिमा छौँ ।

हामीसँग पीपीई लगायतका सामग्रीको पनि थोरै जगेडा थियो । ‘सही चीजको प्रयोग सही ठाउँमा’ हुनुपर्छ भन्नेमा हामी सचेत थियौँ । कोरोना फैलिँदै गएको अवस्थालाई ध्यानमा राखेर हामीले कपडाको मास्क पनि बनाउन थाल्यौँ । अरू बिरामीको उपचार गर्दा कपडाको मास्क प्रयोग गरेर सर्जिकल मास्क बचाएर राख्यौँ ।

स्यानिटाइजर पनि आफैँ उत्पादन गर्‍यौँ । सिलाइ मेसिनबाट हामीले नै पहिलो पटक पीपीई पनि बनाउन थाल्यौँ । दिनमा पाँच–सात वटा पीपीई तयार पारिरहेका छौँ । एक दर्जनजति पीपीई सहयोग पनि पायौँ । भोलि आउन सक्ने भयावह स्थितिको लागि यसरी तयारी गरिरहेका छौँ ।

पीपीई त अरू पनि थुप्रै ठाउँमा उत्पादन हुन थालेका छन् । तर, गुणस्तरमा प्रश्न उठेको छ नि ?

यो प्रश्नमा मेरो जवाफ अलि फरक खालको छ । हामीले सन्तुलित भोजन खानुपर्छ । सन्तुलित भोजन नभएको दिन भोकले मर्न पनि हुँदैन । पीपीईको सन्दर्भमा पनि यही नियम लागु हुनुपर्छ ।

हामीले पाएसम्म गुणस्तरीय सामग्री नै प्रयोग गर्ने हो । तर, त्यो नपाउञ्जेल सबभन्दा उपयुक्त जे उपलब्ध हुन सक्छ, त्यो चलाउने हो । डब्ल्यूएचओको गुणस्तर भन्दै पर्खेर बस्दा त महामारी फैलिसक्छ । त्यसैले सकेसम्म अधिकतम सावधानी अपनाएर उपचार गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।

यो पीपीई डब्ल्यूएचओ वा फलानो कम्पनीको गुणस्तरसँग मिल्छ, मिल्दैनभन्दा पनि त्यसबाट ‘प्रिभेन्सन’ हुन्छ कि हुँदैन भन्ने कुरा महत्वपूर्ण हो । हामीले बनाएको पीपीई वाटर प्रुफ, वाइण्ड प्रुफ छ । त्यसमा फेस मास्क, फेस सेभ, शु–कभर सबै छ । यसले रोग सर्नबाट बचाउँछ भन्नेमा हामी विश्वस्त छौँ ।

धेरै पटक फेर्नुपर्ने भएकाले पीपीई अपुग हुने अवस्था आउन सक्छ । त्यसैले यसको उत्पादन बढाउनुपर्ने दायित्व छ । विकसित देशहरूमा समेत अपुग भएर फाल्नुपर्ने पीपीईसमेत प्रयोग गरिरहेको हामीले देखेकै छौँ ।

पाटन अस्पतालमा कोरोना उपचारको लागि कति जनाको टिम खटिएको छ ?

स्वास्थ्य मन्त्रालयले ४० जनाको टिम तोकेको छ । यसमा केही तलमाथि हुन सक्छ । फिवर क्लिनिकमा दिनमा आठ जना र राति चार जना खटिनुभएको छ । आइसोलेसन वार्ड हेर्ने मेडिकल टिम छ । बिरामी आइसीयूमा गएको अवस्थामा क्रिटिकल केयरको टिमले हेर्नुपर्ने हुन्छ । त्यसको पनि छुट्टै व्यवस्था गरेका छौँ ।

अहिले सुत्केरी हुन आउनेहरूको चाप कस्तो छ ?

मासिक साढे छ सयदेखि सात सयसम्म डेलिभेरी हुने गरेकामा चैतमा यो संख्या साढे चार सयमा झरेको छ । लकडाउनमा डेढ सय कम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment