
२४ वैशाख, डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आगामी आर्थिक बर्षमा प्रदेशका ८८ वटै स्थानीय तहमा १५ शय्याको अस्पताल बनाउन प्रस्ताव गरेका छन् ।
मुख्यमन्त्री भट्टले स्थानीय तहका प्रमुखसंग भिडियो कन्फ्रेन्समार्फत छलफल गर्दै प्रदेश र स्थानीय सरकारको साझेदारीमा अस्पताल बनाउने प्रस्ताव गरेका हुन् ।
‘आज हामी कोरोना भाइरससंग लड्दैछौँ, भोलि अन्य नयाँ–नयाँ स्वास्थ्य समस्यासंग लड्नुपर्ने हुन सक्छ’ मूख्यमन्त्री भट्टले भने ‘हामीले स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गरेर जानु आवश्यक छ ।’
मुख्यमन्त्री भट्टले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्नुपर्ने स्थानीय तहको विषय, कोरोना भाइरसको रोकथाम, उपचार र राहत विवरणका कामको विषयमा स्थानीय तहका प्रमुखसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका हुन् ।
प्रदेश सरकारले आगामी बजेटका विषयमा सुझाव संकलन गर्न सुदूरपश्चिम प्रदेशका स्थानीय तहका प्रमुखसंग भिडियो कन्फ्रेन्समार्फत छलफल गरिरहेको मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले जानकारी दिए ।
प्रत्येक स्थानीय तहमा १५ शय्याको अस्पताल हुनुपर्ने सरकारी नीति कार्यान्वयन गर्न र जनताको स्वास्थ्य अवस्थालाई ध्यान दिएर अस्पताल बनाउनुपर्ने मुख्यमन्त्री भट्टले बताए ।
भट्टको प्रस्ताव स्थानीय तहका जनप्रतिनिधिहरुले सकारात्मक रुपमा लिएका छन् । डोटीका पूर्वीचौकी गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले प्रदेश सरकारको ७० र स्थानीय तहको ३० प्रतिशत बजेटको साझेदारीमा प्रदेशका ८८ वटै स्थानीय तहले यो कार्यक्रम एक वर्षमै कार्यान्वयन गर्न सक्ने बताए ।
भारतमा रहेका नेपालीको उद्धार गरौँ
भिडियो कन्फरेन्समा डोटीका स्थानीय तहका प्रमुखले भारतमा अलपत्र रहेका नेपालीलाई ल्याउने व्यवस्था गर्न प्रदेश सरकारलाई आग्रह गरे । भारतमा रासन कार्ड नभएका नेपालीलाई राहत पाउन असहज भएका कारण पनि भारतमा काम गर्ने व्यक्तिलाई नेपाल ल्याउने व्यवस्था मिलाउन मुख्यमन्त्री भट्टलाई आग्रह गरे ।
मूख्यमन्त्री भट्टले भारतबाट नेपाली ल्याउने विषय अन्तर्राष्ट्रिय सम्बन्धको कुरा भएकाले प्रदेश सरकारले चाहेर पनि केही गर्न नसक्ने बताए । ‘हामीले भावनामा बगेर निर्णय गर्ने होइन, वस्तुगत आधार तयार गरौं’ मुख्यमन्त्री भट्टले भने ‘नेपालीको उद्धारका लागि (संघीय) सरकार जिम्मेवार छ ।’
प्रतिक्रिया 4