Comments Add Comment

मृत्यु त एकदिन आउँछ नै, किन डराउनु ?

२४ वैशाख, विराटनगर । उदयपुरको भुल्केस्थित नुरी मस्जिदमा रहेका १२ जमातीमा एकसाथ कोरोना संक्रमणको पुष्टि भएपछि मध्यरातमा विराटनगर ल्याइयो । विराटनगर आएकामध्ये ६ जना १८ दिनको उपचारपछि कोरोना मुक्त भएका छन् । उनीहरुलाई बुधबार डिस्चार्ज गरिएको हो ।

महामारीको रुपमा फैलिएको रोग लागेको थाहा पाउँदा डर लागेन भन्ने प्रश्नमा अनुश नाम गरेका ३० वर्षीय युवकले भने, ‘एक दिन त मर्नैपर्छ, किन डराउने ?’

उपचार अवधिमा अस्पतालले राम्रो व्यवहार गरेको संक्रमण मुक्त भएकाहरूले बताएका छन् । ‘कोरोना पुष्टि भएपछि सीडीओ सा’बले नै विराटनगर जानलाई सामान बोक्नु भन्नुभयो’ अनुशले भने, ‘कहाँ जाने भन्ने थाहा थिएन । यहाँ आएपछि डाक्टर संगीता मिश्रा (मेसु)ले रिसिभ गर्नुभयो ।’

अस्पतालमा उनीहरूलाई रमजानमा व्रत बस्ने र नमाज पढ्ने व्यवस्था मिलाइएको थियो ।

उपचारका क्रममा कुनै औषधि प्रयोग गर्नु नपरेकोभन्दै निको भएकाहरूले आत्मबल नै औषधि भएको बताए ।

कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले भने संक्रमितलाई कोरोनामुक्त बनाउनु स्वास्थ्यकर्मीको ठूलो सफलता भएको बताउँछिन् । ‘स्वास्थ्यकर्मीका लागि योभन्दा ठूलो खुसी के हुन्छ र ?’ उनले भनिन् ‘कोशीको टिमले गर्दा एकैपटक ६ जनालाई डिस्चार्ज गर्न सफल भयौँ ।’

अस्पतालमा उपचाररतमध्ये १३ जनाको तीन पटक थ्रोट स्वाब परीक्षण गरिएको थियो ।

उनीहरूमध्ये ६ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरू अस्पतालबाट डिस्चार्ज भएका छन् । उनीहरूलाई विराटनगर–१५ रानीमा रहेको रानी मर्कजको क्वारेन्टाइनमा राखिएको छ ।

‘कोरोना बल्झिएका घटनाहरू आएकाले उहाँहरूलाई १४ दिन क्वारेन्टाइनमा राखेका छौँ’ उनले भनिन्, ‘१४ दिनपछि पुनः कोरोना परीक्षण गरेर मात्र घर जान दिन्छौँ ।’

निको भएकाहरूलाई डिस्चार्ज गर्दा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे पनि उपस्थित थिए । सबैको सहयोगले संक्रमितलाई निको बनाउन सकिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment