Comments Add Comment

दिल्लीमा जस्तै नेपालमा मदिरा पसल खुल्छ ?

२४ वैशाख, काठमाडौं । भारतका मदिरा पसलमा भिडभाड देख्दा मानिसहरूलाई ज्यानभन्दा रक्सीको माया भएको टिप्पणी भइरहेको बेला नेपालका मदिरा व्यवसायीहरूले सुरक्षाको उपाय अपनाएर व्यवसाय सञ्चालन गर्न दिन सरकारसँग माग गरेका छन् ।

नेपाल मदिरा व्यवसायी महासंघले ४३ दिनदेखि कारोबार बन्द हुँदा व्यवसायमा गम्भीर असर परेको भन्दै मदिरा व्यवसाय सञ्चालन गर्न दिन माग गरेको हो ।

तर, के नेपालमा मदिरा व्यवसाय सञ्चालन गर्न दिने सरकारको नीति छ ? गृह र उद्योग मन्त्रालयका अधिकारीहरूले भने मदिरा व्यवसाय सञ्चालन सरकारको प्राथमिकतामा नपरेको बताएका छन् ।

अत्यावश्यक खाद्य वस्तुबाहेक मदिराको कारोबार खोल्ने नीति नभएको बताउँदै गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने, ‘मदिरा कारोबार पूर्णनिषेधित छ । मदिरा व्यवसाय सञ्चालन सम्बन्धमा थप कुनै नयाँ निर्णय भएको छैन ।’

उद्योग मन्त्रालयले पनि तत्काल मदिरा उद्योग तथा व्यवसाय सञ्चालन गर्न दिनेबारे निर्णय नगरेको जनाएको छ। ‘तीन चरणमा उद्योग तथा व्यवसाय सञ्चालन गर्ने सम्बन्धमा मदिराजन्य उद्योगहरू प्राथमिकताको दोस्रो तहमा छन्,’ उद्योग मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले भनिन् ।

नेपालमा मदिरा व्यवसाय

नेपाल मदिरा व्यवसायी महासंघका अनुसार देशभर ब्रुअरी, ह्विस्की र वाइन उत्पादन गर्ने उद्योगहरू एकसय हाराहारी छन् । मदिरा उद्योगमा करिब एक खर्ब हाराहारी लगानी छ ।

मदिरा वितरक र थोक तथा खुद्रा व्यापारको लाइसेन्स पाएकालाई सदस्य मान्दा देशभर झण्डै तीन लाख हाराहारी मानिस मदिरा व्यवसायमा आश्रित रहेको अनुमान छ ।

हरेक वर्ष बढ्दो क्रममा रहेको मदिराको वार्षिक एक खर्ब बराबरको करोबार हुन सक्ने महासंघका महासचिव तारानाथ ढुंगानाको अनुमान छ । नेपालको कुल अन्तःशुल्कको २२ प्रतिशत हिस्सा मदिराले ओगटेको छ ।

दिल्लीको अभ्यास

कोरोना संक्रमण रोक्न ४२ दिनदेखि लकडाउनमा रहेको भारतका केही सहरमा आइतबार मदिराका केही पसलहरू खुलेका थिए । ती पसलहरूमा मानिसहरूको भिड लागेको थियो । दिल्लीमा त मदिरा किन्न एक किलोमिटर लामोलाइन लागेको समाचार सार्वजनिक भएको छ ।

मदिराप्रतिको यो आकर्षणको मौकामा दिल्ली सरकारले मदिरामा ७० प्रतिशत अन्तःशुल्क लगायो । यसबाट आउने रकम कोरोना उपचार कोषमा जम्मा गर्ने मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन् ।

लकडाउनका कारण खस्किएको भारतको अर्थतन्त्रमा राजश्व थप्न मदिरा बिक्रीले भरथेग गरेको अनुमान गरिएको छ ।

अर्थतन्त्र चलायमान बनाउन र उपभोग्य समयावधि नाघेर हुन सक्ने थप क्षति रोक्न पनि भारतका केही राज्यले मदिरा बिक्री खुकुलो बनाएको बताइएको छ ।

मदिराले थप जोखिम

सबैलाई थाहा छ मदिराले स्वास्थ्य बिग्रिन्छ । उपचार गर्न अस्पताल पुग्दा कोरोना संक्रमणको थप जोखिम हुन सक्छ । त्यसैले स्वास्थ्य मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. विकास देवकोटा मदिरा सेवन र कारोबार गर्न नहुने बताउँछन्।

घरभित्र बसिरहँदा कसैलाई धेरै मदिरा पिउन मन लाग्ने र यसले स्वास्थ्य मात्रै नभई सामाजिक सुरक्षामा पनि खलल पुग्ने उनको भनाइ छ । डा. देवकोटा भन्छन्, ‘कोरोेना जोखिमका बेला मदिरा सेवनले थप संकट निम्त्याउन सक्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment