Comments Add Comment

किन आफूभन्दा बढी उमेरकी महिलासँग घरजाम ?

विवाहका लागि पुरुष वा महिला कसको उमेर बढी हुनुपर्छ ? यसको सर्वमान्य जवाफ छैन । यद्यपि विवाहका लागि अधिकांश पुरुषले आफूभन्दा कम उमेरकी युवती खोज्छन् । त्यसैगरी युवतीहरूले पनि आफूभन्दा बढी उमेरकै पुरुषलाई जीवनसाथीको रुपमा स्वीकार गर्छन् ।

श्रीमान र श्रीमतीबीचको उमेर अन्तर कति हुनुपर्छ ? यसको पनि सर्वस्वीकार्य जवाफ छैन । धेरैजसो अवस्थामा आफूभन्दा दुई, तीन वर्षको उमेर अन्तर हुने देखिन्छ । तर, कतिपय अवस्थामा भने श्रीमान र श्रीमतीको उमेर अन्तर ७, ८, १० वर्ष पनि हुनेगर्छ । त्यति मात्र कहाँ हो र ? कतिपय पुरुषले आफूभन्दा २० वा २५ वर्ष कम उमेरकी श्रीमती पनि भित्र्याएका छन् ।

सरसर्ती हेर्दा विवाहका लागि श्रीमानभन्दा श्रीमतीको उमेर कम हुनुपर्छ भन्ने अघोषित मान्यता छ । यद्यपि आफूभन्दा बढी उमेरकी युवतीलाई रुचाउने पुरुष अर्थात आफूभन्दा कम उमेरका पुरुषसँग विवाह गर्न राजी हुने युवतीहरूको जमात पनि बढ्दो छ ।

श्रीमानभन्दा श्रीमतीको उमेर बढी हुँदा के फरक पर्छ ? वा किन कतिपय पुरुषले आफूभन्दा पाको उमेरकी महिलालाई श्रीमतीको रुपमा अँगाल्छन् ?

बद्लिँदो मनोविज्ञान

आफूभन्दा बढी उमेरका पुरुषसँग विवाह गर्नुपर्छ भन्ने मनोविज्ञान महिलाको आर्थिक/सामाजिक सुरक्षासँग जोडिएको छ । विवाहपछि महिलाले घरधन्दा सम्हाल्ने र पुरुषले घर-व्यवहार मिलाउने चलन छ ।

तर, अहिले महिलाहरू आफैँ आय-आर्जनमा लागेका छन् । उनीहरूले जीवन चलाउनका लागि श्रीमानको आश्रय होइन बरु सहकार्य जरुरी ठान्न थालेका छन् । त्यसैले उनीहरू त्यही पुरुषसँग जीवन बिताउन चाहन्छन्, जोसँग भावनात्मक तालमेल मिल्छ ।

अर्कोतिर कतिपय पुरुष आफूभन्दा कम उमेरका भन्दा पनि परिपक्व युवतीसँग सम्बन्ध बढाउन चाहन्छन् । व्यवहारिक रुपमा परिपक्क युवतीसँग विवाह गरेपछि घरायसी कामकाज वा अन्य दैनिक व्यवहर सहज हुन्छ भन्ने बुझाइ हुन्छ । त्यहीअनुसार उनीहरूविवाहका लागि उमेरको शर्त अगाडि सार्दैनन् । बरु, व्यवहारिक परिपक्कतालाई ध्यान दिन्छन् । कतिपय उद्यम, व्यवसाय सम्हाल्नका लागि पनि पुरुषहरूले परिपक्क युवतीको साथ खोज्छन् ।

हुन त उमेरकै आधारमा कोही परिपक्क र कोही अपरिपक्क हुन्छ भन्ने होइन । यद्यपि धेरैजसो अवस्थामा मानिसलाई उमेर पनि परिपक्क बनाउँदै लान्छ । धेरै कुरा बुझेपछि, धेरै समस्या झेलेपछि, धेरै अप्ठ्यारा छिचोलेपछि मान्छेमा परिपक्कता आउँछ ।

व्यवसायिक जीवनमा सफलता खोज्ने पुरुषहरु पनि परिपक्क युवतीसँग हातेमालो गरेर अगडि बढ्न चाहन्छन् । कतिपय निर्णयक कुराहरुमा आफ्ना श्रीमतीले साथ दिनेछन् भन्ने उनीहरुको अपेक्षा रहन्छ ।

परिपक्क व्यक्तिले कुनैपनि जिम्मेवारीलाई राम्ररी बोध गर्न सक्छन् । पारिवारिक दायित्व राम्ररी निर्वाह गर्न सक्छन् । घर र करियरलाई राम्ररी तालमेल मिलाएर राख्न सक्छन् भन्ने बुझाई पनि हुन्छ ।

आश्रय खोज्ने पुरुष

कतिपय पुरुषको प्रवृत्ति के पनि हुन्छ भने श्रीमतीबाट आश्रय खोज्ने । उनीहरुले श्रीमतीलाई अभिभावक झै बुझ्न खोज्छन् । आफु कुनैपनि कुराको निर्णय नगर्ने, घर व्यवहारको काममा रुची नराख्नेहरु आफुभन्दा परिपक्क महिलासँग दाम्पत्य सम्बन्ध बनाउन चाहन्छन् ।

प्रेममा उमेरको सीमा हुन्न

भनिन्छ नि, प्रेममा उमेरको कुनै सीमा हुँदैन । कतिपय पुरुषहरु आफुभन्दा बढी उमेरकी युवतीसँग प्रेम सम्बन्ध गाँस्छन् । उनीहरु एकअर्काको भावनासँग एकाकार हुन्छन् । यस्तो अवस्थामा उमेरको कुनै भेद रहँदैन । यसरी आफुभन्दा बढी उमेरकी युवतीसँग प्रेम सम्बन्ध गाँस्छन् र विवाह गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment