Comments Add Comment

तराईमा सर्पदंशका घटनामा वृद्धि, कोभिड अस्पताल भएपनि नारायणीले सेवा दिँदै

२६ वैशाख, वीरगञ्ज । वैशाख २४ गते बाराको जितपुर सिमरा उपमहानगरपालिका १६ डकाहाकी ११ वर्षीया रञ्जिता रानामगरको विषालु सर्पको टोकाईबाट मृत्यु भयो । राजकुमार राना मगरकी कान्छी छोरीलाई बारीमा मकैको सिला खोज्न जाँदा विषालु सर्पले टोकेको थियो । पैदल घर फर्केकी उनको घरमा त्यतिखेर कोही थिएनन् ।

उनीसँगै गएका साथीले भनेपछि गाउँलेले एम्बुलेन्समा हालेर उपचारका लागि नारायणी अस्पताल पुर्‍याएका थिए । तर, उनलाई अस्पताल पुर्‍याउन ढिलो भइसकेको थियो । अस्पतालले उनलाई मृत घोषित गरिदियो । अस्पताल ल्याउन ढिलाइ भएकोले उनलाई बचाउन नसकिएको अस्पतालमा कार्यरत चिकित्सकहरू बताउँछन् । ‘कतिखेर सर्पले डसेको हो थाहा नै हुन सकेन । अस्पताल ल्याइपुर्‍याउँदा उनको मृत्यु भइसकेको थियो,’ अस्पतालका एक चिकित्सकले भने ।

बिहान १० बजेतिर खाना खाएर छोरीलाई घरमै छाडेर बाबुआमा काममा गएका थिए । त्यही बेला साथीहरूसँग उनी मकैको सिला खोज्न मकैबारीमा निस्केको बालिकाका बुबा राज कुमारले बताए ।

एम्बुलेन्स चालक मोहन कार्की भन्छन्, ‘मलाई फोन आएपछि एम्बुलेन्स लिएर बिरामी लिन जाँदै थिएँ । मोटरसाइकलमा राखेर ल्याइरहेको अवस्थामा बाटोेबाटै उनलाई आधा घण्टामा अस्पताल पुर्‍यायौं । तर, पनि ढिलो भइसकेको रहेछ । अस्पतालले रञ्जितालाई मृत घोषित गरिदियो ।’

सोही गाउँमा बेलुका अर्को बालिकालाई पनि सर्पले डस्यो । तर, समयमै अस्पताल पुर्‍याएका कारण उनलाई बचाउन सफल भएको एम्बुलेन्स चालक कार्की बताउँछन् । लेभल-२ कोभिड अस्पतालमा परिणत भएपछि नारायणी अस्पतालले अन्य सेवा बन्द गरे पनि सर्पदंश उपचार सेवा जारी राखेको छ। नारायणी अस्पताललाई चैत ३० गते कोभिड अस्पतालको रुपमा परिणत भएपछि सरकारी सहुलियत र दरमै सेवा दिन नेसनल मेडिकल कलेजलाई जिम्मेवारी दिइएको छ ।

पर्सा, बारा, रौतहटका अन्य सरकारी तथा निजी अस्पतालले सर्पदंश उपचार सेवा दिन नसक्ने भएकोले नारायणीबाटै सेवा प्रवाह भइरहेको हो । कोभिड-१९ बिरामीको उपचारसँगै नारायणीले २४ सै घण्टा फिभर क्लिनिक सञ्चालन गर्नुको साथै सर्पदंशको उपचार सेवा दिइरहेको छ । वैशाखमा मात्रै ६ जना महिलासहित ३० जनाको उपचार गरिएको अस्पतालले जनाएको छ । समयमै अस्पताल आइपुग्ने सबैजना उपचारपछि निको भएर घर फर्केका छन् ।

गर्मी बढेसँगै मध्य तराईका पर्सा, बारा, रौतहटमा सर्पदंशका घटनामा वृद्धि भएको छ । सर्पदंशको आशंकामा पनि मानिसहरू उत्तिकै अस्पताल आइपुग्ने गरेका छन् । इमर्जेन्सीमा दैनिक ४ देखि ५ जना सर्पदंश र शंकास्पद सर्पदंशका बिरामी आउने गरेको अस्पतालको इमर्जेन्सी शाखा इन्चार्ज प्रल्हाद साहले जानकारी दिए ।

‘कतिलाई सर्पले नै डसेको हो भन्ने थाहा हुन्छ, कतिपय शंका लागेर पनि आउँछन्,’ उनले भने, ‘त्यस्ता बिरामीलाई अब्जरभेसनमा राखेर सर्पले डसेकै हो भन्ने यकिन भएपछि मात्रै उपचार सुरु गर्छौं ।’ सर्पदंशका बिरामीको उपचारका लागि एन्टी स्नेक भेनम आवश्यक पर्छ । नारायणीमा प्रदेश नं ३ को हेटौंडाबाट एन्टी स्नेक भेनम ल्याइन्छ ।

प्रायः गरी गर्मी मौसममा बढी सर्पदंशका घटना हुने गरेको छ । तर, फागुनदेखि नै सर्पदंश सुरु हुन्छ । यो क्रम मंसिरसम्म चल्छ । पुष र माघमा तराईमा अत्यन्तै चिसो मौसम हुने भएको सर्पदंशका घटना खासै हुँदैन । नारायणी अस्पतालले दिएको जानकारीअनुसार ०७६ साउनमा ६ जना, भदौमा १२ जना, असोजमा ८ जना, कात्तिकमा २, मंसिर र फागुनमा १/१ जना सर्पदंशका बिरामी उपचारका लागि आएका छन् ।

कुनै पनि निजी अस्पतालले सेवा दिन नसक्ने भएकोले सर्पदंश सेवा नारायणीकै आकस्मिक कक्षबाट प्रदान भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । ‘सर्पदंशका केश बढ्ने क्रममा छ । यो सिजन पनि हो। यही संवेदनशीलतालाई मध्यनजर गरेर उपचार सेवा दिइरहेका छौं,’ मेसु उपाध्यायले भने, ‘हामीले सेवा दिएनौं भने उपचार नपाएरै मानिस मृत्युको मुखमा जान सक्छन् भन्ने चिकित्सक बैठकको निष्कर्ष आयो । अरू सबै सेवा बन्द गर्न सकिएला तर सर्पदंश सेवा रोक्न सकिँदैन ।’

इमर्जेन्सी र कोभिड-१९ संक्रमित राखिएको आइसोलेसन वार्डका बिरामी दुवै हेर्ने गरी ड्युटी मिलाइएको मेसु उपाध्यायले बताए । ‘इमर्जेन्सीमा २४ सै घण्टा चिकित्सक हुन्छन्, कोभिड संक्रमितलाई पनि उनीहरूले नै हेर्छन् । सर्पदंशको उपचारमा आवश्यक पर्दा कन्सल्टेन्टको सहयोग लिइन्छ,’ उनले भने ।

नारायणीले रेविज भ्याक्सिन सेवा पनि प्रदान गरिरहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment