+
+

चिनियाँ दूतावासले आफ्ना नागरिकलाई भन्यो– नेपालको कानुन पालना गर्नू, धैर्यपूर्वक बस्नू

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २७ गते ९:०६

२७ वैशाख, काठमाडौं । नेपाल प्रहरीमाथि चिनियाँ नागरिकले गरेको हातपातको घटना पूर्णरुपमा सुल्झाइएको काठमाडौंस्थित चिनियाँ दूतावासले दाबी गरेको छ ।

दूतावासले चिनियाँ नागरिकहरूलाई अनावश्यक बाहिर ननिस्किन र अन्तर्राष्ट्रिय उडानमाथि लगाइएको प्रतिबन्ध खुला नहुँदासम्म धैर्यतापूवर्क बस्न आग्रहसमेत गरेको छ ।

आफूलाई स्वदेश फर्काउन माग गर्दै शुक्रबार सिंहदरबारको मुख्य गेट अगाडि प्रदर्शनमा उत्रिएका केही चिनियाँ नागरिकहरूले नेपाल प्रहरीमाथि हातपात गरेका थिए ।

सो सन्दर्भमा प्रेस नोट जारी गर्दै दूतावासले संविधान, नेपाल प्रहरी र दूतावासको सहकार्यमा पूर्णरुपमा घटनालाई सुल्झाइएको जनाएको छ, तर कसरी भन्ने उल्लेख छैन ।

कोरोना महामारीको कठिन अवस्थामा नेपाल र चीनले एकअर्कालाई राम्रोसँग बुझ्ने र लकडाउनको कारण उत्पन्न हुने विभिन्न घटनाहरूलाई संयुक्तरुपमा समाधान गर्ने प्रेस नोटमा उल्लेख छ ।

दूतावासका प्रवक्ताले प्रेस नोट जारी गर्दै नेपालको कानुनको पालना गर्न र अनावश्यक रुपमा बाहिर ननिस्किन भनेका छन् ।

‘चिनियाँ पक्षले सधैं नेपालमा रहेका आफ्ना नागरिकले कडाइका साथ नेपालको नियम पालनाको माग गर्दै आएका छन् । साथै आफ्ना उचित मागहरू तर्कसंगत र कानुनी हिसाबमा व्यक्त गर्न पनि भन्दै आएको छ,’ प्रेस नोटमा लेखिएको छ, ‘कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रणको लागि नेपाल सरकारले लकडाउन गरेको समयमा चिनियाँ दूतावासले आफ्ना नागरिकहरूलाई बारम्बार सरकारको नियममा सहकार्य गर्न सम्झाउँदै आएको छ । अनावश्यक बाहिर ननिस्किन र उडानमाथि लगाइएको प्रतिबन्ध खुला नहुँदासम्म धैर्यतापूर्वक बस्न आग्रह गर्दै आएको छ ।’

चिनियाँ दूतावासका अनुसार यसअघि चिनियाँ दूतावासले नेपाल सरकारसँग सहकार्य गरेर तीन सय ४० जनालाई चीन फिर्ता लगेको थियो । नेपालले अन्तर्राष्ट्रिय उडान मे ३१ सम्म स्थगित गरेको र सीमित उडान क्षमताको कारण धेरै चिनियाँ नागरिकहरू अहिले पनि नेपालमा फसेका छन् । उनीहरूलाई पनि स्वदेश फर्काउन नेपाली पक्षसँग सम्पर्क कायम राख्ने काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?