Comments Add Comment

शुक्रबार काठमाडौं आइपुग्दैछ सेनाको स्वास्थ्य सामग्री

हवाई मार्गबाट सामान ल्याउने मिति अझै तय भएन

३१ वैशाख, काठमाडौं । नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री शुक्रबार काठमाडौं आइपुग्ने भएको छ । हवाई मार्गबाट स्वास्थ्य सामग्री ल्याउन ढिलाइ भइरहेका बेला स्थलमार्गबाट शुक्रबार सामान काठमाडौं आइपुग्न लागेको हो ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले २२ वैशाखमा चीनको ग्वान्झाओबाट हिँडेको कन्टेनर शुक्रबार काठमाडौं आइपुग्ने अनलाइनखबरलाई बताए । उनले भने, ‘पहिलो कन्टेनर शुक्रबार आएपछि क्रमशः अरू दुईवटा पनि आइपुग्नेछन् ।’

ग्वाञ्झाओबाट २२, २४ र २५ गते तीनवटा कन्टेनर नेपालको स्वास्थ्य सामग्री बोकेर हिँडेको थियो । ती कन्टेनरमा ११०, १३० र ३९९ सीयूएम स्वास्थ्य सामग्री थिए । स्थलमार्गबाट तातोपानी नाका हुँदै काठमाडौंसम्म आइपुग्न ती कन्टेनरलाई १२ दिन लागेको छ ।

यसअघि सेनाले पहिलो चरणमा हवाई मार्गबाट दुईवटा वाइडवडी विमानमार्फत स्वास्थ्य सामग्री ल्याउने भनेको थियो । चीनमा सरकारी बिदा र भन्सारको लामो प्रक्रियाका कारण योजना पूरा नभएको जंगीअड्डाले दाबी गरेको थियो । यद्यपि, हालसम्म ग्वान्झाओमा सबै सामग्री जम्मा नै भइनसकेको स्रोतको दाबी छ ।

अब स्थल र हवाईमार्ग दुवैबाट सामान ल्याउने प्रक्रिया निरन्तर अघि बढाइने जंगीअड्डाको भनाइ छ । पहिलो चरणमा विमानबाट ३७ टन अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउने सेनाको तयारी छ । जसका लागि भन्सार प्रक्रिया जारी रहेको जंगीअड्डाको दाबी छ ।
यो पनि पढ्नुहोस चीनबाट स्वास्थ्य सामग्री ल्याउन २ अर्ब २५ करोड बढीको सम्झौता

‘वैशाख २४ गते ग्वान्जाओमा सामान ढुवानीकर्ता फ्याल्स फ्रच्थ लोजिस्टिकको पार्टनर कम्पनी डी स्केन्कोद्वारा वेयरहाउस स्थापना गरिएको छ,’ सैनिक स्रोतले भन्यो, ‘सोही मितिबाट ढुवानीकर्ता र चीनको सिनो फर्मा कम्पनीबीच समन्वयमा भन्सार प्रक्रिया सुरु गर्ने तयारी थालिएको थियो ।’

चीनबाट निर्यात गरिएका स्वास्थ्य सामग्रीमा प्रश्न उठेपछि चीनले १० अप्रिलबाट भन्सार जाँचमा कडाइ गरेको थियो । त्यसका कारण पनि सामान ढुवानीमा समस्या भएको सेनाले बताउँदै आएको छ । यद्यपि, नेपालले भन्सार प्रक्रियालाई छरितो गरिदिन भन्दै कूटनीतिक पहल पनि गरिरहेको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले यसका लागि चिनियाँ समकक्षीसँग पनि आग्रह गरेका छन् । चीनमा रहेका सैनिक सहचारीमार्फत पनि भन्सार प्रक्रियालाई चाँडो गर्न पहल गरिएको सैनिक स्रोतकोे भनाइ छ ।

कोरोना भाइरसको महामारीका बेला चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने नेपाल ८१ औं राष्ट्र हो । ओम्नी बिजनेश कर्पोरेसन इन्टरनेश्नलसँग भएको सम्झौता विवादमा आएपछि सरकारले १६ चैतमा स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाई दिएको थियो ।

जसअनुसार, जीटूजी (सरकार–सरकारबीचको समझदारी) प्रक्रियाबाट नेपालमा दुई अर्ब २५ करोड रुपैयाँ बढीको तीन सय ४२ टन स्वास्थ्य सामग्री ल्याउने सेनाले घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment