Comments Add Comment

तातो आइरन जस्तो हाम्रो राष्ट्रियता

म सात कक्षामा पढ्थेँ वा आठमा, याद छैन। हाम्रो विद्यालयमा “ग्रेटर नेपाल” नामको डकुमेन्ट्री देखाइने भयो। हामीलाई देश बनाउन हिँडेको उक्त टिमका सदस्यले नेपाललाई भारतले मिचेको हाम्रो भूभाग फिर्ता गर्नुपर्ने बताएसँगै हामी सबै यसरी जोस्सियौं कि मानौं भाटा र खुकुरीले दोस्रो नालापानीको युद्ध  त्यहीँ लडिदिनेछौं ।

कक्षाको अगाडि अगाडि “हो त, फिर्ता गर्नुपर्छ” भन्दै थियौँ । पछाडि पछाडि केटाहरूले उदण्ड नाराबाजी सुरु गरिहाले। “हामी त गोर्खाली पो त । हामीलाई हेप्ने ! “खुकुरी निकाल केटा हो, धोतीहरूलाई छप्काइदिउँ ! ”

घन्टी लाग्यो । डकुमेन्ट्री सुरु भयो । कक्षामा चिच्याउने सय जना थिए होलान् । टिकेटको पैसा बीस रूपैयाँ थियो या दस । अन्तिममा हेर्न बस्नेको संख्याचाहिँ त्यसको आधा पनि थिएन।

***                  ***                      ***

एक दशक अगाडिको कुरा होला । घरमा मेरो र मम्मीको सानोतिनो चर्काचर्की नै पर्‍यो । कारणचाहिँ हाम्रो विशाल जलस्रोतको ठेक्का हाम्रो छिमेकीले लिएको कि पाएको, के थियो कुन्नि। आजभोलिको पाँच वर्षको बच्चालाई त “Back off India!” भन्न आउँछ भने म त झन् उतिबेलाको हिन्दी छाडेर अंग्रेजी गीत सुन्न थालेकी टिनएजर। म कडा विरोधमा उत्रिएँ।

मेरो तात्तातो जोशलाई शान्त पर्दै मम्मीले भन्नुभयो “खोक्रो राष्ट्रियताले पेट भरिँदैन। नेपालले केही गर्ने कहिले हो कहिले ? कम्तीमा भारतले गरेपनि विकास त हुन्थ्यो।” त्यस्तो कुरा मेरो उमेरलाई पच्ने कुरै भएन। मैले ममीलाई राष्ट्रघातीको संज्ञा दिँदै घृणित “लुक” दिएँ ।

त्यसको  केही वर्षपछि मलाई पनि सबैले त्यही राष्ट्रघातीको “लुक” दिए जब मैले ट्यालेन्ट नाप्ने प्रतियोगितामा नेपाली भएकै भरमा प्रशान्त तामाङलाई जिताउन उचित हुँदैन भनेकी थिएँ।

***                  ***                      ***

यही लकडाउनमा एउटा विदेशीले युट्युबमा भिडियो राखेछन् । “नेपाल एक गरिब देश, तर …….” । त्यो ‘तर’ पछाडि के थियो कसलाई के मतलब । तर, हामी गरिब नेपालीलाई गरिब भन्ने  दुस्‍साहस गर्ने ती विदेशीलाई चाहिँ हाम्रा अनलाइन योद्धाहरूले राम्ररी पाठ सिकाएरै छाडे। “थाहा छ यहाँ जग्गाको भाउ कति महँगो छ ? हामी किन्न त सक्दैनौं,” सही नै भने ।

पढेर रमाइलो लग्यो। अर्को भिडियो रहेछ ‘नेपाल कति शक्तिशाली छ’ भन्ने। एउटा नेपाली बन्धुको कमेन्ट पढेर त झन्डै बेहोस भएको । “नेपालको पावर कति छ भने नेपाल + पाकिस्तान बराबर इन्डिया सखाप” रे ।

दुईचार दिनयता सीमा अतिक्रमणले पुन: चर्चा पाएको छ । सबका सामाजिक सञ्जाल भरिएका छन्। भारतलाई गालीगलौज, हाम्रा चोरजस्ता नेतामाथि प्रहार गर्ने नयाँनयाँ तरिकाको खोजी हुँदैछ। आफूलाई चाहिँ यहाँ केही पनि नलेखेकोमा आफ्नै राष्ट्रियतामाथि प्रश्न उठ्ला कि भन्ने डर छ।

***                  ****                         ***

मलाई लाग्छ हामी नेपालीहरूमा भरिभराउ क्षमता भनेकै हाम्रो तातो आइरनजस्तो राष्ट्रियता हो। तत्तिन समय नै नलाग्ने। तत्तिनासाथ विपक्षीलाई डस्नका लागि बिल्कुल तयार । तत्तिएपछि केही बेरमा सेलाई पनि हाल्ने । आज राष्ट्रप्रेमको नारा चर्को छ, भोलि हराइहाल्नेछ । आज विस्तारवाद मूर्दावाद भन्दैछौं। भोलि बिहेमा हिन्दी गीतमा कम्मर मर्काइहाल्छौं ।

तर, प्रशान्त तामाङदेखि शृङ्खला खतिवडा हुँदै आर्थर गनसम्म आइपुग्दा एउटा कुरा त मान्नै पर्छ । हाम्रो आइरन अलिक पृथक छ । पोल्ने र डस्ने काम जुन खुबीले गर्छ खुम्चिएको कुरा राम्रो बनाउनमा भने रतीभर पनि प्रयोग हुँदैन। राष्ट्रियता उम्लिएर हामी अनलाइन भोटिङ गरेर विश्वलाई चकित पार्न सक्छौं । तर, देश निर्माणका लागि उत्तिकै एकता देखाउन सक्दैनौं।

नाकाबन्दी हुँदा छिमेकीलाई गालीगालौच गर्न सक्छौं तर आत्मनिर्भर हुनेतिर हाम्रो ध्यान जाँदैन । सामाजिक सञ्जालमा देशलाई माया गर्न सजिलो छ तर बजार जाँदा विदेशी समानको तुलनामा नेपालीलाई ५ रुपैयाँ बढी तिर्न गाह्रो पर्छ । विदेश गएर भाँडा माझ्न सजिलो छ तर देशमै बसेर केही गर्न गाह्रो भए जस्तै त होला।

मैले थाहा पाएदेखि नै सीमा ठाउँ-ठाउँमा पटक पटक मिचिएका छन् । सीमा स्तम्भहरू सारिएका छन्। हाम्रा नेताहरूले खुलेर अन्तर्राष्ट्रिय रूपमा विरोध नगरेकोमा धेरैको गुनासो छ । मानौं हामी अर्को नाकाबन्दीको प्रतिक्षामा तड्पिरहेका छौँ। देश सानो हुनु हाम्रो समस्या हैन । हाम्रो चियागफसँगै सिद्धिने राष्ट्रप्रेमचाहिँ अवश्य हो । सीमा मिचिएको न त यो पहिलो पटक हो न त अन्तिम पटक नै हुनेछ।

केही वर्ष अगाडि एउटा घतलाग्दो मिम देखेकी थिएँ। “केटाकेटी हो, पायो भन्दैमा जेसुकै पोस्ट गर्ने नगर। ब्वाइफ्रेन्ड/गर्लफ्रेन्ड भनेको मनमा राख्ने हो, खानेकुरा जति पेटमा ।” यसैबीच हाम्रो राष्ट्रियताचाहिँ कहाँ राख्ने होला त ?  व्यवहारमा हो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment