Comments Add Comment

भारतसँग विवाद गरिरहनुभन्दा सिमानामा पर्खाल लगाउनु राम्रो : माधव नेपाल

२९ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधव कुमार नेपालले नेपाल र भारतबीच खुला सिमाना भएकाले बिभिन्न समस्या आइरहेको भन्दै पटक–पटक विवाद गरिरहनु भन्दा सिमानामा काँडेतार वा पर्खाल लगाउन सकिने बताएका छन् ।

‘सीमा मिच्ने काम भइरहेको छ । दशगजा क्षेत्रमा बाँध बाध्ने काम भइरहेको छ । हुँदाहुँदा त सुरक्षाफौज लगाएर बाटो निर्माणको काम भयो,’ संसदको अन्तर्राष्ट्रिय सम्वन्ध समितिको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले भने, ‘विवाद सधैंभरि गर्नुछ भने त्योभन्दा राम्रो त कन्ट्रोल गर्नेतिर जानुपर्यो । त्यसको निम्ति काँडेतार लगाएर हुन्छ कि, पर्खाल खडा गरेर हुन्छ कि । सधैंभरि विवाद गर्नुभन्दा त केही उपाय गर्नु राम्रो ।’

उनले सीमामा नियमन र व्यवस्थापन गर्न कसरी सकिन्छ भन्ने कुरामा जानै पर्ने अवस्था आएको बताए ।

सीमा स्तम्भ भत्काइदिने, सार्ने, नेपाली भूमि मिच्ने काममा सीमा सुरक्षा बल नै संलग्न भएका घटनाले सार्वभौम छिमेकी राष्ट्रप्रति भारतको दृष्टिकोणमै गम्भीर प्रश्न उठेको नेता नेपालले बताए ।

आफ्नो देशको भूमिको रक्षा गर्ने सवालमा सबै नेपाली र राजनीतिक दलहरु एकजुट भएको बताउँदै नेपालले यही बेला भारत र अर्को छिमेकी देश चीनसँग सरकारले कुरा गर्नुपर्ने बताए । ‘पूर्णतयारीका साथ, सबै खालका तथ्य तथ्यांकका साथ र उच्च मनोबलका साथ हामीले भारत सरकारसँग कुरा गर्नुपर्छ । यससँग जोडिएका विषयवस्तु भएको हुनाले चीन सरकारसँग पनि कुरा गर्नुपर्छ ।’

नेपाली भूमि मिचेर मानसरोवरसम्म पुग्ने बाटो निर्माण गर्ने र त्यसको उदघाटन गर्ने भारतको काम त्यो अत्यन्त दुःखद र आपत्तिजनक भएको बताए । ‘यसले नेपालको र भारतको बीचमा भएको सहमति र सम्झौताको पनि गम्भीर उल्लंघन गरेको छ । सँगसँगै सार्वभौमसत्ता माथि प्रहार भएको हामीले ठानेका छौं,’ नेता नेपालले भने ।

उनले थपे, ‘यो विवादलाई बसेर छलफल गर्न सकिन्छ । तथ्यको आधारमा गर्न सकिन्छ । यो डिस्प्युट कसरी समाधान गर्ने भन्ने उपायको खोजी गर्न सकिन्छ । तर डिस्प्युट छ भने त्यो ठाउँमा किन विवादित गतिविधि गर्ने ? यस कुरामा उहाँहरुले (भारतीय पक्षले) हामीलाई कन्भिन्स गर्नुपर्ने आवश्यकता छ ।’

‘नेपालको नक्सा प्रकाशित गर्नैपर्छ’

नेपालको पश्चिमको सिमाना लिम्पियाधुरासम्म हो भन्ने कुरा सबै दस्ताबेजहरुले प्रमाणित गर्ने नेता नेपालले बताए ।

‘लिम्पियाधुराबाट निस्किएको नदी काली नदी नै नेपाल–भारतको सिमाना भएकोले त्यसलाई पुष्टि गर्ने थुप्रै आधारहरु छन् । ती भूभागका नेपालले आफ्नो दाबी छोडेको कुनै अग्रिमेन्ट भएको छैन,’ उनले भने, ‘हामी यति प्रष्ट भइसकेपछि पनि किन अनावश्यक रुपमा मित्र राष्ट्रसँग अविश्वास बढाउँदै जाने ? अहिले पनि भारतसँग अहिले पनि कुरा गर्न सकिन्छ । किनभने नेपाली जनमत उद्वेलित छ । आक्रोशित पनि छ । देशभक्तिको भावना बढिरहेको छ । भारतविरोधी भावना बढिरहेको छ ।’

उनले सरकारले नेपालको नक्सा प्रकाशित गर्नै पर्नेमा जोड दिए । शिक्षा मन्त्रालयबाट पाठ्यपुस्तकमा नेपालको नक्सा प्रकाशित गर्ने कुराको सन्दर्भमा अनावश्यक आपत्ती जनाउने काम भएको भन्दै नेता नेपालले विरोध जनाए ।

‘मैले के सुन्दछु भने शिक्षा मन्त्रालयबाट पुस्तकमा नेपालको नक्सा बनाउने कुराको सन्दर्भमा पनि अनावश्यक आपत्ति गर्ने कामहरु भयो । आपत्ति गर्ने काम नगर्नुस् । तथ्य प्रमाणले यी सबै कुरा देखाएको छ भने हाम्रा विद्यार्थीहरुलाई पढाउनुपर्ने पाठ््यक्रममा, स्कुलहरुको पाठ्यक्रममा, कलेजका पाठ्यक्रममा त्यस्ता नक्साहरु प्रकाशित हुनुपर्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment