Comments Add Comment

प्रधानमन्त्री ओली भन्छन्– सरकारले श्रमिकलाई भोकै राख्दैन

'श्रमिकको जीवन कष्टकर भएकोमा दुःखी छु'

१९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका कारण श्रमिकको जीवन कष्टकर भएकोमा आफू दुःखी रहेको बताएका छन् । उनले श्रमिकले भोग्नु परेको पीडाप्रति आफू संवेदनशील रहेको भन्दै भोकै नराख्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘उद्योग–व्यवसाय बन्द हुँदा आम्दानी घटेका स्वदेशमा कार्यरत सबै प्रकृतिका श्रमिकहरुका कष्टकर जीवनप्रति म अत्यन्तै दुःखी छु ।’

उनले भने, ‘घरमुलीले अनिकालमा पनि परिवारलाई भोकै राख्दैन । रुखोसुखो भरणपोषणको जोगावट गर्छ र व्यवहार चलाउँछ । तपाईहरुको यस प्रधानमन्त्रीले नेतृत्व गरेको सरकारले पनि उपलब्ध स्रोत र साधनले भ्याएसम्म सुविधाको जोगावट गर्छ ।’

अहिले कोरोना भाइरसको महामारीका कारण न कार्यरत मुलुकमा रम्न सकिने, न त स्वदेश फर्किन सकिने चेपुवामा श्रमिकहरू रहेको भन्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यसबाट सिर्जना भएको पीडाप्रति म जानकार तथा संवेदनशील छु ।’

म आह्वान गर्दछु, सम्पूर्ण घाइतेहरु प्रशासनको संपर्कमा आउनुहोस् । अब आफ्नो शरीरमा गोली र छर्रा बोकेर नबस्नुहोस्, उपचारको प्रबन्ध सरकारले गर्छ

विश्वभरिका कोरोना प्रभावित २१० मुलुकमा जस्तै हाम्रो देश नेपालको पनि उत्पादन प्रणालीको कडी टुटेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हाम्रा सिर्जनशील हातहरु यतिखेर लकडाउनमा छन् । हाम्रो श्रमको प्रतिक्षामा रहेका उत्पादनका साधनहरु पनि लकडाउनमा छन् ।’

उनले  अहिलेको लकडाउन विश्वव्यापी र बाध्यकारी भएको बताएका छन् । कोरोना भाइरसका कारणले यसलाई स्वीकार्नु पर्ने बाध्यता रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई उनीहरुले हासिल गरेको दक्षता अनुरुपको स्वरोजगारी सिर्जना गर्न सरल कर्जा र प्रविधि हस्तान्तरणको प्रबन्ध गर्ने र स्वदेशमा रहेका वा विदेशमा रोजगारीमा जान नपाएकाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा जोड्ने प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाएका छन् । ‘विभिन्न मन्त्रालय, निकाय र सार्वजनिक संस्थाहरु मार्फत सिर्जना भएका कामका अवसरहरु नेपालीलाई नै सुनिश्चित गर्ने व्यवस्था मिलाइने छ,’ ओलीले भनेका छन् ।

श्रमिकहरुको अभावलाई सम्बोधन गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् र श्रम तथा सीप तालीमसम्बन्धी सबै निकायका कार्यक्रमहरुलाई एकीकृत रुपमा परिचालन गर्ने बताउँदै प्रधानमन्त्री ओलीले आवश्यक परेमा सबै पालिका तहमा छोटो अवधिका घुम्ती तालीम शिविरसमेत सञ्चालनमा ल्याउने घोषणा गरेका छन् ।

कृषिको आधुनिकीकरण र व्यवासायीकरण मार्फत उत्पादन र रोजगारी बृद्धि गर्ने भन्दै उनले जमिन नहुने श्रमिकहरुका लागि भूमि बैंकलाई कार्यान्वयनमा ल्याई त्यसैको माध्यमद्वारा भूमिको व्यवस्था गर्ने आश्वासन दिएका छन् ।

विगतका जनआन्दोलन र द्वन्द्वकालका युवा तथा अरू घाइतेहरुको उपचारको प्रवन्ध सरकारले गर्ने बताएका छन् । उनले भनेका छन्,  ‘अझै पनि उपचारबिहीन अवस्थामा रहिरहेका छन् । तिनको उपचारका लागि सरकारले पटकपटक गरेका आह्वान र प्रयासहरुको सन्देश उचित रुपमा संप्रेषण हुन सकेन । म आह्वान गर्दछु, सम्पूर्ण घाइतेहरु प्रशासनको संपर्कमा आउनुहोस् । अब आफ्नो शरीरमा गोली र छर्रा बोकेर नबस्नुहोस्, उपचारको प्रबन्ध सरकारले गर्छ ।’

यसले निर्माण, रोजगारी र उत्पादनमा पारेको प्रतिकूल प्रभावको अवस्थाले श्रमजीवी वर्गको बुझाइजस्तै श्रम र उत्पादनको सम्बन्ध एवं त्यसको महत्वलाई सबै वर्गले गम्भीरताका साथ बुझ्ने नयाँ परिस्थिति पनि निर्माण भएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् । श्रम आधारभूत कुरा हो र जीवन प्रमुख कुरा हो भन्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘श्रम बिनाको पूँजी र प्रविधि पनि अर्थहीन हुन्छ भन्ने आजको यथार्थले स्पष्ट पारेको छ ।’

उनले यस अप्ठ्यारो समयमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा ऐक्यबद्धता जाहेर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment