Comments Add Comment

मुम्बईबाट ४ दिनअघि आएका थिए कपिलवस्तुका कोरोना संक्रमित

प्रहरी भन्छ-उनीहरूसँगै अरू ४ जना पनि आएको सूचना छ

२६ वैशाख, बुटवल । बिहीबार राति कोरोना संक्रमण पुष्टि भएका कपिलवस्तुका दुईजना लकडाउनकैबीच भारतको मुम्बईबाट चार दिनअघि नेपाल प्रवेश गरेको पुष्टि भएको छ ।

कपिलवस्तुको मायादेवी गाउँपालिका-८ विजुवाका १६ र २२ वर्षका उनीहरूका वैशाख २३ गते कपिलवस्तुको पकडी नाकाको दक्षिणतर्फको खुला सीमाबाट नेपाल आएको कपिलवस्तुका प्रहरी प्रमुख दीपशमशेर जबराले बताए ।

लुकीछिपी भारतीय सीमा हुँदै नेपाल प्रवेश गरेका उनीहरूलाई स्थानीयले मायादेवी गाउँपालिकाकै तीर्थादेवी छत्रपाली माविको क्वारेन्टाइनमा राखेका थिए ।

दुई जनाकै थ्रोट स्वाबको परीक्षण भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा किट अभावका कारण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो ।

अन्य चारजना युवाहरू पनि उनीहरू सँगै आएको सूचना आएको र खोजी कार्य भइरहेको कपिलवस्तु प्रहरी प्रमुख जबराले बताए । रुपन्देहीको कोटहीमाई-१ का संक्रमित युवा पनि वैशाख ५ गते भारतको नयाँदिल्लीबाट लुकीछिपी नेपाल प्रवेश गरेका थिए ।

कपिलवस्तुका संक्रमित दुई युवालाई बुटवल धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालको आइसोलेसन बेडमा लैजाने तयारी भइरहेको उनले बताए ।

उनीहरूको यात्रा विवरण र सम्पर्कमा रहेका व्यक्ति पहिचान गर्न आज (शुक्रबार) देखि प्रहरी र स्वास्थ्यकर्मी परिचालन गरिने सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख उमाशंकर चौधरीले जानकारी दिए ।

कपिलवस्तुका दुईजनामा संक्रमण पुष्टि भएसँगै प्रदेश ५ मा संक्रमितको संख्या २६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment