Comments Add Comment

अत्यावश्यक सरकारी कार्यालय सञ्चालनको तयारी

२७ वैशाख, काठमाडौं । सरकारले अधिकांश क्षेत्रका सेवा सञ्चालनको निर्णय गरेसँगै आइतबारबाट काठमाडौं उपत्यकाका  सरकारी कार्यालयहरू पूर्ववत् रुपमा सञ्चालन गर्ने तयारी गरिएको छ । लकडाउन जारी रहेको र कतिपय कर्मचारीहरू घर फर्किएकाले सबै सरकारी कार्यालयका सेवा सामान्य हुन भने अझै केही समय लाग्नेछ ।

कोरोना संक्रमण रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेसँगै धेरैजसो सरकारी कार्यालयहरूको सेवा प्रवाह प्रभावित हुँदै आएको छ। अधिकांश कर्मचारीहरू घरमै बसिरहेकाले कार्यालयहरू सुनसान छन् ।

बुधबारको मन्त्रिपरिषद् बैठकले बढीमा एक चौथाइ कर्मचारीहरूमार्फत् सेवा प्रवाह गर्ने निर्णय गरेसँगै कतिपय सरकारी कार्यालयहरूले आइतबारदेखि नियमित काममा हाजिर हुन आफ्ना कर्मचारीहरूलाई निर्देशन दिएका छन् । पुरानो आर्थिक वर्ष अन्त्य र नयाँ आर्थिक वर्ष सुरू हुने बेला कार्यालयका आन्तरिक काम बढी हुने भएकाले पनि कर्मचारीहरूलाई उपस्थित हुन भनिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव एवं प्रवक्ता राजेन्द्र कुमार पौडेलले गत बुधबारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयबारे जानकारी गराइएको र कार्यालयहरूले त्यही निर्णयअनुसार आवश्यक काम गर्ने बताए ।

यो पनि पढ्नुहोस लकडाउनमा के–के गर्न पाइन्छ ? (मन्त्रिपरिषद निर्णयको पूर्ण विवरण)
मन्त्रिपरिषद् बैठकले सार्वजनिक सेवा सम्बन्धमा चार बुँदामा निर्णय गरेको छ ।

१) बैङ्क तथा वित्तीय संस्था, बिमा, धितोपत्र, सहकारीमार्फत अतिआवश्यक सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारीमध्ये एक तिहाइ कर्मचारीद्वारा सेवा सञ्चालन गर्ने ।

२) अतिआवश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालय तथा सार्वजनिक संस्थाहरूमा आवश्यक तोकिएका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको अनुसरण गरी सञ्चालन गर्ने ।

३) सार्वजनिक सेवा सञ्चालन गर्ने प्रयोजनका लागि उपत्यकाभित्रका सार्वजनिक निकायका हकमा सम्बन्धित मन्त्रालयका सचिव र अन्य निकायको हकमा सम्बन्धित निकायको प्रमुखको सिफारिसमा नियामक निकायले त्यस्ता कार्यालयमा रहेका कुल सवारी साधनहरूमध्ये एक चौथाइ संख्यामा नबढ्नेगरी सवारी पास उपलब्ध गराउने ।

४) …उपत्यकाबाहिरको हकमा सम्बन्धित कार्यालय प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीले सावधानीपूर्वक सकेसम्म न्यूनतम सवारी साधन सञ्चालन हुने नीति लिई सवारी पास उपलब्ध गराउने ।

मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारी कार्यालय तथा सार्वजनिक संस्थानहरूमा अतिआवश्यक पर्ने न्यूनतम कर्मचारीहरूलाई आलोपालो मिलाई तोकिएको सुरक्षासम्बन्धी मापदण्ड अनुसरण गरी कार्यालय सञ्चालन गर्न भनिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता बसन्त अधिकारीले जानकारी दिए ।

यसको अर्थ काठमाडौं उपत्यका बाहिरभन्दा भित्रका कार्यालयहरूमा कामको चहलपहल बढ्ने उनले बताए । ‘पहिले पनि कुनै पनि कार्यालयहरू बन्द त थिएनन्, काम चलिरहेकै थियो,’ मन्त्रालयका सहसचिव अधिकारीले भने, ‘अब भने पहिलेभन्दा अलि चहलपहल बढ्छ ।’

लकडाउन सुरु भएलगत्तै अत्यावश्यक सेवाबाहेकका धेरैजसो कर्मचारीहरू घरमै बस्दै आएका छन् । नगरिनहुने कुनै काम परेमा मात्रै कार्यालय प्रमुख र केही सीमित कर्मचारी कार्यालय जाने र काम सकेलगत्तै फर्किने गर्दै आएका छन् ।

आइतबारदेखि भने कार्यालयमा धेरैजसो कर्मचारीहरू हुने अनुमान छ । यद्यपि सेवाग्राहीको उपस्थिति भने अझै हुने छैन । किनभने लकडाउन भएकाले सबैलाई घरबाहिर निस्किन सरकारले बन्देज गरेको छ ।

लकडाउन लम्बिँदै गएपछि नेपालीहरूको दैनिकी कष्टकर भएको छ । निजी क्षेत्रले कर्मचारीहरू कटौतीसमेत गरेका छन् । तर लकडाउन अवधिमा घरमै बसिरहेका कर्मचारीहरूलाई भने सरकारले नियमित पारिश्रमिक र सेवासुविधा दिने निर्णय यसअघि नै गरिसकेको छ ।

यो पनि पढ्नुहोस तलब खुवाउन मुस्किल भएपछि कर्मचारी भर्ना रोक्का

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment