Comments Add Comment

किसानको भिड : स्वाब दिन हैन, युरिया लिन !

मल किन्ने बेलामा किसानलाई सधैं सास्ती

२६ वैशाख, कैलाली । कोरोनाको त्रास बढेपछि सरकारले भिडभाड नगर्न र सामाजिक दुरी कायम गर्न निर्देशन दिएको छ । यसबारे कैलाली घोडाघोडी नगरपालिका ७ का हरि भट्टलाई पनि थाहा छ । तर, शुक्रबार बिहानै उनी करिब एक हजार मानिसको भिडमा देखिए ।

घोडाघोडी नकरोड बहुउद्देशीय सहकारी संस्थामा शुक्रबार बिहानैदेखि करिब हजारको संख्यामा किसानहरूको लाइन थियो । त्यही लाइनको मध्यमा रहेका भट्ट आफ्नो पालो कुर्दै थिए ।

सहकारी संस्थामा रासायनिक मल आएको सूचना पाएपछि उनी करिब १० किलोमिटर पैदल हिँडेर लाइनमा उभिएका थिए । ‘यसरी उभिनु ठूलो जोखिम हो’ हामीलाई देखेलगत्तै उनले भने, ‘तर, के गर्नु, रोगले नमरे भोकले मरिन्छ कि भन्ने डर छ । ‘

सहकारी संस्थामा एक सय ४० बोरा युरिया र एक सय ६० बोरा डीएपी आएको थियो । स्थानीय किसानहरू मल लिन बिहानैदेखि घण्टौं लाइनमा बसेका थिए ।

सरकारले भिडभाड नगर्न दिएको निर्देशनको उल्लङ्घन गर्दै लाइनमा बसेकाहरूलाई नियमको मिचिएकोबारे जानकारी नभएको होइन । तर, उनीहरूमध्ये अधिकांशले बाध्यात्मक रुपमा नियम उल्लङ्घन गरेको बताए ।

‘सरकारले यसरी भिड नगर्नु भन्छ तर यहाँ नआए मल पाइँदैन’ घोडाघोडी नगरपालिका ८ का सीताराम चौधरीले सोधे ‘मल नपाए कसरी खेती गर्नु ।’

सरैँयाका प्रेम दत्तभट्टले गत वर्ष पनि यस्तै घुइँचोमा बसेर एक बोरा मल लिएर गएका थिए । यस वर्ष त यति मल पाउन पनि निकै कठिन रहेको उनी बताउँछन् । ‘गत वर्षभन्दा पनि बढी भिड छ’ उनले भने ‘यही भिडमा कोचिए पनि मल नलगे खेती गर्न पाइँदैन ।’

श्रीमान् मजदुरी गर्न भारत गएपछि अनिता चौधरी काखे बालक लिएर लाइनमा थिइन् । ‘गत वर्ष श्रीमानसँग यस्तै भिडमा थिए’ उनले भनिन् , ‘अहिले एक्लै छु । जोखिम बोकेर पनि मल बोक्न आए ।’

सहकारीमा लाइन बस्न आएका करिब हजारमध्ये अधिकांश घण्टौं लाइनमा बसेर फर्किन बाध्य भए । पर्याप्त मल नहुँदा सरकारको निर्देशन मिचेर र कोरोनाको त्रास बोकेर मल लिन आएकाहरू रित्तो हात फर्किएका थिए ।

प्रत्येक वर्ष छ हजारदेखि सात हजार क्विन्टल मल वितरण गर्दै आएको सहकारीले दुई सय क्विन्टलमात्रै मल पाएपछि भिड भएको सहकारीकी अध्यक्ष लक्ष्मी चौधरीले बताइन् । ‘छ हजारदेखि सात हजार क्विन्टल बेच्दा पनि पुग्थेन’ उनले भनिन्, ‘अहिले त निकै कम मल आएको छ, सबैलाई दिन सकिएको छैन ।’

उनले मल कम आउँदा थप समस्या हुन सक्ने बताइन् । ‘किसानले मल नपाए उत्पादन गर्न पाउँदैनन् । उत्पादन नभए भोकमरी हुन सक्छ’ उनी भन्छिन् ‘त्यही डरले पनि भिड बढ्न सक्छ र कोरोनाको संक्रमण फैलन पनि सक्छ ।’

किसानलाई सधैं सास्ती

खेती लगाउने मौसम सुरु हुँदा किसान मलका लागि घण्टौं लाइनमा बसेको यो नै पहिलोपटक भने होइन । सुदूरपश्चिम प्रदेशमा आवश्यकताभन्दा झन्डै आधा कम रासायनिक मल आउँदा प्रत्येक वर्ष यही समस्या आइरहेको छ ।

सुदूरपश्चिममा एक लाख २० हजार हेक्टर क्षेत्रमा धान खेती गरिन्छ । कृषि विकास निर्देशनालय प्रमुख डोटीका प्रमुख यज्ञराज जोशीले भने ‘यसको लागि आवश्यकताभन्दा कम मल किसानले पाइरहेका छन् । ‘

प्रदेशमा धान खेतीका लागि १५ देखि १८ हजार टन रासायनिक मल आवश्यक पर्ने गरेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । त्यसमध्ये १२ /१४ हजार टन मात्रै आइरहेको मन्त्रालयको तथ्यांकमा छ ।

‘वर्षभरिलाई ३० देखि ३५ हजार टन मल आवश्यक छ’ मन्त्रालयका प्रवक्ता खगेन्द्र शर्माले भने, ‘तर, अहिले अहिले २० देखि २५ हजार टन मात्रै आइरहेको छ । ‘वर्षे खेतीका लागि त्यसको आधा मल आवश्यक पर्ने र आवश्यकताभन्दा झण्डै आधा बढी मल आइरहेको उनी बताउँछन् ।

किसानहरूको माग भने प्रत्येक वर्ष बढिरहेको छ । खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महाशाखा प्रमुखसमेत रहेको शर्मा भन्छन्, ‘बढी रासायनिक मलको प्रयोगले खेतीको उर्बरा शक्तिमा कमी आउँदा मलको प्रयोग बढिरहेको हो ।’

मलको आवश्यकता बढ्न र आयात स्थगित हुँदा किसानहरू समस्यामा पर्ने गरेको उनको भनाइ छ । ‘किसानलाई आवश्यक पर्दा मल आउँदैन, त्यसले पनि मल किन्ने भिड बढी हुन्छ’ उनले भने ‘यस वर्ष भिडभाड नगरी मल वितरण गर्नु भन्ने निर्देशन दिएका छौँ । ‘

प्रदेश सरकारले भिड जम्मा नहुने गरी मल उलपब्ध गराउन निर्देशन दिए पनि ग्रामीण क्षेत्रमा भने त्यसको कार्यान्वयन भएको पाइएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment