News Summary
Generated by OK AI. Editorially reviewed.- लुम्बिनी लायन्सले नेपालीपन झल्काउने ढाकाको ढाँचा सहितको नयाँ जर्सी अनलाइन र लुम्बिनी प्रदेशका १२ जिल्लामा बिक्री केन्द्रमार्फत सार्वजनिक गरेको छ।
- काठमाडौंमा पनि आधिकारिक बिक्री केन्द्र स्थापना गर्ने तयारी भइरहेको लुम्बिनी लायन्सले उपत्यकाका फ्यानलाई सहज पहुँच दिन खोजेको छ।
- लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंह र टिनु योहान्नान नियुक्त गरी दुई विदेशी खेलाडी अष्ट्रेलियाका डार्शी शर्ट र इटलीका थोमस ड्राकालाई अनुबन्ध गरिसकेको छ।
२२ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को टिम लुम्बिनी लायन्सले आफ्नो नयाँ जर्सी बिक्रीको लागि बजारमा सार्वजनिक गरेको छ ।
यो जर्सीमा नेपालीपन झल्काउने ढाकाको ढाँचा प्रयोग गरिएको छ, जसले परम्परा, पहिचान र गौरवको प्रतीकका रूपमा लुम्बिनीको आत्मालाई प्रतिनिधित्व गर्छ । नयाँ जर्सी अहिले अनलाईनमा दराज तथा अन्य छानिएका अनलाइन प्लेटफर्महरूमा उपलब्ध रहेको जनाइएको छ ।
साथै, लुम्बिनी प्रदेशका प्रशंसकहरूलाई सहज रूपमा पहुँच दिलाउने उद्देश्यले, लुम्बिनी लायन्सले लुम्बिनी प्रदेशका सबै १२ जिल्लामा आफ्नो जर्सी बिक्री केन्द्रहरू स्थापना गर्ने तयारी समेत गरेको छ ।
त्यसैगरी, काठमाडौंमा पनि अनलाइन बिक्रीसँगै आधिकारिक बिक्री केन्द्र स्थापना गर्ने तयारी भइरहेको लुम्बिनी लायन्सले जनाएको छ ।
उपत्यकाका फ्यानहरूले पनि सहज रूपमा टिमको आधिकारिक जर्सी प्राप्त गर्न सकून् भन्ने उद्देश्यका साथ यसो गर्न लागिएको हो । लुम्बिनी लायन्सले देशभरका आफ्ना आधिकारिक साझेदार र वितरण केन्द्रहरू चयन गर्ने प्रक्रिया अघि बढाइरहेको छ, जसको माध्यमबाट हरेक समर्थकले ‘गौरवका साथ लुम्बिनी लायन्सको जर्सी पहिरिन सक्ने वातावरण’ तयार पारिने लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले बताए ।
नेपाली राष्ट्रिय टिमका कप्तान रोहित कुमार पौडेल मार्की रहेको लुम्बिनीले दोस्रो सिजनका लागि तयारी तीव्र बनाइसकेको छ ।
भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर र अर्का भारतीय प्रशिक्षक टिनु योहान्नानलाई मुख्य प्रशिक्षक नियुक्त गरेको लुम्बिनीले दुई विदेशी खेलाडी अष्ट्रेलियाका डार्शी शर्ट र इटलीका थोमस ड्राकालाई अनुबन्ध गरिसकेको छ ।
बाँकी विदेशी खेलाडी छिटै सार्वजनिक गर्ने टिमले जनाएको छ ।
प्रतिक्रिया 4