
२८ वैशाख, वीरगञ्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नारायणी अस्पतालबाट पुनः जनरल सेवा सञ्चालनको तयारी गरेको छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयको एक टोलीले शनिबार स्थलगत निरीक्षण गरेको छ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पाखरेल नेतृत्वको तीन सदस्य टोलीले स्थलगत निरीक्षण गरेको हो । टोलीले कोभिड अस्पतालको विकल्पका बारेमा पनि सरोकारवालासँग छलफल गरेको छ ।
सरकारले नारायणीलाई लेभल २ कोभिड अस्पतालका रुपमा घोषणा गरेपछि वैशाख २ गतेदेखि नै फिभर क्लिनिक, सर्पदशं, रेविज भ्याक्सिन बाहेक अन्य सेवा ठप्प छ । केन्द्र र सरकारले विभिन्न अस्पताललाई कोभिड सेवा दिने अस्पतालको रुपमा घोषणा गरेको भएपनि हालसम्म प्रदेश नं २ मा नारायणीले मात्रै कोभिड असेवा दिइरहेको छ । नारायणीमा प्रदेश नं २ को पर्सा, बारा, रौतहट र सर्लाही जिल्लामा भेटिएको २९ जना संक्रमितको उपचार भइरहेको छ ।
थोरै कोभिड संक्रमितको उपचारका लागि हजारौं नागरिकले लिने जनरल सेवा ठप्प छ । जसले गर्दा पर्सा, बारा, रौतहटका गरिब, विपन्न समुदायका मानिस मर्कामा परेको भन्दै सरोकारवालाले नारायणीमा जनरल सेवा सञ्चालन गर्नुपर्ने माग राख्दै आएका छन् । उनीहरुले घरमै धर्ना बस्ने, सडकमा प्रदर्शन गर्ने, ज्ञापनपत्र बुझाउने, डेलिगेसन जाने लगायत विविध तरिकाबाट ध्यानाकर्षण गराइरहेका छन् ।
मन्त्रालयबाट आएको टोलीले अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट लगायतका चिकित्सक टोली, नगर प्रमुख विजय कुमार सरावगी लगायत सरोकारवालासँग भेटघाट गरेको छ । टोलीले नारायणी अस्पतालबाट अत्यावश्यक सेवा प्रवाह गर्नु अत्यावश्यक देखिएको भन्दै हालकै अवस्थामा जनरल र कोभिड दुवै सेवा सञ्चालन गर्न सकिन्छ वा सकिदैन ? अस्पतालमै कोभिड सेवा दिन वैकल्पिक ठाउँ भए/नभएको ? बाहिर विकल्प खोज्दा अस्पतालको जनशक्तिले सेवा दिन सक्ने/नसक्ने ? भन्ने बारेमा जिज्ञासा राखेको थियो ।
अस्पतालका चिकित्सकहरुले कोभिड र जनरल सेवा दुवै नारायणीबाट सञ्चालन गर्नु जोखिमयुक्त हुने र अस्पतालको मात्रै जनशक्तिले बाहिर सेवा दिन नसक्ने धारणा राखेका थिए । उनीहरुले महानगरपालिकाको समन्वयमा निजी अस्पतालसँगको सहकार्यमा कोभिड सेवा बाहिर दिन सकिने बताएका थिए । वीरगञ्जमा ७ वटा निजी अस्पताल सञ्चालनमा छन् ।
छलफलमा सहभागी डा. उदय नारायण सिंहले मन्त्रालयको टोलीले नारायणीमा कसरी जनरल सेवासुचारु गर्न सकिन्छ भनेर छलफल गरेको बताए ।
‘नारायणीमा जनरल सेवा सञ्चालन गर्दा धेरै सर्वसाधरण मर्कामा परेको र कतिपय त उपचार नै नपाएर मृत्यु भएको भन्ने कुरा आएको छ । जसरी पनि जनरल सेवा सञ्चालन गर्नुपर्ने स्थिति छ भनेर उहाँहरुले भन्नुभयो,’ डा सिंहले भने, ‘ जनरल सेवा नारायणीबाट सुरु गरेर, कोभिड १९ का लागि महानगरपालिकाको समन्वयमा निजी र सरकारी अस्पताल मिलेर सेवा दिन सकिन्छ भनेर सुझाव दिएका छौं ।’
नारायणीका चिकित्सक सहित मन्त्रालयको टोलीले नगर प्रमुख सरावगीसँग शनिबार नै छलफल गरेको छ । बैठकले महानगरपालिका प्रमुख सरावगीको नेतृत्वमा कोभिड–१९ उपचार केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । नगर प्रमुखको संयोजकत्वमा बहुपक्षिय सरोकारवालाहरु समावेशगरी नगर स्तरमा कोभिड–१९ प्रतिकार्य तयारी सिमिति गठन गर्ने निर्णय भएको महानगरपालिकाले जनाएको छ ।
बैठकले वीरगञ्ज महानगरपालिकाको संयोजनमा नारायणी अस्पतालले प्राविधिक व्यवस्थापन गर्ने गरि ‘गण्डक अस्पताल’को पूर्वाधार प्रयोग गरेर कोभिड–१९ संक्रमितको उपचार गर्ने, महानगरपािलका र नेशनल मेडिकल कलेजले २५/२५ प्रतिशत जनशक्ति व्यवस्थापन गर्ने र ५० प्रतिशत जनशक्ति नारायणी अस्पतालले प्रबन्ध गर्ने, जनशक्तिको नेतृत्व नारायणी अस्पतालले गर्ने निर्णय गरेको छ ।
त्यसमा अस्थायी कोभिड अस्पताल सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले अनुमति दिनुपर्ने माग महानगरपालिकाको छ ।
मन्त्रालयको टोलीले नारायणीमा जनरल सेवा सुरु गर्ने बारे अस्पताल र महानगरपलिकासँग छलफल गरेर गएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्याले जानकारी दिए । ‘महानगरपालिकाले गरेको प्रस्तावको बारेमा छलफल भएको छ । तर मन्त्रालयले औपचारिक निर्णय गरिसकेको छैन,’ उनले भने, ‘ मन्त्रालयबाट निर्णय भएर पत्र आएपछि त्यसै अनुसार कार्यान्वयन गर्छौं ।’
वीरगञ्ज महानगरपालिका र नारायणी अस्पतालले गरेको कामको अनुगमन पछि फर्केको विशेषज्ञ डा. पोखरेलले बताए ।
‘नारायणीमा सबै सेवा शुरु गर्नुपर्यो भन्ने मन्त्रालयको मुल विषय हो, त्यसलाई कसरी सहजीकरण गर्न सकिन्छ भनेर सरोकारवालासँग छलफल गरेका छौं,’ उनले भने, ‘ औपचारिक निर्णय मन्त्रालयले नै गर्छ ।’
नारायाणीमा अन्य सेवा सुरु गर्नका लागि कोभिड–१९ संक्रमितको उपचारका लागि वैकल्पिक ठाउँको व्यवस्थापन स्थानीय स्तरबाटै हुनुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया 4