Comments Add Comment
उद्योग खोल्न दिने सरकारी निर्णयको प्रभाव :

उद्योगीको प्रश्न : कच्चा पदार्थ छैन, कारखाना कसरी चलाउनु ?

यस्तो छ सुनसरी-मोरङ औद्योगिक कोरिडोरको कथा 

विराटनगर जुट मिलभित्रको दृष्य । तस्वीर : ध्रुव भट्टराई/अनलाइनखबर

२७ बैशाख, विराटनगर । लकडाउनका कारण डेढ महिनादेखि ठप्प रहेका सुनसरी–मोरङ औद्योगिक कोरिडोरका केही उद्योगहरु सञ्चालनमा आउन थालेका छन् । तर, सरकारले गरेको आंशिक रुपमा उद्योग खोल्ने निर्णयबाट आफूहरु अलमलमा परेको उद्योगीहरुको गुनासो छ ।

खाद्यान्न लगायत अत्यावश्यक वस्तु तथा सेवाका उद्योग सञ्चालन गर्ने सरकारी निर्णयसँगै सुनसरी मोरङ औद्योगिक कोरिडर क्षेत्रका केही उद्योग आंशिकरुपमा सञ्चालनमा आएका छन् । औद्योगिक क्षेत्रमा रहेका करिब साढे ६ सय उद्योगमध्ये झण्डै १ सय उद्योग अहिले आंशिक मात्रामा सञ्चालनमा आएका छन् । तर, कच्चा पदार्थ, मजदूर र बजारको अभावमा उद्योग सञ्चालन हुन नसक्ने उद्योगीहरुको गुनासो छ ।

यस औद्योगिक करिडोर क्षेत्रमा निर्यातमुखी ठूला उद्योगहरु ६० बढीको संख्यामा छन् । उद्योग विभागकोे तथ्याङक अनुसार सुनसरी–मोरङ औद्योगिक करिडोरमा अहिले ६६५ उद्योग दर्ता छन् । जसमध्ये ठूला र मझौला गरी १५० र बाँकी साना उद्योग मात्रै अहिले सञ्चालनमा छन् । उद्योग विभागका अनुसार सुनसरी–मोरङ औद्योगिक करिडोरमा ५ सय करोड रुपैयाँ उद्योगमा लगानी छ ।

मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगले जुट, चाउचाउ, बिस्कुट, तेल, मैदा, रिफाइनरी तेल, छाला, जुत्ता, चप्पल, धागो, साबुन, वायर, रड, स्टील, कर्कट पाता, प्लाष्टिकका सामान, सिमेण्ट, दाना, बिजुलीको तार, जीआई पाइप, चामललगायत वस्तु उत्पादन गर्दै आएका छन् । यस क्षेत्रका उद्योगमा लकडाउन अघिसम्म ४५ हजार भन्दा बढीले रोजगारी पाएका छन् ।

बौरिने प्रयासमा आंशिक उद्योग

सुनसरी– मोरङ औद्योगिक कोरिडोरमा रहेका केही जुट, धागो, चाउचाउ, तेल, चामल, दूध, साबुन, कुकिज, दाना उत्पादन गर्नेलगायतका उद्योग सञ्चालनमा आएका छन् ।

सामान ढुवानी, कच्चा पदार्थ निर्यात आयात गर्नेजस्ता उद्योग सञ्चालनका आवश्यकता हुन् । यस्ता अन्य विभिन्न योजनाको गृहकार्यविना उद्योग सञ्चालन सहज छैन

सञ्चालनमा रहेका उद्योगमा हात धुने छुट्टै व्यवस्था गरिएको छ । स्यानिटाइजर र मास्क लगायतका व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्रीको प्रयोग गरी कामदार, कर्मचारीले उत्पादनको काम गरिरहेका छन् ।

सुनसरी मोरङ–औद्योगिक कोरिडर क्षेत्रका उद्योगहरूमा ५२ हजार कामदार, कर्मचारी कार्यरत छन् । कतिपय उद्योगले मजदुरका लागि आवश्यक आवास तथा सुरक्षाको व्यवस्था गर्न नसक्दा उद्योग सञ्चालनमा आउन सकेका छैनन् ।

डेढ महिनापछि सञ्चालनमा आएको उद्योगले पूर्णरुपमा सुरक्षा सावधानी अपनाएर उद्योग सञ्चालनमा ल्याइएको अरिहन्त मल्टिफाइबर्सका प्रशासकीय अधिकृत रमेश सुब्बाले जानकारी दिए । उनले भने, ‘अहिलेको अवस्थामा पूर्णरुपमा उद्योग सञ्चालन गर्न सम्भव छैन । पूर्ण सावधानी अपनाएर आंशिकरुपमा उद्योग सञ्चालनमा ल्याएका छौं ।’

सुब्बाले बदाबन्दीको अवस्थामा आधारभूत उद्योग खोल्न सरकारले दिएको अनुमतिपछि उद्यमी ब्यवसायी उत्साहित भए पनि कच्चा पदार्थ एवं श्रमिक ब्यवस्थापन र उत्पादित वस्तुको बजारीकरणमा समस्या र चुनौती रहेको बताए ।

सुनसरीको खनारमा रहेको रिलायन्स स्पिनिंग मिल्सका साहयक व्यवस्थापक महेशप्रसाद पोखरेलले उद्योगमा सञ्चित कच्चापदार्थ प्रयोग गरी उद्योगले बस्तु उत्पादन थालेको जानकारी दिए ।

एक सातादेखि सञ्चालनमा रहेको आफ्नो उद्योगमा कार्यरत कर्मचारीलाई उद्योग परिसरमा राख्ने व्यवस्था मिलाएको सहायक व्यवस्थापक पोखरेलले जानकारी दिए । उद्योगमा अहिले १ सय बढी मजदुर कार्यरत छन् ।

अलमलमा उद्योगी

सरकारले विभिन्न शीर्षकका क्षेत्र सञ्चालन गर्न सकिने घोषणा गरेपछि सुनसरी–मोरङ करिडोर क्षेत्रका उद्योगी व्यावसायी अलमलमा परेका छन् । सरकारले उद्योग सञ्चालनमा ल्याउन भने पनि कसरी सचालन गर्ने भन्ने निदेर्शिका नआएकाले उद्योगी अलमलमा परेका हुन् ।

उद्योग संगठन मोरङका अध्यक्ष एव उद्योगी भीम घिमिरेले उद्योग सञ्चालन गर्नका लागि धेरै आन्तरिक तथा बाह्य कुराहरू हल गर्नुपर्ने भए पनि त्यसको  तयारीविनै उद्याग सञ्चालन गर्न समस्या हुने बताए ।

बजार नखुलेपछि उद्योगले सामान उत्पादन गरेर मात्र अर्थहीन हुने घिमिरे बताउँछन् । उद्योग सञ्चालन गर्न आवश्य रहे पनि त्यसका लागि कर्मचारी तथा कामदारलाई सुरक्षित सहज ढंगले चलायमान कसरी बनाउने भन्ने योजना नबनेको उनी बताउँछन् ।

यो पनि पढ्नुहोस लकडाउनमा के–के गर्न पाइन्छ ? (मन्त्रिपरिषद निर्णयको पूर्ण विवरण)

सरकारले उद्योग सञ्चालन गर्नू मात्र भनेर नहुने भन्दै त्यसका लागि आवश्य तयारी चाहिने घिमिरेले बताए । सरकारले गरेको उद्योग सञ्चालन गर्ने निर्णयले उद्योगी झन् दोधारमा परेको उनको भनाइ छ ।

‘पहिला त, उद्योगमा उत्पादित सामानलाई वितरण हुनसक्ने वातावरण बनाइनुपर्छ’, घिमिरेले अनलाइनखबरसँग भने, ‘सामान ढुवानी, कच्चा पदार्थ निर्यात आयात गर्नेजस्ता उद्योग सञ्चालनका आवश्यकता हुन् । यस्ता अन्य विभिन्न योजनाको गृहकार्यविना उद्योग सञ्चालन सहज छैन।’

त्यसैगरी रिजालको पोलिटेक इण्डष्ट्रिज प्रालिका सञ्चालनक नवीन रिजालले सरकारको निर्णयले केही उद्योग सञ्चालन आउने भने पनि यसको कार्यविधि तथा निर्देशिका नआउँदा अलमलमा परेको बताए ।

‘सरकारले उद्योग  सञ्चालन मात्र गर्ने भन्यो, त्यसका लागि आवश्यक गृहकार्य नगरेको जस्तो देखिन्छ । उद्योग सञ्चालन गर्नुमात्र ठूलो कुरा होइन, कच्चा पदार्थको जोहोसगै उत्पादित सामानलाई कसरी बजारमा पुर्याउने भन्ने चुनौती समाना गर्नुपर्ने हुन्छ । त्यसको तयारी देखिँदैन ।’ उद्योगी रिजाल भन्छन्, ‘यस्तो अवस्थामा आंशिक उद्योग खोलेर उद्योगीलाई आर्थिक भार व्यहोर्ने काम कतैबाट नहोस् ।’

कच्चा पदार्थदेखि र बजारीकरणको समस्या

करिडोरका सञ्चालित आशिकरुपमा सञ्चालनमा आएका उद्योगहरुमा कच्चा पदार्थको अभाव छ । धेरै उद्योगीहरुले तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ कोलकातास्थित बन्दरगाहामा रोकिएको छ । त्यो मालवस्तु क्रमशः ल्याउने र आयात प्रक्रियासमेत बढाउने योजनाअनुरूप उद्योग सञ्चालनमा ल्याएका छन् ।

मोरङ व्यापार संघका अध्यक्ष एवं उद्योगी प्रकाश मुन्दडा सबै उद्योग अहिलेका अवस्थामा सञ्चालन गर्न सक्ने अबस्था नरहेको बताउँछन् । उनले सञ्चालनमा आएका उद्योगहरु पनि आंशिकरुपमा मात्र चलेको बताए ।

‘अहिले यस कोरिडोरमा जे जति उद्योग सञ्चालनमा छन, ती पूर्ण क्षमतामा चलेका होइनन्,’ अध्यक्ष मुन्दडाले भने, ‘अहिलेको अवस्थामा उत्पादन कटौती गरेर उद्योगहरु सञ्चालनमा आएका छन् ।’

उनले अहिलेको अवस्थामा उद्योगका लागि आवश्यक कच्चा पदार्थ अभावदेखि उत्पादित वस्तुको बजारीकरणमापनि उतिकै समस्या रहेको बताए । ‘कच्चा पदार्थ आयात गर्ने भारत तथा तेस्रो मुलुकमा समेत कोरोना सङ्क्रमणको प्रभाव छ,’ मुन्दडाले भने, ‘कच्चा पदार्थ अभाव र बजारको अभावका कारण उत्पादन कटौती गर्नुपर्ने अहिलेको अवस्थामा उद्योगी व्यवसायी छन् ।

उद्योगीले सेवा क्षेत्रभित्रका (स्थानीय) मजदुरलाई परिचालन गरेर उद्योग सञ्चालन गरेका छन् । उद्योगी पवन सारडाले बाहिरी जिल्ला र कतिपय भारतीय मजदुरलाई ल्याएर काममा लगाउन सकिने अवस्था नभएका कारण उपलब्ध जनशक्तिलाई परिचालन गरी उद्योग सञ्चालनमा ल्याइएको बताए ।

सारडाले उद्योगमा कार्यरत मजदुरको स्वास्थ्य सुरक्षा, सामाजिक दूरीसँगै आवास र खानपिनको व्यवस्थापनमा चुनौति रहेको बताए । उनले करिडोरमा रहेका खाद्यान्नसहित डिटरजेन्ट र प्याकेजिङका उद्योग बन्दाबन्दीको अवधिमा समेत आवश्यकता अनुसार सञ्चालनमा रहेको जानकारी दिए ।

लामो लकडाउनका कारण उद्योग धन्दा थलिएको बताउँदै उद्योगी सारडाले  अनलाइनखबरसँग भने, ‘आवश्यकता पर्ने र चल्न सक्ने उद्योगहरु चल्लान्, तर सबै उद्योग चलाउन सक्ने अवस्था छैनन् । अहिले स्टिल र वायर उद्योग चलाउन सक्ने अवस्था छैन।’

अत्यावश्यक उद्योग चल्न दिने सरकारको निर्णयलगत्तै करिडोरका जुट प्याकेजिङ, चाउचाउ, पेय पदार्थ उत्पादन गर्ने उद्योग सञ्चालनमा आएका छन् । त्यसबाहेक सिमेन्ट, स्टिल र वायर्स उद्योगले मेसिन परीक्षणको प्रक्रिया सुरु गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment