+
+
Shares

दशगजामा २५ सय नेपाली : भारतले जा भन्छ, नेपाल प्रहरीले बाटो छेक्छ

टोपराज शर्मा टोपराज शर्मा
२०७७ वैशाख २६ गते २०:२०
तस्वीर सौजन्य : दीलिप यादव

२६ वैशाख, बुटवल । भारतसंग सीमा जोडिएका रुपन्देही र कपिलवस्तुका विभिन्न नाकामा झण्डै २५ सय जना नेपाली अलपत्र परेका छन् । भारतका विभिन्न शहरमा रोजगारी गरेर स्वदेश फर्कने क्रममा लकडाउनमा परेर भारतीय क्वारेन्टाइनमा २४ दिन बसेका उनीहरू अझै  स्वदेश फर्कन पाएका छैनन् ।

रुपन्देहीको बेलहिया नाका हुँदै नेपालका विभिन्न जिल्ला आउनुपर्ने एक हजार तीन सय बढी नेपाली नौतनवामा रोकिएका छन् । उनीहरुमध्ये धेरैजसोले नौतनवाको क्वारेन्टाइनमा २४ दिनको बसाई पूरा गरेका छन् ।

यस्तै कपिलवस्तुका मर्यादपुर, चाकरचौडा, कृष्णनगर र हर्दौना लगायतका नाकामा स्वदेश फर्कनुपर्ने झण्डै एक हजार नेपाली चार दिनदेखि अलपत्र परेका छन् । कपिलवस्तुको सीमा क्षेत्रमा अलपत्र परेकाहरु भारतीय भूमिमा टेन्टमुनि असुरक्षित तरिकाले रात गुजारिरहेका छन् । कतिपय भने लुकिछिपी नेपाल भित्रिरहेका छन् ।

‘भारतीय पक्षले करिब तेह्र सय जना नेपाली नौतनवाको क्वारेन्टाइनमा छन् र उनीहरु सुनौली हुँदै नेपाल जानेहरु हुन् भनेको छ’–रुपन्देही प्रहरी प्रमुख एसपी हेमकुमार थापाले भने, ‘आज मात्रै ७५ जना सुनौली आइपुगेका थिए, उनीहरुलाई पुनः नौतनवाको क्वारेन्टाइनमा पठाएका छौं ।’

भारतीय पक्षले क्वारेन्टाइन बसाई पूरा गरेका नेपालीहरुलाई स्वदेश जान दवाब दिएको र आफूहरुलाई घर फर्कन वातावरण बनाइदिन हारगुहार गरेको बेलहियाका समाजसेवी लुम्बिनी खुकुरी क्लबका अध्यक्ष रामबहादुर बस्नेतले बताए ।

नेपालीहरु घर फर्कन चाहेका र समस्यामा परेका गुनासो आएका छन् तर दुबै देशका सरकार तहबाट निर्णय नभएसम्म आफूहरुले नेपाल प्रवेश गर्न दिन नमिल्ने प्रहरी प्रमुख थापाले बताए । लुकिछिपी नेपाल फर्कन खोजेर सीमासम्म आउने नेपालीलाई भारतीय प्रहरीसंग समन्वय गरी पुनः क्वारेन्टाइनमा पठाउनुबाहेक अरु विकल्प आफूहरुसंग नभएको एसपी थापाले स्वीकारे ।

कपिलवस्तुका प्रहरी प्रमुख दीपशमशेर जबराले अलपत्र नेपालीले भारतीय पक्षले घर जान दवाव दिएकाले सीमा क्षेत्रसम्म आइपुगेको गुनासो प्रहरीसंग गरेको तर आफूहरुले रोकेको बताए । ‘घर फर्कन चाहने नेपालीहरु सीमामा अलपत्र परेको सत्य हो’  जबराले भने, ‘तर सरकारले निर्णय नगरेसम्म हामीले दयामाया मानेर आउन दिने कुरा भएन ।’

प्रहरीले नेपालीलाई सीमा क्षेत्रमै रोकेको दाबी गरे पनि दैनिक तीनचार सयको संख्यामा नेपालीहरु रातारात खुला सीमाको फाइदा उठाउँदै जिल्ला प्रवेश गर्ने गरेका तौलिहवाका पत्रकार दीलिप यादव बताउँछन् ।

भारतका क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई विभिन्न स्थानमा भारतीय पक्षले ‘हामी पाल्न सक्दैनौं,आफ्नो देश जाऊ’ भनेर दुर्व्यवहार समेत गर्न थालेका छन् ।

शुक्रबार प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरुले समेत सरकारको ध्यानाकर्षण गराउँदै आफ्ना नागरिकलाई सुरक्षित तरिकाले स्वदेश आउने वातावरण बनाउन माग गरेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?