Comments Add Comment

भारतबाट फर्केर क्वारेन्टाइनमा बस्नेहरुको माग – हामीलाई भत्ता चाहियो

‘क्वारेन्टाइनमा बस्दाबस्दै खर्च सकियो’

२४ वैशाख, कैलाली । भारतबाट फर्किएर स्थानीय तहको क्वारेन्टाइनमा बसेकाहरूले भत्ता माग गरेका छन् ।

भारतबाट मजदुरी गरेर ल्याएको रकम पनि सकिएको भन्दै दार्चुलाको मार्मा गाउँपालिकाको क्वारेन्टाइनस्थलमा बसेकाहरुले राहत स्वरुप भत्ता माग गरेका हुन् । ‘३४ दिन भारतको क्वारेन्टाइनमा बस्यौं। यहाँ कति दिन बस्नुपर्ने हो थाहा छैन,’ मार्मा गाउँपालिका ५ दिलेन्द्र सिंह महताले भने, ‘हामीलाई यहाँ बसेको भत्ता चाहिन्छ । ’

खेती गर्ने समय सुरु भएको तर, आफूहरुसँग रकम नभएको भन्दै उनले राहत स्वरुप पैसा पाउनुपर्ने बताएका हुन् । ‘लेबरी गरेर ल्याएको पैसा भारतको क्वारेन्टाइनमा बस्दा सकियो,’ उनले भने, ‘छोराछोरीले के ल्याइदिनु भयो भन्छन् । हामीले भत्ता पायौं भने त्यही पैसाले उनीहरुको लागि सामान लैजानुपर्छ ।’

मुरईका झमे महताले पनि सरकारले राहत नदिए आफूहरु थप समस्यामा पर्ने बताए । ‘ठेकेदारले पुरै पैसा दिएन । दिएको पैसा पनि सकियो,’ उनले भने, ‘हामीलाई त यहाँ भत्ता चाहिन्छ ।’

मंसिर महिनामा भारत गएका उनी पुरै काम गर्न नपाई फर्किएको बताउँछन् । ‘३०/४० हजार कमाइ हुनुपर्नेमा २०/२५ हजार मात्रै भयो । त्यतिमा पनि ठेकेदारले ४/५ हजार रुपैयाँ मात्रै दियो’ उनले भने ।

कमाएर ल्याएको पैसा पनि सकिएपछि उनले घर जान क्वारेन्टाइनबाट भत्ताको अपेक्षा गरेको उनले सुनाए ।

क्वारेन्टाइमा बसेका गम्भीर सिंह महता पनि घरमा समस्या रहेको भन्दै भत्ता पाए सजिलो हुने बताउँछन् । ‘हामीसँग भएको पैसा रित्तियो । घरमा खान लाउननै समस्या परेको छ’ उनले भने, ‘जति रुपैया भए पनि हुन्छ तर, सरकारले हामीलाई भत्ता दिनुपर्छ ।’

रोजगारीको लागि गएको व्यक्तिनै रित्तो हात घर फर्किदा निकै समस्या हुने उनी बताउँछन् ।

भत्ता दिन सकिन्न : अध्यक्ष धामी

मर्मा गाउँपालिकाका अध्यक्ष जनसिंह धामीले तत्काल भत्ता दिन नसकिने बताए । ‘राहत दिन सकिँदैन’ उनले भने ‘तर, उहाँहरुलाई रित्तो हात घर पठाउने योजना छैन ।’

मार्मा गाउँपालिकाको क्वारेन्टाइनमा मात्रै ८९ जना छन् । उनीहरुलाई क्वारेन्टाइनबाट बाहिर निस्किए लगत्तै प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी दिने तयारी भइरहेको उनले जानकारी दिए ।

दार्चुलामा मात्रै होइन, बझाङको बुंगल नगरपालिकाको क्वारेन्टाइनमा रहेकोहरुले पनि भत्ताको माग गरेका छन् ।

बुंगल नगरपालिका कपलसेरीका वीरेन्द्र कामीले कमाउने व्यक्ति बन्धक भएको भन्दै राहत मागेका छन् । आफ्नै वडाको क्वारेन्टाइनमा बस्दा कुनै समस्या नरहे पनि आर्थिक संकट सुरु भएको उनको भनाइ छ । ‘घरको मुली म हुँ । तर, मसँग एक रुपैयाँ पनि छैन’ उनले भने, ‘खेती गर्ने समय सुरु भयो । पैसा नहुँदा खेती गर्न समस्या हुने भयो । ’

उनी तत्काल स्वास्थ्य परीक्षण गरेर घर जान पाउनुपर्ने माग पनि गरे । ‘३४ दिन भारत बस्यौँ यहाँ कहिलेसम्म राख्छ’ उनी भन्छन्, ‘हामीलाई भरपर्दाे परीक्षण गरेर घर पठाए हुन्थ्यो ।’

बुुंगल नगरपालिकाका मेयर धनबहादुर विष्टले तत्काल भत्ता दिन नसकिने बताए । उनी भन्छन्, ‘उहाँहरुलाई खाना खुवाउन समस्या परेको छ, कसरी भत्ता दिनू ।’

बुंगल नगरपालिकाकाको क्वारेन्टाइनमा अहिले भारतबाट आएका तीन सय ७७ जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment