Comments Add Comment

क्वारेन्टाइनबाट १९ भारतीय भागेपछि प्रहरी प्रमुख तानिए

२६ वैशाख, जनकपुरधाम । कोशी व्यारेजस्थित एक प्राथमिक विद्यालयको क्वारेन्टाइनस्थलबाट १९ जना भारतीय नागरिक भागेपछि प्रहरीमाथि छानबिन सुरु गरिएको छ ।

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१ भारदहको उक्त क्वारेन्टाइनमा डेढ सातादेखि बसेका ७२ भारतीय नागरिकमध्ये १९ जना भागेपछि छानबिन सुरु गरिएको हो ।

स्रोतका अनुसार उनीहरुलाई प्रहरीकै सहयोगमा भारततर्फ पठाइएको हो । कोशी नदीबाट डुंगामार्फत रक्सी, लागूऔषध, गुट्खासहितका सामान लकडाउनको समयमा पनि तस्करी हुन थालेपछि प्रहरीकै अगुवाइमा केही दिनअघि सबै डुंगामा ताला लगाइएको थियो । तर सोही डुंगामार्फत प्रहरीले नै १९ जनालाई भारततर्फ पठाइएको स्रोतको भनाइ छ ।

हाल इलाका प्रहरी कार्यालय भारदहका प्रमुख सई सागीर राइनलाई जिल्ला प्रहरी कार्यालय राजविराज तानिएको छ । उनको ठाउँमा अर्काे सईलाई भारदह पठाइएको छ ।

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले १९ जना वेपत्ता भएकै विषयमा अनुसन्धान गर्न सई राइनलाई जिल्ला बोलाइएको बताए । ‘१९ जना फरार भएको सन्दर्भमा बुझ्नलाई नै उनलाई जिल्ला बोलाइएको हो’ डीआईजी सिंहले भने, ‘हामी प्रहरीको घेराबाट कसरी १९ जना वेपत्ता भए त्यस सम्बन्धमा गहिरो तरिकाले अनुसन्धान गर्दैछौं ।’

क्वारेन्टाइनमा राखिएका ७२ जनाको निगरानी १० जना सुरक्षाकर्मीले गर्दै आएका थिए । डीआईजी सिंहले नेपाल र भारत सरकारको समझदारीअनुसार भारतीय नागरिकलाई राखिएको भन्दै उनीहरुलाई भारतीय पक्षले फिर्ता पठाउनुपर्ने बताए ।

‘हामीले उताबाट यता आएकालाई फर्काइदिँदै आएका छौं । भारतीय पक्षको पनि यो कर्तव्य हो’ उनले भने । ती भारतीय नागरिकको व्यवस्थापन स्थानीय तहले गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment