Comments Add Comment
पूर्वडीएसपीको प्रश्न :

आईजीपी साहेब, के बोकेर बाहिरिनुहुन्छ ? आत्मसन्तुष्टि वा पश्चाताप ?

करिब २२ वर्ष अगाडि हालका आईजीपी ठाकुर ज्ञवाली सा’ब रुकुममा इन्स्पेक्टर हुनुहुन्थ्यो । उहाँ युएन मिसनमा छानिनुभएकाले म उहाँको स्थानमा कार्यभार सम्हाल्न जाँदै गर्दा बाटैमा थाहा भो, उहाँलाई एस्कर्ट गर्ने प्रहरीको टोली माओवादीको एम्बुसमा पर्‍यो र दुई प्रहरी मारिए ।

इन्स्पेक्टर (हालका आईजीपी) लाई टार्गेट गरेर थापेको एम्बुसबाट इन्स्पेक्टर उम्किनुभयो । तर, त्यही एम्बुसमा उहाँलाई सुरक्षा दिएर फर्किएको टोली पर्‍यो ।

म त्यसै साता त्यो ठाउँमा पुगेर उहाँको जिम्मेवारी लिँदा बाँचेका प्रहरीले आश्चर्य मान्दै सुनाउँथे, धन्न इन्स्पेक्टर सा’ब उम्किनुभो त्यो अप्ठ्यारो भिरमा ।’

उहाँ कालान्तरमा आईजीपी हुनुरहेछ, त्यसैले नियतिलाई उहाँले जितेर अगाडि बढ्नुभयो ।

यसरी मृत्युलाई जितेर आज नेपाल प्रहरीको आईजीपी हुनु त ऐतिहासिक त भइहाल्यो, नियतिले दिएको यो मौका कतै उहाँलाई एउटा इतिहास बनाउनका लागि त थिएन ?

त्यो इतिहास भनेको– अहिले जसरी प्रहरीलाई राजनीतिकरुपमा व्यापक दुरुपयोग गर्दै प्रहरीहरू फस्दै जाने स्थितिबाट जोगाउनु हो । शक्तिको दुरुपयोग गर्ने नाइकेहरूको अनुसन्धान गरेर यथार्थ बाहिर ल्याउँदै एउटा इतिहास बनाएर आफू प्रहरी सेवाबाट बाहिरिनु हो ।

सत्तासंघर्षमा प्रहरी संगठनको दुरुपयोग

जब-जब सत्तासंघर्ष र सत्ताधारीबीच चलखेल बढ्छ, प्रहरी पनि मुछिने गरेको इतिहास छ। किनकि यसमा प्रायः गृहमन्त्रीहरू संलग्न हुन्छन् र प्रहरीलाई सक्दो प्रयोग गर्ने प्रयास गर्छन् । चाहे खुमबहादुर खड्का गृहमन्त्री हुँदा नेमकिपाका सांसद भक्तबहादुर रोकायालाई भारतको पूर्णिया पुर्‍याएको घटना होस् वा बामदेव गौतम गृहमन्त्री हुँदा सांसदलाई होटेलमा राखेर सुरासुन्दरी काण्ड भएको बेला होस् । प्रहरीलाई कुनै न कुनैरुपमा प्रयोग गरिएको जगजाहेरै छ ।

अहिले फेरि जनता समाजवादीका सांसद तथा पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादवको कथित अपहरण काण्डमा सत्तारुढ पार्टीका पूर्वमन्त्रीसमेत

शिवजी श्रेष्ठ

दुई सांसद महेश बस्नेत र किसान श्रेष्ठसँगै नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालको संलग्नता देखियो । अपहरणमा परेका भनिएका सांसदसहित पूर्वप्रधानमन्त्री स्वयं नै काठमाडौँ जिल्ला प्रहरी र सरकारी वकिलकहाँ उजुरी लिएर पुगे ।

सत्ताको जोड घटाउमा सत्तारुढ पार्टीभित्रको चलखेलसँगै विपक्षमा रहेका पार्टीहरूबीचको यो लुछाचुँडीमा नेपाल प्रहरी फेरि तानिन गएको देखिन्छ ।

पूर्वप्रधानमन्त्रीसहित आधा दर्जन सांसदहरू अपहरण भयो भन्दै प्रहरी कार्यालय पुग्ने अनि प्रहरीले क्षेत्राधिकार देखाएर उजुरी नलिएको समाचारले चर्चा पाएकै छ । अहिले यत्रतत्र यसैको चर्चा छ । दुई सांसदसहित पूर्वआईजीपीलाई सत्तोसराप गर्दै सोसल मिडिया रंगिएका छन् । सँगसँगै प्रहरीमाथि पनि हिलो छ्याप्ने कार्य भएकै छ ।

अपहरित भनिएका सांसदले आफ्नो गृहजिल्ला महोत्तरीका प्रहरी प्रमुख आफ्नै गाउँ आइपुगेकोदेखि आफूलाई काठमाडौँ ल्याउने क्रममा ठाउँ ठाउँको प्रहरी चौकी अगाडि मात्रै गाडी रोकेको बताएका छन् । अनि काभ्रे आइपुग्दा क्रस खुकुरी फुली लगाएको प्रहरी अधिकृत बाटोमा उभिएर गाडी नजिक आएको कुरा मिडियामा बताएका छन् । यस मामिलामा प्रहरी नेतृत्व गम्भीर हुनुपर्ने देखिन्छ ।

सोसल मिडिया र जनमानसमा यस्ता विषयलाई लिएर प्रहरीप्रति नकारात्मक सन्देश प्रवाह भइरहेको छ । यस्तो अवस्थामा सम्बन्धित प्रहरी अधिकारीहरू गम्भीर हुनु आवश्यक छ ।

प्रहरी सेवा अन्य सेवाजस्तो व्यक्तिवादी हुँदैन । यसको कामको प्रकृति नै सामूहिकरुपमा हुन्छ र जिम्मेवारी एवं असर पनि एउटाले गर्‍यो भन्ने हुँदैन, यहाँ पूरै प्रहरी संगठन मुछिन्छ। बहालवाला मात्र होइन, भूतपूर्व पनि ।

अहिलेको सन्दर्भमा पूर्वप्रहरी प्रमुख समेतको संलग्नतामा सत्तारुढ दलका सांसदहरूले विपक्षी दलका सांसद अपहरण गरेको भन्ने आरोप एवं जाहेरी दिन जाँदा प्रहरी र सरकारी वकिलले जाहेरी नलिएको भन्ने कुराले व्यापकता पाएको छ । यस सन्दर्भमा नेपाल प्रहरी, विशेषगरी वर्तमान प्रहरी प्रमुखले चासो राख्नु जरुरी छ । ए भइ त हाल्यो वा किन टाउको दुखाउने ? भन्दै चुपचाप बसेर पछि समय बितेपछि सदाकाल त्यही कुराले पछ्याइरहने अवस्थामा आफूलाई राख्नु ठिक हुँदैन ।

यसो पछाडि फर्केर हेर्दा थाहा भइहाल्छ, प्रत्येकजसो आईजीपीहरूले आफू बहालमा छँदा लिनुपर्ने ‘एक्सन’ नलिँदा वा नलिनुपर्ने एक्सन लिँदा रिटायर्ड भएपछि त्यहि कुराले पछ्याइरहेको विगत अगाडि नै छ । यदि यसलाई यहीरुपमा नै छाडिदिने हो भने, भोलि यही तथाकथित अपहरण काण्डले वर्तमान आईजीपी ठाकुर ज्ञवालीलाई पनि पछ्याइरहन सक्छ । सँगसँगै अहिले प्रहरीमा लागेको आरोपलाई नियमसंगत हिसाबले टिम बनाएर अनुसन्धान गरेर भएको यथार्थ विवरण बाहिर ल्याउँदै यथोचित कारबाही नगर्दा प्रहरीमाथि विगतमा लागेको धब्बा अहिले झन् गाढा हुन सक्छ ।

प्रश्न खडा हुनसक्छ– अहिले प्रहरी र सरकारी वकिलले अपहरणको उजुरी नलिनुको मतलव अहिले भनिएजसरी घटनास्थल यहाँ नभएर मात्रै हो कि यसमा तथ्यगत कमजोरी नै छ ? यो अहिले प्रचारमा आए जसरी अपहरण होइन कि ? वा पूर्वप्रधानमन्त्रीले समेत औंला ठड्याएको सत्तारुढ पार्टी वा सरकार प्रमुखकै आदेश वा कुनै राजनीतिक प्रभाव पनि छ त ?

उजुरी दर्ता नहुनुको कारण जेसुकै होस्, बाहिर जनमानसमा यसबारेमा फरक बुझाइ देखिएको छ । यसलाई चिर्नका लागि पनि प्रहरीले यसबारेमा अनुसन्धान गरेर यथार्थ पत्ता लगाउनु जरुरी छ । यसो नगर्दा प्रहरीले सांसदको अपहरण भयो भनेर पूर्वप्रधानमन्त्रीसहित सम्बन्धित सांसद नै उपस्थित हुँदा पनि उजुरी लिएन भनेर गलत सन्देश बाहिरिएको छ, जसलाई सांसद संलग्न पार्टी र मिडिया अनि सोसल मिडियाले राम्रैसँग चर्चामा ल्याएको छ ।

पूर्वआईजीपी सर्वेन्द्रसहित सांसदहरूले पनि यादव आफुखुसी काठमाडौं आएको स्पष्टीकरण मिडियामा दिइरहेको देखिन्छ । प्रहरीले गम्भीरताका साथ यसमा चासो दिएर, तथ्यमा टेकेर तत्कालै अनुसन्धान नगरिदिँदा २ वटा प्रश्न उठेका छन्, एक कतै ती अपहरित भनिएका सांसदमाथि अन्याय त भइरहेको छैन ? दुई– यस घटनालाई सत्ताको जोडघटाउमा लागेर राजनीतिकरण गरिदिएकाले अपहरणमा संलग्न भनिएका पूर्वआईजीपीसहित २ सांसदमाथि पो अन्याय भइरहेको हो कि ? यो प्रश्नको छिनोफानो नगर्दा प्रहरी संगठनमाथि नै जुन आरोप लागेको छ, त्यसले संगठनको गरिमामाथि नै असर पुगिराखेको छ ।

पूर्वआईजीपीहरूलाई हेरे पुग्छ

बाहिर बसेर देखिने यस्ता कुराहरू बहालमा हुँदा जान–अञ्जानमा कतै नजरअन्दाज त भइरहेको छैन ? यहाँ एउटा दृष्टान्त स्मरण गर्न चाहन्छु ।

अच्युतकृष्ण खरेल विसं २०५४ सालमा आईजीपीबाट राष्ट्रिय अनुसन्धान विभागमा सरुवा भई ९ महिना बाहिर बसेर नेपाल प्रहरीको आईजीपीमा पुनर्बहाली भएर आउनु’भो । प्रहरी प्रधान कार्यालयमा आयोजित पुनर्बहाली भाषणमा उहाँले आफ्नो स्वभावगत स्वरमा गर्जिंदै भन्नुभो, ‘९ महिना बाहिर बसेर सर्वसाधारण भएर नेपाल प्रहरीलाई हेरेँ । प्रहरीको सक्कली स्वरुप देखेँ । अब यसरी चल्दैन, म अब सर्वसाधारणले चाहेको पुलिस बनाउँछु ।’

तर, पुनर्बहाली भएर आएको अच्युतकृष्ण खरेलले आफ्नो पुरानो छवि कायम गर्न सक्नुभएन । अझ बढी राजनीतिकरुपमा परिचालित भएको महसुस सबैले गरे । खरेल आईजीपी भएपछि केके न होला भन्नेहरू निराश भए ।

त्यति मात्र हैन, उहाँको सम्मानजनक अवकाश पनि हुन सकेन । अवकाश जीवन पनि गुमनाम रुपमा बिताइरहनुपरेको छ । जबसम्म एआईजी हुनुहुन्थ्यो, उहाँ धेरै प्रहरीको आशा र आदर्शका रुपमा हुनुहुन्थ्यो । तर, आईजीपी भएपछि उहाँ आईजीपीभन्दा पनि बढी सत्ताको सहयोगीका रुपमा प्रयोग हुनुभयो भन्नेहरू धेरै छन् ।

नोकरी अवधिले जम्मा २ महिनामात्रै बाँकी रहेका वर्तमान आईजीपी सा’बका लागि अहिलेको यो सांसद अपहरण काण्ड एउटा परीक्षा वा उचित अवसर पनि हुन सक्छ । यसका लागि धेरै केही गर्नु पनि पर्दैन, जताबाट हेर्दा पनि निरीह देखिएका प्रहरीका पूर्वआईजीपीहरू चाहे श्यामभक्त थापा हुन् वा हेमबहादुर गुरुङ वा ओमविक्रम राणा वा सर्वेन्द्र खनाल नै किन नहुन् उहाँहरूलाई हेरे पुग्छ ।

कतिपयले यी सत्ताका खेलाडीहरूलाई खुसी र सुखी बनाउनतिर लागेर आफ्ना अवधि बिताए । कोही अख्तियार धाउँदै जेल गए । कोही अझै जेलमै छन् । अनि कोही चाहिँ ती दिन सम्झेर पश्चाताप गर्दैछन् । जसका लागि उहाँहरूले काम गर्नुभयो, ती नेताहरू भने प्रहरीको अगुवा र पछुवामा साइरन बजाउँदै शानका साथ अझै सत्ताको खेलाडी बनेर रमाइरहेका छन् ।

विगतमा आईजीपी भएका अधिकृतहरूको वृतान्त हेरे थाहा हुन्छ– जो डीएसपी/एसपी छँदासम्म बाघको जस्तो छाती अनि हिम्मत देखाएर अगाडि बढे, उनीहरू नै आईजीपी हुँदासम्म स्यालको छातीमा परिणत भएर लुरुक्क परेर सत्ताको रापतापमा रापिएका देखिए । सत्ताको के त्यस्तो छाँया परेर होला त ? केही कुराको आश अनि त्रासमा ।

आईजीपी साहेब, असार अन्तिम सातालाई सम्झनोस्

आईजीपी साहेब, प्रहरीको सर्वोच्च पदमा पुग्नुभयो, जुन तपाईजस्तै इन्स्पेक्टरमा जागिर सुरु गर्नेहरूको सपना हुन्छ । अब यसभन्दा माथि पुग्ने तपाईंको लागि प्रहरीमा कुनै ठाउँ नै छैन । त्यसैले आईजीपी सा’ब, एकपटक आफ्नो २ महिनापछि आउने दिनको कल्पना गरेर हेर्नुहोस त, जब तपाईं असारको तेस्रो हप्तामा प्रहरी प्रधान कार्यालयको गेटबाट बिदाइका हात हल्लाउँदै बाहिरिँदै गर्दा एउटा आत्मसन्तुष्टि लिएर निस्कनुहुन्छ कि पूर्वआईजीपीहरूले जस्तै केही पश्चातापहरू लिएर ?

आफू सुत्नुअगाडि आँखा चिम्लिएर एकपटक ती दृश्य कल्पना गर्नुहोस् । अनि दृढ भएर निदाउनुहोस् ।

तपाईंलाई ‘एक्सन ओरिएन्टेड’ भन्दा पनि शान्त सादगी अनि सौम्य प्रहरी अधिकृतका रुपमा लिइन्छ । धेरै ‘एक्सन हिरो’ का रुपमा कहलिएका आईजीपीहरू नूर गिरेका रुपमा बाहिरिए । तिनले आफू कुनैदिन अवकाश हुनेछु भन्ने पनि बिर्सिए । अनि अवकाशपछि आफूलाई मानिसहरूले सम्झिएलान् भन्ने पनि बिर्सिए ।

जब बिदाइका हात हल्लाउँदै प्रहरी प्रधान कार्यालयको गेटबाट निस्किए, तब झल्यास्स भए । त्यतिखेरसम्म अगाडिको गाडी छुटिसकेको थियो ।

सत्ताका खेलाडीहरुले प्रहरीलाई दुरुपयोग गरेर प्रहरीलाई थिलथिलो नै बनाए । कुरा मिले मन्त्री हुने यिनै सांसदहरू हुन् । चोर-पुलिसको खेलमा लाग्ने उनै, सरकार बनाउने अनि हाँक्ने पनि उनै । तर, असफल भए बद्नाम हुने चाहिँ प्रहरी ?

त्यसैले, आईजीसाहेब यही अहिलेको बहुचर्चित केसलाई नै आधार बनाएर विगतदेखिका यस्ता केसलाई अध्ययन-अनुसन्धान गर्न लगाएर हेर्नुहोस् । प्रहरीको अनावश्यक संलग्नता वा गल्ती देखे त्यस्ता प्रहरीलाई पनि नछाड्नुहोस् । तर, यदि यस्ता सत्ताका फउल खेल्ने राजनीतिक खेलाडी भेटे तिनका गुरु अनि तिनीहरूलाई पनि कानुनको कठघरा उभ्याउनुहोस् ।

यति गर्न सके रेफ्रीले नदेखेसम्म फउल खेल्ने वा देखिहाले रेफ्रीलाई नै दोष देखाउँदै कम्प्लेन गर्ने यस्ता झेली खेलाडीहरू साइजमा आउथे कि ?

कुनै दिन नेपाली फुटबलमा मिलिभगत गर्ने राष्ट्रिय खेलाडीलाई अनुसन्धान गरेर एक्स्पोज गर्दा त त्यतिखेर प्रहरी जनतामा कति ‘हाई हाई’ भएको थियो ? यसरी नै मत्ता हातीझैँ सत्ताको खेलमा प्रहरीलाई दुरुपयोग गर्दै फउल खेल्ने राजनीतिक खेलाडीलाई एक्स्पोज गरेर कानुनको कठघरामा उभ्याउन सके फेरिफेरि प्रहरीको शीर झुक्ने थिएन । अनि आईजीपी साहेबलाई नेपाली जनताले सधैंसधैं सम्झिरहने पनि थिए कि ? अनि फेरिफेरि प्रहरीलाई कसैले पनि दुरुपयोग गर्ने हिम्मत गर्दैन थिए कि ? अनि प्रहरीहरू पनि कसैका लागि प्रयोगमा आउने आँट गर्दैन थिए कि ?

यसका लागि तपाईंलाई अलिकति हिम्मत, अलिकति आइडिया चाहिए अरू केही नगर्नुहोस् पालै गरेर पूर्वआईजीपीहरूलाई भेट्न जानुहोस् । उहाँहरूको अनुभव हैन, पश्चाताप सुन्नुहोस् । र, उहाँहरूको पश्चाताप सुनेर अगाडिको एक्सन प्लान बनाउनुहोस् ।

अब तपाईंसँग आईजीपीका रुपमा पर्याप्त समय बाँकी छैन । असारको तेस्रो सातालाई कल्पिनुहोस् । जुन दिन तपाई प्रहरी प्रधान कार्यालयको गेटबाट बिदाइको हात हल्लाउँदै बाहिरिँदै गरेको हुनुहुनेछ ।

के बोकेर बाहिरिनुहुन्छ ? मनभरि आत्मसन्तुष्टि ? वा उनै पूर्वआईजीपी सा’बहरू जस्तै पश्चाताप ?

(लेखक पूर्व नायब प्रहरी उपरीक्षक हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment