+
+

गर्भवती र सुत्केरीलाई राहतमा सरसफाई किटसँगै पौष्टिक आहार

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३० गते १६:२३

३० वैशाख, वीरगञ्ज । पर्साको पटेर्वा सुगौली–४ की लालमती देवीको परिवारका पुरुष सदस्यहरु ज्याला मजदुरी गर्न जान्थे । एक हप्तामा पैसा ल्याएर चामल, दाल, नुन, तेल किनेर खाने गर्थे । लकडाउन भएदेखि काम बन्द थियो । परिवारलाई छाक टार्न गाह्रो भइरहेको थियो । लकडाउनमै गाउँमा गहुँ कटान सुरु भयो, त्यसवापत आएको गहुँले केही दिन गुजारा चल्यो । गहुँको सिजन सकिएपछि भने जीवन कष्टकर हुन थाल्यो ।

एक वर्षको दुधे बालक र सुत्केरी आमालाई खुवाउने पौष्टिक आहार त परको कुरा छाक टार्न गाह्रो हुन सुरु भइसकेको थियो । खान समस्या भएपछि गाउँका अरुसँग मिलेर गाउँपालिका कार्यालय घेराउ समेत गरे ।

‘पाँच दिन चुलो नबलेपछि गाउँपालिका कार्यालयमा गएर विरोध प्रदर्शन नै गर्‍यौं । पालिकाले १० किलो चामल दियो,’ लालमतिले भनिन्, ‘९ जनाको परिवारमा १० किलो चामलले कति दिन नै खान पुग्छ र ? सबै कुरा सक्किसकेको थियो । स्थानीय अधिकार कार्यक्रम अन्तर्गत समूहमा आवद्ध भएकी उनलाई संस्थाले राहत दिएपछि दंग परेकी छन् ।

पटेर्वासुगौली–३ धरमपुरकी लालमुनी देवीले लकडाउनका कारण गर्भाअवस्थामा पोष्टिक आहार खान पाइरहेकी थिइनन् । दिव्य युवा क्लब मार्फत दाल, आटा, चना केराउ, बच्चाहरुको लागि लिटो पाएपछि उनी खुशी भएकी छन् ।

‘आमा र र बच्चाको लागि खानेकुरा मिलेको छ । हातधुने साबुन, थर्मोमिटर पाएका छौं,’ उनले भनिन्, ‘कसैको जीउ सञ्चो भएन भने आफैँ जरो नाप्न सक्छौँ । यस्तो सामान कसैले पनि दिएको थिएन । हामी धेरै खुशी छौँ ।’

पटेर्वा सुगौली–२ प्रहरी हवल्दार लालबाबु सहनी प्रहरी चौकी रङ्गपुरटाँडी दिव्य युवा क्लवले वितरण गरेको सामानहरु धेरै राम्रो छ । सुत्केरीहरुको लागि दाल एकदम राम्रो हो । आमाले दाल खाएपछि बच्चालाई चाहिने दूधको आवश्यकता आमाबाट नै पूरा हुन्छ । सरसफाईको सामान छ । एकदम राम्रो छ तर यो सबै सामानहरुमा चामल पनि भइदिएको भए झनै राम्रो हुने थियो भन्ने मेरो सुझाव हो ।

पटेर्वा सुगौली गाउँपालिकामा लकडाउन (बन्दाबन्दी) को प्रभावमा परेका ४ सय ४ दैनिक ज्याला मजदुरी गर्ने घरपरिवारलाई दिव्य युवा क्लबले राहत वितरण गरेको हो । जसमध्ये १७१ जना गर्भवती तथा २ सय ३३ जना सुत्केरी महिला छन् । डिजिटल थर्मोमिटर ४ सय ४ थान, मास्क ४ हजार ४० थान, ८ सय ८ थान सेनिटरी प्याड, डिटोल साबुन, लुगाधुने साबुन, मसुरोको दाल, गहुँको पिठो, सर्वोत्तम लिटो लगायतका समान राहतमा वितरण गरिएको थियो ।

दैनिक ज्याला मजदुरी गरी जीविका चलाइरहेका घरपरिवारमा लकडाउनको कारणले गर्दा आय आर्जन बन्द भएर दैनिक छाक टार्न कठिन भएको गुनासो आएपछि उनीहरुलाई राहत वितरण गरिएको स्थानीय अधिकार कार्यक्रम संयोजक कोपिला साहले जानकारी दिइन् । राहतसँगै गर्भवती र सुत्केरी महिलाहरुका लागि सरसफाई सामग्रीहरु (कोभिड किट) तथा पौष्टिक आहारका सामानहरु वितरण गरिएको उनले बताइन् ।

दिव्य युवा क्लबले एक्सन एड नेपालसँगको साझेदारीमा सञ्चालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत राहत वितरण गरेको थियो । दिव्य युवा क्लबका कार्यक्रम प्रमुख रामाकान्त पटेलले ५ लाख ९ सय ६० रुपैयाँ बराबरको समान वितरण गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?