Comments Add Comment

महाभारतकी बौद्धिक सुन्दरी भानुमती, यस्तो छ उनको रोचक किस्सा

भानुमती महाभारतकी एक पात्र हुन् । भनिन्छ, उनी अत्यन्तै सुन्दरी थिइन् । रुपरंगले मात्र होइन, बौद्धिकताको हिसाबले पनि उनको चर्चा त्यस्तै थियो। साथसाथै शारीरिक रुपले बलियो पनि ।

पौराणिक कथाअनुसार भानुमती काम्बोज नरेश चन्द्रवर्माकी छोरी थिइन् । एकपटकको कुरा हो, राजाले भानुमतीको विवाहका लागि स्वयंवर समारोह आयोजना गरे । स्वयंवरमा शिशुपाल, जरासन्ध, रुक्मी, दुर्योधन, कर्ण आदि भारतवर्षका अनेकौं राजाहरू निमन्त्रित थिए ।

भानुमती हातमा वरमाला लिएर आफ्ना दासी एवं अंगरक्षकहरूसँग आइन् र एकएक गर्दै राजाहरूलाई नियाल्दै अघि बढ्न थालिन् । दुर्योधन चाहन्थे भानुमतीले आफूलाई वरमाला पहिर्‍याइदिए हुन्थ्यो । तर, त्यसो भएन ।

आफ्नो नजिकबाट भानुमती अलिकति अघि मात्र के बढेकी थिइन् दुर्योधनले झम्टिँदै गएर उक्त माला खोसेर आफ्नो गलामा आफैँले लगाए । यस्तो अप्रत्यासित घटना हुनेबित्तिकै त्यहाँ उपस्थित राजाहरूले तरबार निकाले । दुर्योधनले पनि नहडबडाई ती सबै राजालाई कर्णसँग लड्न चुनौती दिए । लडाइँ मच्चियो । कर्ण एक्लैले ती सबै राजाहरूलाई पराजित गरिदिए ।

भानुमतीलाई लिएर हस्तिनापुर आएपछि दुर्योधनले यो कार्यलाई के भनेर उचित ठहर्‍याए भने भीष्मपितामहले पनि आफ्ना सौतेनी भाइ विचित्रवीर्यका लागि काशीनरेशका छोरीहरू अम्बा, अम्बिका र अम्बालिकालाई हरण गरेर ल्याएका थिए । यो तर्क सुनेपछि भानुमती पनि दुर्योधनसँग सहमत भइन्, अनि उनीहरूले विवाह गरे ।

दुर्योधनसँगको घरजम

दुर्योधन र भानुमतीका दुई सन्तान भए–छोरो लक्ष्मण र छोरी लक्ष्मणा । लक्ष्मण महाभारतको युद्धमा अभिमन्युको हातबाट मारिए भने लक्ष्मणाको विवाह कृष्णका छोरा साम्बसँग भएको थियो । साम्ब र लक्ष्मणाको विवाह हुने क्रममा केही समय साम्ब कौरवहरूको बन्दी भएका थिए भने यादव तथा कौरवहरूका बीच लडाइँसमेत हुन खोजेको थियो । बलरामको प्रयासमा लडाइँ टरेको थियो ।

भानुमती र कर्णबीचको मित्रता

भानुमती र कर्णका बीच पनि गहिरो मित्रता बसेको थियो । उनीहरूबीच कृष्ण र द्रौपदीको जस्तै मित्रवत् सम्बन्ध थियो । दुवै असल मित्र थिए र यो कुरा हस्तिनापुरमा लगभग सबैलाई थाहा थियो । एकपटकको कुरा हो भानुमती र कर्ण बुद्धिचाल खेलिरहेका थिए । खेलमा कर्ण जितिरहेका थिए । त्यतिबेलै भानुमतीले दुर्योधन त्यहाँ आएको देखिन् र उठ्ने कोसिस गरिन् । कर्णलाई दुर्योधन आएको थाहा भएन, उनलाई लाग्यो भानुमती खेलमा हारिरहेका कारण उठेर भाग्न खोजिरहेकी छिन् । कर्णले उनलाई समातेर बसाउन खोजे ।

भानुमती त उठिन् तर उनको मोतीको माला कर्णको हातमा आएर चुँडियो । त्यतिबेलासम्म दुर्योधन पनि त्यहीँ आइपुगेका थिए।

दुर्योधनलाई देखेर भानुमती र कर्ण दुवैजना डराए । दुर्योधनले गलत शंका गर्ने हुन् कि भन्ने डर थियो दुवैलाई । तर, दुर्योधनलाई कर्णमाथि पूर्ण विश्वास थियो । उनले छारिएका मोती उठाउन भने र जे कुरा गर्ने उद्देश्यले त्यहाँ आएका थिए त्यही विषयमा कर्णसँग चर्चा गर्न थाले । दुर्योधनको यही विश्वासका कारण आफूबाट भएको घटनालाई लिएर शंका गरिनबाट कर्ण जोगिए ।

कतिपयले उक्त घटनालाई यसरी पनि वर्णन गर्छन्। दुईजना बुद्धिचाल खेलिरहेका थिए । भानुमतीले हारिरहेकी थिइन् र कर्ण खुसी भइरहेका थिए । यति नै बेला अचानक दुर्योधन आउन लागेको थाहा भएर भानुमती बसेको ठाउँबाट उठ्न खोजिन् । कर्णले हारेर भाग्न लागेकी हुन् भन्ने ठानेर भानुमतीको पछ्यौराको फेर समातेर बसाउन खोजे ।

अचानक भएको यो घटनामा भानुमतीको पछ्यौरा च्यातियो र त्यहाँ भएको मोती चुँडिएर छरियो । यति नै बेला कर्णले पनि दुर्योधन आइरहेको देखे । कर्ण र भानुमतीको अनुहार लाजले रातो भएको थियो । उनीहरू दुर्योधनले के भन्ने हुन् भनेर डराइरहेका थिए । दुर्योधन नजिक आउँदा पनि दुवैले उनको आँखामा हेर्न सकिरहेका थिएनन् । यत्तिकैमा दुर्योधनले भने मोती छरिरहन दिन्छौ कि म तिमीहरूलाई सहयोग गरौँ मोती उठाउन ?

सुन्दर र बौद्धिक

भानुमती अत्यन्त सुन्दर, आकर्षक, तीक्ष्ण बुद्धि तथा अत्यन्त बलिष्ठ शरीरयुक्त शक्तिशाली थिइन् । महाभारतको सती पर्वमा गान्धारीले भनेकी छिन्–भानुमती दुर्योधनसँग खेलखेलमा कुस्ती खेल्थिन् । जसमा उनी दुर्योधनलाई सजिलै पछारिदिन्थिन् । महाभारतको युद्धपछि भानुमतिलाई पति दुर्योधन तथा छोरो लक्ष्मणको मृत्युको गहिरो धक्का लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment