Comments Add Comment

लकडाउनले दाहसंस्कारमा पनि समस्या

सांकेतिक तस्वीर

१८ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीविरुद्ध सरकारले गरेको लकडाउनका कारण देशभरका विभिन्न जाति एवं समुदायका मानिसहरूलाई आफनो संस्कारअनुसार दाहसंस्कार गर्न समस्या हुन थालेको छ ।

विभिन्न संस्कार अनुसार दाहसंस्कार गर्ने जातजातिले लकडाउनकै कारण आफ्नो नियमित संस्कार धान्न नसकेको गुनासो गर्ने गरेका हुन् । लकडाउनको समयमा सरकारले अन्तिम संस्कारमा जानेहरूको लागि सहज रुपमा पास वितरण गर्ने भने पनि त्यतिले मात्रै संस्कार धान्न नसकिएको विभिन्न सम्प्रदायका व्यक्तिहरूको गुनासो छ ।

लकडाउनकै कारण गएराति मृत्यु भएका ९६ वर्षीय छिलेमेमे लामाको आफ्नो संस्कारअनुसार दाहसंस्कार हुन सकेन । लामाको बुधबार राति जोरपाटीस्थित आफ्नै घरमा मृत्यु भएको हो । तर, उनको बौद्ध संस्कारअनुसार दाहसंस्कार हुन नसकेको परिवार स्रोतले जनाएको छ ।

लकडाउनकै कारण शोकमा परेको परिवारलाई सान्तवना दिन आउने आफन्तहरू आउन सकेनन् । उनको अन्तिम संस्कारमा परिवार र केही नजिकको आफन्त मात्रै सहभागी भए ।

परिवारका एक सदस्यका अनुसार बौद्ध धर्मावलम्बीहरूको मृत्यु भएको दिनदेखि लामा बोलाएर दुईदिनसम्म गुम्बामा राख्ने चलन छ । तर, लकडाउनकै कारण गुम्बाहरू पनि खुलेनन् ।

लकडाउनका कारण लामा आउन नसक्ने भएपछि उनीहरू विधि पूरा नगरी अन्तिम सस्ंकारका लागि लिएर गए । शवलाई दुईदिनसम्म गुम्बामा राख्दा देशविदेशबाट आफ्ना आफन्तहरू आउन पाउँथे ।

तर, अहिले सिन्धुपाल्चोकमा भएका आफना दाजुभाइ सारिक हुन नपाएको आफन्त मिङमार लामाले बताए । ‘लकडाउनको गर्दा गाउँमा दाजुभाइ आफन्तले खबर त पाए तर आउन सकेनन् । विदेशमा भएका नातिहरू पनि आउन पाएनन्,’उनले भने ।

अरू बेला झण्डै दुई सयको हाराहारीमा मलामी हुन्थे भने अहिले १० जना मात्रै छन् । त्यही पनि नजिकै काठमाडौंमै भएकाहरू समेत अन्तिम संस्कारमा आउन सकेनन् । उनीहरू लकडाउनकै कारण चाहेर पनि आउन नसकेपछि फोनबाटै समवेदना प्रकट गरेका आफन्त मिङमारले सुनाए ।

बौद्ध धर्मावलम्बीहरूको दाहसंस्कारमा ध्वजापताका ओढाउने, खादा ओडाउने गरिन्छ । उनीहरूको संस्कारअनुसार मलामी आउनेहरूले पनि चढाउनलाई प्रसाद लिएर आउनुपर्ने हुन्छ ।

तर, पसल नखुल्दा दाहंसस्कारको लागि आवश्यक सामान समेत किन्न नपाएको परिवारका सदस्यहरूले बताएका छन् । संस्कार अनुसार शवलाई ध्वजापताकाले सिँगारेर खुला रुपमा लैजानुपर्ने हो । तर, अहिले एम्बुलेन्समा हालेर शव लिएर जान बाध्य भएका छन् ।

आफ्नो संस्कारअनुसार दाहसंस्कार गर्न नपाएकोमा उनीहरू चिन्तित छन् । घरमा लामा बोलाएर पाठ गर्नुपर्ने हुन्छ । तर, लामा पनि आउने अवस्था नभएपछि उनीहरूले शवलाई दाहसंस्कारको लागि लिएर गए ।

त्यहीँ मलामी आएका एक आफन्तले कोरोनाको कारणले रीतिरिवाजअनुसार दाहसंस्कार गर्न लैजान नपाएकोमा दुःख मान्दै भने,‘उनको मर्न त सबैलाई पर्छ । तर, यो लकडाउनमा चाहिँ मर्न नपरोस् ।’

यो समस्या छिलेमेमेको परिवारले मात्र होइन लकडाउनमा मृत्यु भएका बौद्ध धर्मावलम्बीहरूको परिवारले भोगिरहेका छन् । लकडाउनको मार दाहसंस्कारमा पनि परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment