Comments Add Comment

उद्योगीको प्रश्न-मजदुर, कच्चापदार्थ र बजार नभई कसरी चल्छ उद्योग ?

२८ वैशाख, काठमाडौं । सरकारले ४२ प्रकारका उद्योग सञ्चालन गर्न अनुमति खुला गरेको दुईदिन बित्दा पनि देशभरका अधिकांश उद्योग धन्दा भने चल्न सकेका छैनन् । उद्योग सञ्चालन गर्नेबारे सरकारी निर्णय छलफल बिनानै आएको भन्दै उद्योगीहरुले सरकारको आलोचना गरेका छन् ।

उद्योग सञ्चालन गर्न सरकारले तोकेको मापदण्ड, उपलब्ध पूर्वाधार, कानूनी व्यवस्था  र विभिन्न व्याहारिक कठिनाई उद्योग सञ्चालनमा बाधक भएको उद्योगीहरुको भनाइ छ ।

नेपाल उद्योग वाणिजय महासंघ र मझौला उद्योगीले उद्योग चल्न समस्या रहेको बताएका छन् भने  उद्योग परिसंघ र चेम्बर भने समस्याहरु हल गर्दै उद्योग सञ्चालन गर्नुको विकल्प नभएको बताउँछन् ।

सरकारले अस्पष्ट निर्णय गर्‍योः महासंघ

उद्योगधन्दा खोल्ने निर्णयमा सरकार आफै अस्पष्ट रहेको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । सरकारको खोल भन्दैमा तत्काल उद्योग सञ्चालन हुने अवस्था नरहेको महासंघका वरिष्ठ उपध्यक्ष शेखर गोल्छा बताउँछन् । कच्चा पदार्थ, श्रमिक, उत्पादन, प्याकेजिङ तथा ढुवानी र बजार सुनिश्चितताको चक्र व्यवस्थिति नभई उद्योगले उत्पादन थाल्न नसक्ने गोल्छाको बुझाइ छ ।

‘श्रमिक व्यवस्थापन र विद्यामान श्रम ऐनले महामारीको विषम अवस्थामा सरकारको निर्णय कार्यन्वनय गर्न सहज छैन,’ गोल्छाले भने ।

निर्णय सकारात्मक भए पनि पूर्व तयारी नभएका कारण तत्काल उद्योग सञ्चालन हुन मुस्किल हुने महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका बताउँछन् ।

केन्द्र सरकारको निर्णय र स्थानीय तहको बुझाईमा हुने भिन्नताले उद्योगी व्यवसायीलाई कठिनाई उत्पन्न हुने मुरारकाको भनाइ छ ।

यो पनि पढ्नुहोस शुक्रबारदेखि ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने सरकारको निर्णय (सूचीसहित)

सरकारले छलफलबिनै उद्योग खोल्ने निर्णय गर्दा सरकारी संयन्त्रमै समन्वय अभाव देखिएको महासंघका अर्का उपाध्यक्ष किशोर प्रधान बताउँछन् । उद्योगको कर्मचारी व्यवस्थापन गर्न केन्द्र सरकारले दिएको निर्देशन स्थानीय तहले अस्वीकार गरेको उनले बताए ।

उद्योग खोल्ने निर्णय गर्न सरकारले निजी क्षेत्रसँग छलफल नगरेको र पूर्वतयारीको लागि समय नदिएको उपाध्यक्ष प्रधानको आरोप छ ।

उद्योगीहरुले अहिले लकडाउनका कारण धेरै श्रमिकहरू गाउँ फर्किएको, उद्योगमा पर्याप्त कच्चापदार्थ पनि नभएको र उत्पादित वस्तुहरु विक्री गर्न बजार पनि नखुलेकाले उद्योग खुल्नुको मात्रै अर्थ नहुने बताएका छन् । सरकारले उद्योगको चक्रलाई सुनिश्चत तवरले चल्ने व्यवस्था नगरेसम्म अत्यावश्यक वस्तुबाहेक अरु उत्पादन हुन नसक्ने उनीहरुको तर्क  छ ।

अर्थतन्त्र जोगाउनुपर्छ : परिसंघ

सरकारको निर्णयमा रहेका कमजोरी सच्याउँदै उद्योग धन्दा खोल्न अघि बढ्नुपर्ने नेपाल उद्योग परिस संघको धारणा छ । सरकारले तोकिएको मापदण्ड कडाईका साथ पालना गरेर सकेसम्म धेरै उद्योग व्यवसाय सञ्चालन गर्न परिसंघका अध्यक्ष सतिश मोर सबै उद्योगीलाई आग्रह गर्छन । ‘ससाना समस्या देखाएर अर्थतन्त्रको चक्र नबिगार्नु अहिलेको आवश्यकता हो,’ अध्यक्ष मोरले भने ।

उद्योगीले अवसर नै हेर्ने भए पनि कठीन परिस्थितिका बाबजुत पनि पूर्वाधार बनाएरै भएपनि उद्योग सञ्चालनको वातावरण बनाउनुको विकल्प नभएको उनले बताए । उद्योग सञ्चालनका क्रममा आएका समस्या समाधान गर्न सरकारसंग छलफल गर्दै अघि बढ्नु पर्नेमा अध्यक्ष मोरले जोड दिए ।

विकल्प छैन : चेम्बर अफ कमर्श

उद्योग धन्दाहरु खोल्न दिने सरकारले गरेको निर्णय स्वागत योग्य भएको नेपाल चेम्बर अर्फ कमर्शको धारणा छ । लकडाउनको कारण कमजोर बन्दै गएको अर्थतन्त्र उकास्न आफूहरुले उठाउँदै आएको माग पुरा भएको चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ बताउँछन् ।

अर्थतन्त्र धरासायी हुनबाट जोगाउन सुरक्षा सतर्कता अपनाएर उद्योगहरु खुलाउनुको विकल्प नभएको उनी बताउँछन् ।

‘पहिलो चरणमा उद्योग खुलेको र अब बिस्तारै ढुवानीलाई सहज बनाएर उत्पादन भएको वस्तु बिक्री वितरणका लागि बजार पनि खुल्ला गर्दै जानु पर्छ,’ अध्यक्ष श्रेष्ठले भने । उद्योगमा श्रमिकको समस्या हुनसक्ने भन्दै श्रेष्ठ स्वास्थ्य परीक्षण गराएर बाहिरबाट श्रमिकहरु ल्याउन सकिने धारणा राख्छन् ।

सरकार उम्किन खोज्यो : मझौला उद्योगी

बिना तयारी उद्योग खोल्ने निर्णय गरेर सरकार जिम्मेवारीबाट उम्कन खोजेको रङ्गरोगन, प्लाई उड तथा स्टील तथा ग्रील उद्योगीको आरोप छ । उद्योग चल्ने वातावरण बनाउनु भन्दा पनि सरकारले श्रमिक र उद्योगप्रतिको जिम्मेवारीबाट उन्मुक्ति पाउन यस्तो व्यवस्था निर्णय गरेको  नेपाल पेन्ट उत्पादक एशोसिएसनका अध्यक्ष विश्व प्रकाश शाखा बताउँछन् ।

‘मजदुरको तलब समस्याबाट भाग्न सरकारले तयारी बिनै निर्णय गर्‍यो, उद्योग खोल्न दिन लगाईएको शर्तपालना गर्ने उद्योगको पूर्वाधार छैन्,’ अध्यक्ष शाखाले भने ।

भन्सारबाट कच्चापदार्थ भित्रिन नसकेको र दक्ष कामदार पनि स्वदेशमा नभएकाले उद्योगहरु सञ्चालन र्गा नसकिने नेपाल प्लाईउड उत्पादक एशोसिएसनले जनाएको छ । सरकारले भने जस्तो श्रमिकलाई उद्योगमै राखेर काम गराउन पूर्वाधार नभएको एसोसियसनका अध्यक्ष प्रदीपकुमार चौधरीले बताए । सरकारले तोकेको शर्त पालना गर्नै नसकिने उनको भनाई छ ।

उद्योग खोल्नुपर्छ भनेर लबिङ गरे पनि कसरी सञ्चालन गर्नेबारे प्रशस्त अन्यौल देखिएको नेपाल गि्रल तथा स्टिल व्यवसायी महासंघले जनाएको छ । कर्मचारी गाउँ गएका र हार्डवेयर पसल बन्द हुँदा कठिनाई उत्पन्न भएको महासंघका अध्यक्ष मोहन कटुवालले बताए ।
यो पनि पढ्नुहोस उद्योगीको प्रश्न : कच्चा पदार्थ छैन, कारखाना कसरी चलाउनु ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment