Comments Add Comment

सडकबाट उद्धार गरिएका चौपाया फेरि सडकमै

२५ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि गरिएको लकडाउन (बन्दाबन्दी) का कारण अत्यावश्यक सेवाबाहेकका गाडिमात्र गुड्न पाउने नियमका कारण सडकहरु प्राय सुनसान छन् । तर केही दिनयता काठमाडौं उपत्यकाको खाली सडकमा छाडा पशुचौपायाहरु देखिन थालेका छन् ।

सडकमा छाडा छाडिएका चौपायाले सवारी दुर्घटना बढाएको भन्दै तिनीहरुलाई नियन्त्रणमा लिएर गौशाला र गोठाटारलगायतका स्थानमा राखिएको थियो । तर अहिले लकडाउन लम्बिँदै गएका बेला हुलका हुल पशुचौपाया फेरि सडकमै देखिन थालेका छन् ।

काठमाडौंका सडकमा पशुचौपाया कहाँबाट आए, किन आए ? कसले छाड्यो ? किन छाड्यो ? भन्ने विषय अझै अस्पष्ट छ । पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत सीताराम रिसेल भने लम्बिँदै गएको लकडाउनका कारण दाना खुवाउन नसकिएपछि चौपायालाई छाडिदिएको हुन सक्ने अनुमान गर्छन् ।

प्रशासकीय अधिकृत रिसेल भन्छन्, ‘विभिन्न संघसंस्थाहरुले उद्धार गरिएका पशुचौपायालाई लकडाउनको कारण दानापानी र घाँसपराल खुवाउन समस्या भएकाले फेरि सडकमै छोडेको हुन सक्छ । कतिपयले त दूध दिन छाडेपछि गाई र तिनका बाच्छाबाच्छीहरु घरधनीहरुले छोड्छन् । कसले छोडेको रहेछ अब हामी बुझछौं ।’

विभिन्न संघसंस्थाले सडकमा अलपत्र छाडिएका चौपायालाई उद्धार गरेर राख्ने गर्दै आएका छन् ।

तत्काल उद्धार रोकिएको छ : कोष

पशुपतिको विकास कोषले हाल सडकमा छाडिएका पशुचौपायाहरु उद्धार गर्ने काम रोकेको छ ।

लकडाउनका कारण उद्धारमा कठिनाइ भएकाले छाडा पशुचौपायाहरुको उद्धारकार्य रोकेको कोषका प्रमुख प्रशासकीय अधिकृत रिसलले बताए । उनले भने, ‘पशुहरुको उद्धारको पहिलो चरणको काम लकडाउनले रोकिएको छ, अहिले पाल्न समस्या हुने भएकाले अवस्था सामान्य भएपछि फेरि उद्धार कार्य सुरु हुन्छ ।’

महानगरसँग छैन योजना

उद्धार गरेका पशुचौपायाहरुलाई कोषले गोठाटारमा लगेर राख्ने गरेको छ ।

विचल्लीमा परेका पशुचौपायाहरुको दानापानीको लागि काठमाडौं महानगरपालिकासँग कुनै योजना छैन । झण्डै एक वर्षअघि महानगरले यी पशुचौपायाहरुको व्यवस्थापन गर्ने भनिएको थियो । तर, त्यसको कार्यान्वयन भएको छैन । बेवारिसे पशु व्यवस्थापनको लागि हालसम्म व्यवस्थित ठाउँ नभएकाले समस्या भइरहेको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए ।

‘अहिले तत्कालको लागि हामीले व्यवस्थापन गर्न सकेका छैनौं । ठाउँ खोजिरहेका छौं । अब अहिले लकडाउनले गर्दा त्यो काम पनि पूरा भएको छैन,’ उनले भने ।

छाडा पशुचौपायाको व्यवस्थापनका लागि प्रत्येक वडाहरुमा बजेट छुटाएको बताउँदै प्रवक्ता डंगोल भन्छन्, ‘हामीले केही हदसम्म व्यवस्थापनको लागि प्रयास गरेका छौं । बहरलाई लिलामी गर्ने गरेका छौं र अरुलाई घरधनी पत्ता लगाएर जिम्मा लगाउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment