Comments Add Comment

अर्थमन्त्रालयको दिमाग उदार र वित्तीय पूँजीवादले भरिएको छ : सांसद शर्मा

२९ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद जनार्दन शर्माले सरकारको बजेट सिद्धान्त र प्राथमिकता कोरोना महामारी र यसका असरमा केन्द्रित हुन नसकेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभामा बजेट सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले बजेट परम्परागत हिसाबले नै ल्याउन खोजिएको भन्दै असन्तुष्टि जनाए ।

‘कोरोनाको प्रभावमा केन्द्रित भएर समाधान गर्नुभन्दा पनि सबै कुरा समेटिभएको छ । अर्थमन्त्रालयको दिमाग उदार र वित्तीय पूँजीवादले भरिएको छ । व्यवहारमा नोकरशाही र दलाल पूँजीवाद हुर्किरहेको छ । तर सिद्धान्तमा समाजवाद भनेर मुर्ख बनाइदै छ’ उनले भने ।

सांसद शर्माले कोरोनाको प्रभाव कति हुन्छ भन्ने पूर्वानुमान नभएकाले किसान, मजदुर र निम्न आय भएका जनतालाई लक्षित गरी तत्काल काम अघि बढाउन बजेट ल्याउनुपर्ने उनले बताए ।

‘अहिले मुख्यगरी किसान, मजदुर, श्रमिकहरु र निम्न आय भएका जनताको प्रत्यक्ष सहभागिता गराउने कार्यक्रममा सरकारको लगानी बृहत लगानी हुनुपर्छ । यसमा सरकारको तयारी छ कि छैन ?’ उनले प्रश्न गरे ।

कोरोनाको समग्र प्रभाव अनुमान नगरी बजेट ल्यएमा भोलि संकट उत्पन्न हुनसक्ने भन्दै सांसद शर्माले राजनीतिक पार्टी, निजी क्षेत्र र सरोकारवाला सबैसँग छलफल गरी बजेट ल्याउन आग्रह गरे ।

रोजगारी वृद्धि र पूर्वाधार निर्माणका लागि श्रम सहकारीको अवधारणा अनुसार अगाडि बढ्नुपर्ने उनले बताए । ‘रोजगारीका लागि श्रमिकहरुलाई कसरी संगठित गर्ने ? श्रमिकहरुलाई कसरी परिचालित गर्ने ? कम पूँजीले बढी उत्पादन कसरी गर्ने ? कम लगानी गरेर बढी लगानी पूर्वाधार कसरी गर्ने ? यसका लागि श्रम सहकारी निर्माण गर्नुपर्छ । त्यो मार्फत भौतिक पूर्वाधार र उत्पादनका कुराहरु अगाडि बढाउनुपर्छ’ शर्माले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment