+
+
Shares

कांग्रेसको सुझाव : अहिले ठूलो बजेट नल्याऔं, साउनपछि पूरक अनुमान ल्याऔं

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २९ गते १४:४७

२९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले आउँदो जेठ १५ गते सीमित बजेट मात्र ल्याउन सरकारलाई सुझाव दिएको छ ।

अहिले नै ठूलो आकारको बजेट ल्याउँदा कोरोना महामारीको प्रभाव नेपालमा र विश्व अर्थतन्त्रमा कति पर्छ अनुमान गर्न नसकिने हुनाले अहिले सीमित बजेट ल्याउँदा उपयुक्त हुने सुझाव दिएको हो ।

प्रतिनिधिसभामा बजेट सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै कांगेस नेता डा. मिनेन्द्र रिजालले कोरोना महामारीको असर कति गहिरो पर्छ भन्नेबारे अहिले नै अनुमान गर्न नसकिने हुनाले अहिले ठूलो आकारको बजेट ल्याउदा प्रभावकारी नहुने बताए ।

‘संक्रमण कति गहिरोसँग फैलिने हो थाहा छैन, स्वास्थ्यको क्षेत्रले के चुनौती ब्यहोर्ने हो थाहा छैन, कृषिको चुनौती के हुन्छ थाहा छैन, पर्यटनको क्षतिको के अनुमान गर्न सक्छौं, विप्रेषणमा कुन खालको चुनौती आउँछ हामीलाई थाहा छैन’ उनले अर्थमन्त्रीलाई भने ‘यो अवस्थामा संविधानको धारा ११९ अनुसारको बजेट ल्याउनेमात्रै ब्यवस्थाबाट हामी यो कहरबाट उम्किन सक्छौं जस्तो लाग्दैन । त्यसैले अहिलेको बजेट सीमित रुपमा ल्याऔं ।’

अहिले सीमित बजेट ल्याएर त्यसपछि अर्थतन्त्रमा कोरोना प्रभावबारे ब्यापक छलफल गरेर साउनपछि पूरक अनुमान ल्याउन सकिने रिजालले बताए । ‘संविधानको धारा १२१ अनुसार पूरक अनुमान प्रस्तुत गर्न पाइन्छ । त्यो बेलामा दुनियाँभर के प्रभाव पर्‍यो त्यो पनि देखिन्छ हाम्रो देशमा के प्रभाव पर्‍यो त्यो पनि देखिन्छ । अनि साँचो अर्थमा आएको पूरक अनुमान र अहिले प्रस्तुत हुने बजेट जोड्दा आउने वर्षको बजेट बन्छ ।’

अर्थतन्त्रमा कोरोनाको प्रभावबारे अहिले नै आकलन गर्न नसकिने भन्दै उनले अहिले ठूलो बजेट ल्याएर ताली खानतिर मात्र नलाग्न आग्रह गरे । ‘आज बजेट ठूलो ल्याएर ताली त खानुहोला मन्त्रीज्यू तर नेपाली जनतालाई जहाँ दुख हुन्छ त्यहाँबाट तंग्रयाउन सकिन्छ भन्ने लाग्दैन’ उनले भने ।

साउन १५ गते बजेट ल्याउने विषय नारा लगाउने कुरा नभएको भन्दै रिजालले थपे ‘नारा लाउने कुरामा मात्र नजाऔं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?