+
+
Shares

प्रेमको रङमा रमाउने हो

छिमेकी देशका केही असामाजिक तत्त्वहरूले हाम्रो समाजमा घुसाउन खोजेको धर्मको राजनीति र रङलाई किन बढावा दिने ? हामीलाई धार्मिक रङमा विवाद गर्नुछैन; प्रेमको रङमा रमाउने हो।

अमृता लम्साल अमृता लम्साल
२०८३ साउन २० गते १३:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरी र सिरहामा हालै भएका साम्प्रदायिक झडपमा ज्यान गुमाएका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र गणेश यादवप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ।
  • धर्म र आस्था नितान्त व्यक्तिगत विषय भएकाले समाजमा विद्यमान धार्मिक सद्भाव कायम राख्दै मानवतालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएको छ।
  • साम्प्रदायिक द्वन्द्व रोक्न स्थानीय तहमा संवाद समिति गठन गर्दै आधिकारिक सूचनामार्फत अफवाह र भ्रामक जानकारीलाई चिर्न राज्यले सक्रिय भूमिका खेल्नुपर्छ।

केही दिनदेखि मन दु:खेको छ। मनले बारम्बार सोध्छ— समाजमा धर्म वा सम्प्रदायको नाममा वैमनस्य र अशान्ति भित्र्याउनेहरूलाई के मिल्छ ? कप्तानगञ्जका ओमप्रकाश र जयप्रकाश अनि सिरहाका गणेश यादवको मृत्युमा ‘धर्मको रङ’ ले मानवतालाई किन सानो बनायो ?

त्यहाँका सोझासाझा मानिसहरूलाई उचालेर उनीहरूको धार्मिक भावनालाई किन स्वार्थ र धार्मिक ध्रुवीकरणको बाटोमा लगाइयो ? जो-जो यो कार्यमा सक्रिय छन्, उनीहरू समाजलाई ‘हामी’ र ‘तिमीहरू’ को बीचमा बाँडेर राजनीतिक स्वार्थ त पूरा गर्लान्; तर परेको बेलामा एक घुट्को पानी जुटाइदिने छिमेकी नहुँदा कसरी जीवनयापन गर्ने होलान् !

त्यसले त उल्टो साथी गुमाउँछ; छिमेकीसँग टाढा बनाउँछ; स्नेह र सद्भावलाई सधैंका लागि बिदा गर्छ।

हो हामीलाई थाहा छ, यसका जिम्मेवार कारकतत्त्वहरू राजनीतिक, सामाजिक र मनोवैज्ञानिक हुन्छन्, जसले परापूर्वकालदेखि मिलेर बसेको समाजलाई तितरबितर बनाउँछ, धर्मको रङ भरेर द्वन्द्व सिर्जना गर्छ।

हामी सबैको आ-आफ्नो आस्था हुन्छ; हामीले मान्ने धर्म फरक हुन्छ। तर, कुनै पनि धर्मले हामीलाई चोरी गर्न, अरूलाई चोट तथा हानि पुर्‍याउन सिकाउँदैन। फरक यत्ति हो कि हामी जुन संस्कारमा हुर्कियौं, हामीमध्ये अधिकांशले आफूलाई त्यही संस्कारमा ढाल्यौं।

यो आलेख केही दिनअघि सुनसरी र सिरहामा भएका झडपमा ज्यान गुमाएका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र गणेश यादवप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शुरु गर्दैछु।

यहाँनिर आफ्नै अनुभूति जोड्न मन लाग्यो। कुनै बेला अमेरिकाको बसाइ थियो, घरमा, काममा धर्म प्रचारकहरू भेटिन्थे/आइरहन्थे। कोही क्याथोलिक, कोही मोर्मन, कोही बहाइ, कोही जोहोवा विटनेस…। उता जानुभन्दा अगाडि, सबैलाई सोलोडोलो एउटै डालोमा हालेर ‘क्रिस्चियन’ भनेर मात्रै चिन्ने अल्पबुद्धिको यो दिमागलाई उनीहरूले धेरै धार्मिक ज्ञान पनि दिए।

जब उनीहरू ‘हामीले मानेको धर्म राम्रो हो, यो धर्मलाई स्वीकार गर’ भन्थे, यो पङ्क्तिकारले एकाध पटक जवाफ फर्काएकी थिएँ— ‘मेरो नसामा हिन्दु रगत बगेको छ, तिमी यो फेरिदिन सक्छौ ?’ त्यसपछि त्यो कुरा त्यहीं सकिन्थ्यो।

तथापि, क्रिसमसको दिन चर्च पुगेको, चर्चमा उनीहरूले जस्तै सेवा गरेको, उनीहरू सँगसँगै बसेर प्रार्थनामा भाग लिएको, कतिपय यात्रा गरेका स्थानहरूमा क्याथेड्रल पुगेर त्यहाँको चलन अनुसार टाउको झुकाएको अनुभव पनि छ। त्यसले न त सानो बनायो, न धर्म नै फेर्नुपर्‍यो; न त्यसले शारीरिक वा मानसिक रूपमा केही हानि नै गर्‍यो ! बरु एउटा अर्को संस्कार र संस्कृति सिक्ने मौका मिल्यो।

त्यस्तै अनुभव ‘मजार’ (समाधि, मकबरा वा सन्तहरूको चिहान) पुग्दा पनि भएको छ। त्यहाँ पुग्दा खुबै बाठी भएर, हात मात्रै धोएर (हाम्रो हिन्दु मन्दिरमा जाँदा गरे जस्तै) प्रसाद किनेर मन्नत माग्ने स्थान जाने तयारी गरेको मानिसले त्यहीं गएर थाहा पाएँ कि भित्र पस्नुपूर्व त्यहाँ भएको हात, खुट्टा धुने स्थानमा गएर हात, कुहिना, नाक, कान, खुट्टा… पालैपालो पखालेर मात्र मैनबत्ती बाल्ने, चादर चढाउने र आशीर्वाद लिने गर्दा रहेछन्।

म आफूलाई यस अर्थमा भाग्यमानी पनि ठान्दछु कि वरली तटभन्दा झन्डै ५०० मिटर टाढा अरब सागरको बीच एउटा सानो टापुमा अवस्थित मुम्बईको प्रसिद्ध ‘हाजी अलि दरगाह’ र राजस्थानको सबैभन्दा प्रसिद्ध मजार ‘अजमेर सरिफ दरगाह’ पुग्ने मौका प्राप्त गरेकी छु। जुन मजारलाई साम्प्रदायिक सद्भावको ठूलो प्रतीक मानिन्छ, जहाँ मुस्लिम, हिन्दु, शिख र इसाई लगायत सबै धर्मका मानिसहरू उत्तिकै श्रद्धाका साथ मन्नत माग्न जान्छन्।

त्यहाँ त ‘मुस्लिम बाहेक अन्य धर्ममा आस्था राख्ने व्यक्तिहरू जान पाइन्न’ भनेर कतै लेखेको छैन त !

उसो त, यहुदीहरूको प्रार्थना तथा उपासना गर्ने ठाउँ ‘सिनेगोग’ गएको अनुभव पनि छ। त्यहाँ पुग्दा पनि कसैले ‘यता किन पसिस् ? यो तेरो धर्म मान्ने स्थान होइन’ भनेर कसैले प्रश्न उठाएको थिएन।

यसै सन्दर्भमा एउटा एकदमै पीडादायी, करिब ४२ वर्ष अगाडि भारतको विभाजनको बारेमा लेखिएको किताब, ‘आजादी आधी रात को’ (फ्रीडम एट मिडनाइट) बारे उल्लेख गर्न चाहन्छु।

सन् १९७५ मा डोमिनिक लापिएर र ल्यारी कोलिन्सले लेखेको उक्त पुस्तकलाई सन् १९७६-७७ तिर विकास पब्लिसिङ हाउसले हिन्दी भाषामा निकालेको थियो। मैले पढेको हिन्दीमा नै हो।

त्यो पुस्तकमा सन् १९४७ मा भारत स्वतन्त्र हुँदा त्यहाँ भड्किएको साम्प्रदायिक हिंसालाई यसरी वर्णन गरिएको छ कि उहिले पढेको किताबका पानाहरूले अहिले पनि आङ सिरिङ्ग पार्छ। किताबमा देशको विभाजन, महात्मा गान्धीद्वारा दङ्गा शान्त गराउन गरेको अनशन, सरदार बल्लभभाई पटेलद्वारा खेलेको भूमिका आदि-आदि कुरा छन्।

धर्म र आस्था भनेको नितान्त व्यक्तिगत कुरा हुन्; मानवता, सामाजिक सद्भाव भनेको समाजसँग जोड्ने कुरा हुन्। हामीले आफू बाहेकका धार्मिक र फरक समुदायप्रति आदर, विश्वास, सम्मान, माया र प्रेम गर्न र यसबारे बुझाउन सक्यौं भने छिमेकी देशहरूले सन् १९४७ पछि व्यहोरेको क्षति व्यहोर्नुपर्दैन।

तर यो मनले सम्झिरहेको भनेको, दुवै पक्षले महिलाहरूमाथि गरेको ज्यादती नै मुख्य हो। त्यहाँ पढेको उनीहरूमाथि भएको बलात्कार, यौन दुर्व्यवहार र अपहरणका कुराहरूले आजसम्म पनि ‘ती मानिसहरू मानिस थिए कि राक्षस ?’ भनेर प्रश्न गर्न मन लाग्छ। महिलाहरूलाई जबर्जस्ती धर्म परिवर्तन गराएको कुरा, आफ्नो ज्यान बचाउन महिलाहरूले इनारमा हामफालेर मृत्युवरण गरेका कुराहरू पनि पुस्तकमा समेटिएका छन्।

त्यहाँ वर्णन गरिए अनुसार, ‘घोस्ट ट्रेन’ नामकरण गरिएको, भारतबाट पाकिस्तान गइरहेको ट्रेनलाई बाटोमै रोकेर जिउँदो मानिस भेट्यो भने हत्या गरिहाल्ने गरिन्थ्यो र ट्रेन गन्तव्यमा पुग्दासम्म त्यसमा लासबाहेक केही भेटिन्नथ्यो।

उक्त पुस्तक फिक्सन होइन; लेखकहरूले भारतका तत्कालीन भायसराय लर्ड माउन्टबेटन तथा तत्कालीन नेतृत्वमा हुने व्यक्तिहरू भेटेर कुराकानी गरेका छन्। सर्वसाधारणको कथा समेटेका छन्।

उक्त पुस्तक अनुसार त्यतिबेला उक्त विभाजनले गर्दा करिब एक करोड जनता विस्थापित भए। दङ्गा भड्काउने समूहले बाटो ढुकेर शरण लिन हिंडेका दुवै धर्मावलम्बीहरूका लस्करलाई हमला गरे; मारे।

महात्मा गान्धी त्यसै महात्मा बनेका होइनन्; दिल्लीमा स्वतन्त्रताको खुशी मनाइरहँदा उनी बङ्गालको दङ्गाग्रस्त क्षेत्रमा शान्ति स्थापना गराउन एक्लै हिंडिरहेका थिए। विडम्बना, उही गान्धीलाई गोली हानेर हत्या गरियो; किताबको अन्त्य त्यहीं हुन्छ।

उक्त किताबको याद घरीघरी आउँथ्यो; तर आज देश दु:खेको समयमा किताबबारे लेख्नैपर्ने जरुरत ठानियो। के हामीले पनि देशमा त्यस्तै साम्प्रदायिक हिंसा भड्कियोस् भनेर चाहेको हो ? पक्कै होइन।

हामी छिमेकी देशमा घटेका नराम्रा तथा भयावह घटनाबाट सिकेर पनि सम्हालिन सक्छौं नि !

हुन त राजनीतिक स्वार्थको रोटी सेक्नेहरूलाई आजका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उदाहरण पनि लाग्छन् होला ! किनकि त्यतिबेला गुजरातका मुख्यमन्त्री भएका बेला त्यहाँ हिन्दु-मुस्लिम दङ्गा भड्किएको थियो। र, हिन्दु कार्यकर्ताहरूले मुस्लिमहरूमाथि बर्बर हिंसा मच्चाउँदा त्यसलाई संरक्षण गरेको भनेर आरोप लागेका मोदी आजका भारतका प्रधानमन्त्री छन्।

धर्मकै आडमा राजनीति गरिरहेको र सफल देख्ने समूहलाई यस्तै/त्यस्तै साम्प्रदायिक हिंसाले सफल भइन्छ कि भन्ने पनि लाग्दो हो। तर त्यो सफलताको कथा पक्कै होइन।

स्मरणीय छ, सन् २००२ को फेब्रुअरी २७ मा गुजरातको गोधरामा रेल जलाइयो; त्यसपछि भड्किएको साम्प्रदायिक हिंसामा एक हजारभन्दा बढी मानिसको मृत्यु भयो। हजारौं मानिसहरू घरविहीन भएर राहत शिविरमा बस्न बाध्य भए। तीमध्ये धेरै मुस्लिम थिए। त्यतिबेला भारतीय जनता पार्टी र विश्व हिन्दु परिषद्‌का कार्यकर्ताहरूले मुस्लिमहरूमाथि आक्रमण गर्न हतियार, विस्फोटक पदार्थ तथा ग्यास सिलिन्डरहरू प्रयोग गरेर गरेको मानवतामाथिको जघन्य अपराध आजसम्म पनि तटस्थ व्यक्तिहरूले बिर्सिएका छैनन्। आखिर हामीले चाहेको त्यो हो त ? पक्कै होइन।

हामी यति मात्रै सोचौं— हामी बीचको सद्भाव र स्नेहमा धर्म बाधक हुनै सक्दैन; किनकि हामी एकअर्काको आस्थालाई सम्मान गर्छौं। यो समाज पनि अपवादलाई छाडेर हामी जस्तै व्यक्तिहरूको समूह हो

आफ्नो धर्म वा संस्कृति बाहेक अरू गलत हुन् भन्ने हामी किन ठान्छौं ? त्यही आधारमा मानिसहरू अन्य समुदायप्रति घृणा र द्वेष किन फैलाउँछौं ?

समाजमा गरिबी छ; भ्रष्टाचार छ; विकास गर्नुपर्ने थुप्रै क्षेत्र र प्रशस्त स्थान छन्। त्यसतर्फ सकारात्मक दृष्टिकोण, सहयोगी हातहरू किन बढाउन सकिन्न ?

अर्को सबैभन्दा डरलाग्दो वातावरण मिथ्या सूचनाले पनि फैलाएको छ। सामाजिक सञ्जाल वा हल्लाले फैलाएको भ्रमित स्टाटस, भिडियो, झुटो प्रचार आदिले गर्दा हामी बहकिइरहेका छौं, जसले गर्दा एकअर्काप्रतिको विश्वासलाई डगमगाइदिएको छ।

केवल व्यक्ति र समुदायलाई धार्मिक आँखाले मात्रै नहेरेर, आफ्नो पेशागत दृष्टिकोणले मात्रै हेर्दा विश्वकप २०२६ को विजेता स्पेनका खेलाडी लमिन यामाल सम्झिन चाहन्छु। उनी जम्मा १९ वर्षका छन्; उनका विश्वभरमा करोडौं फ्यान छन्। उनी मुस्लिम हुन्; उनले त्यो कुरा सार्वजनिक रूपमै भनेका छन्। उनले फुटबल खेल्ने चौरमा नै प्रार्थना गर्छन्; त्यसमा कसैलाई बाधा भएको छैन।

अर्का छन् अर्जेन्टिनाका मेस्सी, जसको प्रतिभाका पछि लाग्ने करोडौंको जनमानसलाई उनी रोमन क्याथोलिक भएर फरक परेको छैन। उनको नाममा सन् २००७ मा स्थापना भएको ‘लियो मेस्सी फाउन्डेसन’ ले विश्वका संवेदनशील अवस्थाका केटाकेटीको जीवनस्तर उकास्न र आवश्यकता परेकाहरूको स्वास्थ्य उपचारका लागि सहयोग र चन्दा दिन्छ। उनी युनिसेफका गुडविल एम्बेसेडर पनि हुन्। उनको संस्थाले ‘रोमन क्याथोलिक बाहेक अरूलाई सहयोग नगर्ने’ भनेर पक्कै भन्दैन। यस्ता व्यक्तिहरू थुप्रै छन्, जसले आफूले दुःखसँग आर्जन गरेको पैसा मानवताको सेवाका लागि अर्पण गरेका छन्।

हुन त उदाहरणले मात्रै स्थिति सामान्य हुन्छ भन्ने होइन। समुदायमा हार्दिकता बढाउनका लागि स्थानीय सद्भाव समिति गठन गर्ने, अन्तरधार्मिक सञ्जालहरूले सबै पक्ष बीच निरन्तर संवाद र वार्ता सञ्चालन गर्ने, त्यसमा पाका अगुवादेखि सक्रिय युवाहरूलाई अनिवार्य रूपमा सामेल गर्ने गर्‍यो भने पनि स्थितिमा सुधार ल्याउन सकिन्छ।

अर्को सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको भ्रामक सूचनाहरूलाई चिर्न तदारुकताका साथ स्थानीयस्तरमा आधिकारिक सूचना उपलब्ध गराउन एकदमै जरुरी छ। झन् अहिले त एआईका कारणबाट मानिसहरू यति धेरै दिग्भ्रमित भएका छन्/हुन्छन्। त्यसबाट मुक्त हुन/गराउन सजग र सचेत हुनैपर्छ; यसमा समुदायका हरेक व्यक्तिले ध्यान दिनुपर्छ।

सबैभन्दा ध्यान दिनुपर्ने स्थानीय निकायका सरकारहरूले समुदायमा देखिएको उकुसमुकुस र गुम्सिएका असन्तुष्टिलाई नदेखेको जस्तो गरेर बस्न पटक्कै मिल्दैन। यसो गर्दा पीडामा गुम्सिरहेको समुदायले राज्यले बेवास्ता गरेको महसुस गर्छ।

राज्य भनेको सबैको अभिभावक हो; राज्यले अल्पसङ्ख्यकप्रति उपेक्षा गर्ने र बहुमतवालालाई काखी च्याप्ने गर्न कदापि मिल्दैन। अहिले कतै त्यस्तै भइरहेको त होइन भन्ने आशङ्का गर्नु नाजायज होइन।

अन्त्यमा, धर्म र आस्था भनेको नितान्त व्यक्तिगत कुरा हुन्; मानवता, सामाजिक सद्भाव भनेको समाजसँग जोड्ने कुरा हुन्।

हामीले आफू बाहेकका धार्मिक र फरक समुदायप्रति आदर, विश्वास, सम्मान, माया र प्रेम गर्न र यसबारे बुझाउन सक्यौं भने छिमेकी देशहरूले सन् १९४७ पछि व्यहोरेको क्षति व्यहोर्नुपर्दैन।

छिमेकी देशका केही असामाजिक तत्त्वहरूले हाम्रो समाजमा घुसाउन खोजेको धर्मको राजनीति र रङलाई किन बढावा दिने ? हामीलाई धार्मिक रङमा विवाद गर्नुछैन; प्रेमको रङमा रमाउने हो।

हामी यति मात्रै सोचौं— हामी बीचको सद्भाव र स्नेहमा धर्म बाधक हुनै सक्दैन; किनकि हामी एकअर्काको आस्थालाई सम्मान गर्छौं। यो समाज पनि अपवादलाई छाडेर हामी जस्तै व्यक्तिहरूको समूह हो।

लेखक
अमृता लम्साल

लेखक सामाजिक अभियन्ता, लेखक एवं पत्रकार हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?