Comments Add Comment

कोरोनाले रोकियो भलिबलमा उषाको रफ्तार, फर्म बिग्रने डर

तस्वीर सौजन्य : उषा भण्डारी

२३ वैशाख, काठमाडौं । गत मंसिरमा नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुदमार्फत राष्ट्रिय टोलीमा डेब्यु गरेकी उषा भण्डारी भर्खर १५ वर्षकी भइन् । कम उमेरमै भलिबलमा उनले गरेको प्रगति भने लोभलाग्दो छ ।

राष्ट्रिय टिमै कान्छी खेलाडी हुन् उषा । विभागीय टोली नेपाल पुलिस क्लबबाट घरेलु भलिबल खेल्ने उनी सामाखुशीस्थित नेपाल पुलिस स्कुलमा पढ्दैछिन् । स्कुल पढ्दा नै राष्ट्रिय टिमबाट खेल्ने भाग्यमानी हुन् उनी ।

अहिले कोरोनाले गर्दा विश्वका अन्य देशमा जस्तै नेपालको पनि खेलकुद गतिविध ठप्प छ । खेलाडीहरु फुर्सदमा छन् । उषाले पनि अहिले खेल्न पाएकी छैनन् । उनी अहिले पहिला छुटेको कोर्स पढ्दैछिन् । उषाको कक्षा ९ को परीक्षा चैत ५ गते सकियो,त्यसपछि पर्खाई नतिजाको थियो । तर लकडाउनले रिजल्ट रोकियो ।

भलिबल खेल्न कहिले कता, कहिले कता जानुपर्ने हुँदा उनको पढाइ प्रभावित बनिरहन्थ्यो । राष्ट्रिय टिमको क्याम्पमा बस्नुपर्ने भएकोले पनि उषाले स्कुलमा धेरै समय बिताउन पाइनन् । त्यसैले अहिले अहिलेको फुर्सदिलो समय पढाइमै व्यतित गरिरहेकी छन् ।

‘चैत ५ गते परीक्षा सकियो । ७ गते म र बाबा आन्टीको घर कावासोतीमा भेटघाटका लागि गएका थियौं । त्यसपछि लकडाउन सुरु भइहाल्यो,’ उषाले भनिन् । परीक्षा सकिएपछि भेटघाटका लागि गएकी उनी एक महिना उतै ‘लक्ड’ भइन् ।

‘उता लकडाउनले खासै गाह्रो त भएको थिएन । तर धेरै गर्मीले गर्दा गाह्रो भएर हामी काठमाडौं आयौं,’ उषाले सुनाइन् ।

काठमाडौं आएपछि भने उनी आफ्नो अध्ययन र वर्कआउटमा केन्द्रित भएकी छन् ।

‘म जम्मा १९ दिन मात्र स्कुल गएको थिएँ । त्यसैले अहिले ९ क्लासकै बुकहरु पढिरहेको छु । पछि १० क्लासमा पनि उस्तै हुने भएकाले सजिलो हुन्छ,’ उनी भन्छिन् ।

धेरै स्कुल जान नपाएकाले उषाको धेरै साथी छैनन् । अहिले उनी गंगबुमा बाबा, ममी र दिदीसँगै बस्छिन् । घरमा सबैभन्दा सानी भएकोले उनले घरमा धेरै काम गर्नुपर्दैन ।

‘पकाउने काम केही पनि गर्दिन । पकाउनेबाहेकका काममा सघाउँछु बरु,’ उषाले भनिन्, ‘म स्कुल र गेमभन्दा अरु कुरामा टाइम दिन्न । अहिले मेरो दुई काम नै यही हो । ममी र दिदी भएकोले उहाँहरुले गर्नुहुन्छ । मेरो काम पढ्ने र खेल्ने मात्रै हो ।’

पाठ्यक्रम बाहिरका बुकहरुमा उनको तत्काल रुची छैन । बरु घरमै ब्याडमिन्टन खेल्ने, एक्सरसाइज गर्ने आदि गर्छिन् ।

लकडाउनअघि उषाले नेपाल पुलिसबाट नेपालगञ्जमा पीएम कप महिला भलिबल खेलेकी थिइन् । पुलिसले चिरपरिचित प्रतिस्पर्धी एपीएफलाई हराउँदै उपाधि जित्यो । त्यसमा उनको व्यक्तिगत प्रदर्शन राम्रो भएको थियो ।

‘कहिले क्याम्प, कहिले म्याच भइरहेको थियो । साग खेलेपछि ढोरपाटन लिगमा राम्रो भयो । त्यसपछि नेपालगञ्जमा पनि हामीले जित्यौँ । तर, जुन समयमा मेरो खेल राम्रो भइरहेको थियो, त्यो बेला नै कोरोनाले गर्दा ब्रेक लाग्यो ।’

‘नेपालगञ्जमा मेरो खेल आफूले सोचेजस्तो भएको थियो,’ उषा भन्छिन्, ‘अहिले सरस्वती दिदी नभए पनि रेश्मा दिदीहरु थिए । केही डर त थियो तर एक जना सिनियर प्लेअर भएकाले हाम्रो मोरल हाइ नै थियो । राम्रो खेलेर जित्यौँ,’ उषाले भनिन् ।

उषाको रफ्तार बढ्दै थियो । २०७६ सालमा महिला भलिबलका दुई प्रतियोगिता बाँकी नै थिए । तर लकडाउनले ती प्रतियोगिता स्थगित भए ।

‘आईजीपी कप र अर्को एक प्रतियोगिता थियो । त्यसमा खेलेर आफ्नो गेम अझै राम्रो बनाउने सोचेको थिएँ । तर सबैमा ब्रेक भयो,’ उषाले केही निराश हुँदै भनिन् । १३ औं सागपछि गत वर्ष भएको एनभीए अवार्डमा उषाले इमर्जिङ प्लेअरको अवार्ड पाएकी थिइन् ।

अहिले बाहिर निस्केर खेल्न र ट्रेनिङ गर्न नपाए पनि उनी गुरुहरुसँग निरन्तर सम्पर्कमा छिन् । अन्य खेलाडीहरुसँग पनि ग्रुप च्याटमा कुरा हुन्छ ।

‘आफैंले ट्रेनिङ गर्नु र गुरुहरुले गराउनुमा धेरै फरक पर्छ । अहिले ट्रेनिङ गर्न नपाउँदा अलि लय बिग्रेको छ । यो लकडाउन छिटै खुले हुन्थ्यो,’ उनले भनिन् ।

शुरुमा पुलिसमा भलिबल खेल्दा पनि उनी खासै ट्रेनिङमा जान्थिनन् । जसले गर्दा स्टामिना कम हुन्थ्यो । त्यसपछि भने उनले ट्रेनिङको महत्व बुझिन् । त्यसैले अहिले सेल्फ ट्रेनिङमा ध्यान दिइरहेकी छिन् ।

‘अहिले सेल्फ ट्रेनिङ घरमै गरिरहेको छु । अब फेरि खेलमा फर्कँदा शुरुमा गाह्रो हुन्छ नै, तर केही समयपछि नर्मल हुन्छ जस्तो लाग्छ,’ उनले भनिन् ।

उषा घरमै बसेर लकडाउन पालना गरिरहेकी छिन् । नेपालमा यसको पालना अलि राम्रोसँग हुन नसकेको उनको बुझाइ छ । अहिले दैनिक कोरोनाको संक्रमित पनि बढिरहेका छन् ।

‘घरमै बस्यो भने कन्ट्रोल हुन्छ । चाहिएको सामान लिन जान टाइम दिइएको छ । त्यो नियम पालना गर्नुपर्छ । नेपालमा अलिकति लुज भइराछ,’ सरकारले निर्देश गरेको लकडाउन सबैले पालना गर्दै सुरक्षित बस्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment