Comments Add Comment

अब एउटै किटबाट पाँच जनाको कोरोना परीक्षण

‘पुल टेस्टिङ’लाई स्वास्थ्यले दियो स्वीकृति

२६ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को ‘पुल टेस्टिङ’लाई स्वीकृति दिएको छ ।

क्वारेन्टाइनमा बसेका र कम जोखिममा रहेकाहरूको पुल टेस्टिङ गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोलीले गरेको अध्ययनमा सकारात्मक रिजल्ट आएकाले एक पटकमा पाँच जनासम्मको नमुना मिसाएर परीक्षण गर्न स्वीकृति दिइएको हो ।

लक्षण देखिएका, शंकास्पद व्यक्ति र संक्रमितको सम्पर्कमा आएकाहरूको भने पुल टेस्टिङ गरिने छैन । ‘यो टेस्टमा संक्रमण देखिने कम सम्भावना भएका तर गर्नैपर्ने व्यक्तिहरूलाई मात्र गरिन्छ’ मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीले भने, ‘५ जनाको एउटै स्याम्पलमा जाँच गर्दा नेगेटिभ आयो भने पुनः परीक्षण गरिँदैन । पोजेटिभ आयो भने सबैको व्यक्तिगत जाँच गरिन्छ ।’

एउटा पुलिङ टेस्टका लागि पाँच जनाको नमुना संकलन गरिन्छ । जसमा एक जनाबाट एक सय ४० माइक्रोलिटर नमुना लिइन्छ । पाँच जनाको नमुना मिसाउँदा सात सय माइक्रोलिटर हुन्छ र त्यसलाई परीक्षण गरिन्छ । डाक्टर कार्कीले भने, ‘यो नमुनाको रिपोर्ट नेगेटिभ आयो भने पुनः परीक्षण गर्नुपर्दैन । चारवटा किट बचत हुन्छ ।’

पीसीआर किटको अभाव भएकाले यो विधिमा जान लागिएको मन्त्रालयका अधिकारीहरू बताउँछन् । ‘अरू देशले गरिरहेको काम हामीले पनि परीक्षण गरेर आफ्नै प्रोटोकल बनाएका छौं, ताकि सम्भावित संक्रमित नछुटोस्’ डा. कार्कीले भने ।

जर्मनीमा सफल अभ्यास

कोरोना संक्रमण भए नभएको पत्ता लगाउन पीसीआर विधिबाट गरिने परीक्षण व्यक्तिगत रुपमा हुँदै आएको छ । तर, पुल टेस्टिङमा एकभन्दा बढी मानिसमा कोरोना संक्रमण भए नभएको परीक्षण गर्न सकिन्छ । यसका लागि परीक्षणमा सहभागी गराइने समूहमा रहेका सबै मानिसको नाक र घाँटीको स्वाब जम्मा गरिन्छ र पीसीआर विधिबाट परीक्षण गरिन्छ ।

रिपोर्ट नेगेटिभ आयो भने सबै मानिसमा संक्रमण छैन भन्ने बुझिन्छ । तर, पोजेटिभ आयो भने सबैको पहिला संकलन गरिएको स्वाबबाट फेरि व्यक्तिगत परीक्षण गर्नुपर्ने हुन्छ ।

पीसीआर टेस्ट गर्ने किटको अभाव हुन थालेपछि अर्नहार्ड सेइफ्राइडको नेतृत्वमा जर्मनीको रेड क्रस ब्लड डोनर सर्भिस र युनिभर्सिटी हस्पिटलको इन्स्टिच्युट फर मेडिकल भाइरोलोजीका अनुसन्धानकर्ताले कोरोना परीक्षणमा पुल टेस्टिङ विधिबारे अध्ययन गरेका थिए ।

अनुसन्धानका क्रममा पुल टेस्टका लागि संकलन गरिएको स्वाबलाई एक रिजर्भ टेस्ट ट्युबमा राखिएको थियो । त्यसपछि संकलित नमुनाहरूलाई पुल कन्टेनरमा राखियो । यसका लागि पुल कन्टेनरको आकार बढाउनु पर्दैन । साथै अन्य कुनै किसिमको परिवर्तन पनि आवश्यक हुँदैन् । त्यसैले परीक्षणको संवेदनशीलतामा कुनै कमी आएन ।

यसरी गरिएको परीक्षणको नतिजा प्रत्येक मानिसको छुट्टाछुट्टै परीक्षण गर्दा देखिएको नतिजासँग मेल खायो । हेल्थकेयर इन युरोप डटकमका अनुसार जर्मनीमा यो विधिको प्रयोगगरी दैनिक चार लाखसम्म मानिसमा कोरोना परीक्षण गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment