Comments Add Comment

प्रदेश १ को बजेट चालु वर्षको भन्दा सानो आउने

१७ वैशाख, विराटनगर । कोरोना महामारीका कारण आर्थिक गतिविधि घटेका बेला प्रदेश १ सरकारले सानो आकारको बजेट ल्याउने गृहकार्य सुरु गरेको छ ।

चालु आर्थिक वर्षका लागि वर्ष ४२ अर्ब २० करोडको बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि त्यो भन्दा सानो आकारको बजेट ल्याउन लागेको हो । कोरोना महामारीले अर्थतन्त्रमा ठूलो प्रभाव पारेका कारण बजेटको आकार सानो बनाउन लागिएको प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले बताए ।

१५ जेठमा संघीय सरकार र १ असारमा प्रदेश सरकारले बजेट ल्याउने संवैधानिक प्रावधान छ ।

लकडाउनले आर्थिक गतिविधि ठप्प भएका कारण बजेटमा पनि असर गरेको उनले बताए । संघीय सरकारले पनि राजस्व बाडफाँटको सिलिङ चालु वर्ष भन्दा १० प्रतिशत कटौंती गरेर पठाएको उनले जानकारी दिए ।

प्रदेश १ सरकारले चालु वर्ष राजस्व बाडफाट शीर्षकमा १० अर्ब ५२ करोड बजेट पाएको थियो । तर आगामी १० प्रतिशत घट्ने छ । समपुरक अनुदान र सशर्त अनुदान पनि घट्ने सम्भावना छ । ‘राजस्व बाँडफाटको सिलिङ पनि घटेर आएको छ’ मन्त्री आङ्बोले भने ‘आगामी वर्ष, चालु वर्षको भन्दा सानो बजेट आउँछ ।’ बजेट उत्पादनमूलक क्षेत्रमा केन्द्रित हुने उनले बताए ।

वैदेशिक रोजगारी गुम्छ, ग्रामिण अर्थतन्त्र सुधार गरौं

कोरोना महामारीका कारण अब रेमिट्यान्स घट्ने र ठूलो संख्यामा वैदेशिक रोजगारी गुम्ने खतरा रहेको मन्त्री आङ्बो बताउँछन ।

‘अब ग्रामीण अर्थतन्त्र बलियो बनाउन कृषिलाई प्राथमिकतामा राखेर बजेट बनाउछौं’ उनी भन्छन् ‘अनुत्पादक क्षेत्रको बजेट कटौती हुन्छ ।’ महत्वपूर्ण आयोजना, कृषि शिक्षा तथा स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट बनाउने उनले बताए ।

मन्त्री आङ्बोले चालु आर्थिक वर्षको ६० प्रतिशत बजेट खर्च हुने बताएका छन् । कोरोना महामारी अघि सरकारले खर्च प्रगति राम्रो गरेको बताउँदै उनले आर्थिक वर्षको अन्त्यसम्म ६० प्रतिशत गर्न हुने अपेक्षा गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment