Comments Add Comment

थाल र कोपरा नचिन्ने भिडमा अनलाइन कक्षा बहस

लकडाउनमा एक महिनाभन्दा लामो समय घरको चौघेरोमा छट्पटिँदा दैनिक १० भन्दा बढीको एउटै खाले प्रश्नको जवाफ दिनुपर्छ । करिब एक सय ५० जनालाई दिएको जवाफको प्रश्न हो– सर हाम्रो क्लास कहिलेबाट सुरु हुन्छ ? हाम्रो कोर्स र परीक्षा के हुन्छ ?

सबैलाई दिइने रेडिमेट उत्तर हो– क्याम्पस जहिले खुले पनि समस्या भएन, हामीले अनलाइनबाट कक्षा सञ्चालन गर्छाैं । कोर्स क्याम्पस खुल्दानखुल्दै सकिन्छ अनि परीक्षा त १५ दिन मेहनत गर, सबैको पासको ग्यारेन्टी ।

अनि सुरु हुन्छ अनलाइन कक्षाको बहस ।

माफ गर्नुहोला, पासको ग्यारेन्टी गर्ने तागत र शक्ति मसँग छैन र घोटेर चम्चामा खुवाउने पासको औषधि पनि मसँग छैन। छ त मसँग मेरा विद्यार्थीहरूको लगाव र क्षमता ।

उनीहरूकै क्षमतालाई अनुमान गरेर भनेको हुँ १५ दिनमा पासको ग्यारेन्टी । तर, पास हुनुमात्रै पढाइ होइन । सिकाइ सबैभन्दा ठूलो कुरा हो । नत्र सयौं पटक गणितमा फेल भएका महान वैज्ञानिक अल्वर्ट आइन्सटाइन कसरी फादर अफ द साइन्स बन्थे र।

शिक्षकले गाइड गर्ने हो । सिकाइ र जिज्ञासाको दायरा फराकिलो बनाउन प्रयास गर्ने हो । पास त आजभोलिको प्रविधि प्रयोग गरेर बजारमा पाइने क्याप्सुलहरू नै काफी हुन्छन् । तर, क्याम्पस प्रशासन र विश्वविद्यालयहरूले कहिले बुुझ्छन् कि हाजिर गर्नु, चियामा चर्का गफ गर्नु, प्राध्यापक राजनीति गर्नु र विद्यार्थीलाई चित्त बुझ्ने गरी नियमित पढाउनु फरक कुरा हुन्।

विश्वविद्यालयका नयाँ र प्राविधिक विषयका कक्षाहरू विश्वविद्यालयमा गणना नभएका आंशिकहरूले पढाउने कुरा अहिलेका भिसी, रेक्टर र रजिस्ट्रार तथा विश्वविद्यालयका नाममा राजनीति गर्नेहरूले राम्ररी बुझेका छन् जस्तो लाग्दैन । जो आफ्नो परिवारभित्र गणनामा पर्दैन, त्यसलाई लकडाउनका बेला घरमै बसेर अनलाइन प्रविधिबाट पढाऊ भन्न मिल्छ ?

गत चैत्र १० गतेदेखि नै सञ्चालित अनलाइन कक्षालाई नियमित कक्षासरह पाठ्यभारमा गणना गर्ने निर्णय कार्यकारी परिषद् र प्राज्ञिक परिषद्ले गरिसकेको छ । शिक्षक तथा विद्यार्थीको हाजिरीसमेत राख्न विश्वविद्यालयले निर्देशन दिएको छ । त्रिविका अधिकांश विभाग र क्याम्पसले जुम, गुगल, एमएस टिमबाट अनलाइन कक्षा चलाउँदै आएका छन् ।

कक्षा र हाजिरीको प्रमाणित सम्बन्धित विभागीय प्रमुखले गर्नुपर्ने व्यवस्था गरिएको हो । अनलाइन कक्षामा काम गर्ने प्राविधिक कर्मचारीलाई कार्यालय समयभन्दा बढी काम गर्नुपर्ने अतिरिक्त पारिश्रमिक उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

प्रत्येक अनलाइन कक्षाहरूको रेकर्ड राख्नुपर्ने र उक्त रेकर्ड सम्बन्धित प्राध्यापकले आफ्नो निकायमा इमेलमार्फत् पठाउनुपर्नेछ । यसो भनिरहँदा सबै विद्यार्थीहरूमा इन्टरनेट ल्यापटप वा पूर्ण क्षमतामा चलाउन मिल्ने स्मार्ट मोबाइलको व्यवस्था के होला ?

सायद देशका सबै आंगिक क्याम्पसहरूमा प्राध्यापक डाक्टर, प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक, शिक्षक सहायक र आशिंक शिक्षक भन्ने श्रेणी विभाजन छ । आन्तरिक रुपमा त आशिंकलाई श्रेणीविहीनको दर्जामा राख्ने गरिएको छ । तपाईंहरूले चलाउने विभिन्न समूहहरूमा पनि आशिंकलाई कोपराको संज्ञा दिएर कुरा गर्नु तपाईंहरू जत्तिको विश्वविद्यालयको सम्पत्तिको रुपमा रहनुभएको प्रा. डा. हरूको बौद्धिक दिवालीयापन हो ।

हो, म त्यही श्रेणीविहीन दर्जाको शिक्षक हुँ, जहाँ पढाउन सम्बन्धित विषयमा स्नातकोत्तर गर्नुपर्छ । तर, दक्षताका आधारमा त्रिभुवन विश्वविद्यालयले गरेको वर्गीकरण हो । क्षमताका आधारमा भने होइन ।

वाइफोकल चस्माको भरमा हिँडडुल गर्दै लेख्दा हात काँप्ने र विद्यार्थीका अगाडि उभिएर स्मार्ट प्रस्तुति दिन नसक्ने र प्रविधिका बारेमा सोध्दा न बाउले चलाए, न बाजेले चलाए, अब मलाई किन चाहियो भनेर चियाको सुर्कोसँगै गफ हाँक्ने विद्वान सरहरूबाट अहिले त्रिविले भनेको अनलाइन कक्षा असम्भव छ ।

देशकै ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पसमा दैनिक १५ हजार विद्यार्थीहरूका सबै प्राविधिक नयाँ र बढी विद्यार्थीहरूको चाप भएको विषयमा तिनै श्रेणीविहीन शिक्षकहरूले पढाइरहेका छन् । पृथ्वीनारायण क्याम्पसको नियमित कक्षाको ७० प्रतिशत कक्षा त आंशिकले नै धानेका छन् ।

त्यसो त कतिपय विषयहरुमा त सबै श्रेणीविहीन शिक्षक नै छन्, जसमा अहिले नियमित कक्षा जरुरी छ । हो, त्यही कुरालाई ध्यान दिँदै अनलाइनबाटै भए पनि नियमित कक्षाको निर्देशन त्रिभुवन विश्वविद्यालयले दिएको हो । तर, क्याम्पसको लिस्टमै दर्ता नभएका आंशिकलाई घरमा भएको भैँसी-पाडो बेचेरै भए पनि कम्प्युटर, ल्यापटपको व्यवस्था गर । अनि इन्टरनेटको प्रबन्ध गरेर कक्षा सञ्चालन गर्ने भन्ने नैतिक आधार क्याम्पस प्रशासनसँग होला ?

नियमित शिक्षकलाई भन्ने आधार त उनीहरूसँग होला । तर, कतिजना प्राध्यापक, डाक्टरहरू हुनुहोला प्रविधिमा अपडेट भएर कक्षा सञ्चालन गर्ने क्षमता राख्ने ?

त्यसो त नयाँ र प्राविधिक विषयको कक्षा भार आंशिकले धानेका कारण हामीले विगत १४ वर्षदेखि समानताको लडाइँ लडेका हौं । महिनाभरि नियमित पढाउने शिक्षकलाई मासिक ज्यालादारीको व्यवस्था गर भनेका छौँ । हामीले यसो भन्नु अन्तर्राष्ट्रिय श्रम अनुसारकै कुरा हो । समान कामको समान ज्याला माग्नु, महिनाभरि पढाएर दुई छाक भात खान पुग्ने व्यवस्था गरिदेउभन्दा हामी कहाँनिर गलत भयौँ ?

देशैभरका १६ सयभन्दा बढी श्रेणीविहीन शिक्षकले धानेर त्रिभुवन विश्वविद्यालयको भिसी, रेक्टर, रजिस्ट्रारभन्दै जुँगामा ताउ लगाउने अधिकार त हामीले दिएकै छौं। अनि, हामीले नै पढाएर देशकै ठूलो र उत्कृष्ट क्याम्पसको प्रमुखको पदवी लिँदा तपाईंलाई अलिकति पनि मन पोल्दैन है !

म पृथ्वीनारायण क्याम्पसमा पत्रकारिता पढाउँछु, जसको कक्षा प्रविधिसँग सम्बन्धित नै हुन्छ । त्यसैले प्रविधिको प्रयोग गरेर पठनपाठन गराउने कुरा हामी पटक-पटक क्याम्पस प्रशासनसँग अनुरोध गर्दा पनि नभएको कुरा हो । धन्य छ ! त्रिविलाई, हामीले चाहेको कुरा बाध्यकारी बनाइदिएकोमा ।

यसो भनिरहँदा वर्षभरि पढाएर आएको ज्यालाले ५० हजारको ल्यापटप किन्ने क्षमता नहुने आंशिक शिक्षकलाई निर्देशन दिने नैतिक आधारका बारेमा एक वाक्य बोलेको भए कति राम्रो हुने थियो होला है भीसी साप ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment