Comments Add Comment

सिरहामा आरडीटी किट अभाव

३१ वैशाख, सिरहा । प्रदेश २ को ८ जिल्लामध्ये अहिलेसम्म कोरोना संक्रमित पुष्टि नभेटिएको सिरहामा र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) किटको अभाव भएको छ ।

जिल्लामा ठूलो संख्यामा कोरोना भाइरस परीक्षण भएपछि अहिले जिल्लामा किटको अभाव भएको हो । किट अभावपछि परीक्षण प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।

सिरहासँग जोडिएका प्रदेश २ को सप्तरी र धनुषा तथा प्रदेश १ को उदयपुरमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अहिलेसम्म कोरोना संक्रमण पुष्टि नभएको प्रदेश २ को एक्लो जिल्ला सिरहामा जोखिम बढेको छ । तर परीक्षण गर्ने आरडीटी किटको अभाव हुँदा परीक्षण प्रभावित भएको प्रमुख यादवले बताए ।

‘करिब दुई साताअघि ६०० किट आएको थियो,’ प्रमुख यादवले भने, ‘आएको किट सबै प्रयोग भइसकेको छ । अब हामीसँग किट छैन ।’

‘दैनिक जाँचका लागि विभिन्न स्थानीय तहबाट १ सय हाराहारीमा किटको माग भइरहेको छ । तर अभावका कारण दिन सकिरहेका छैनौं,’ प्रमुख यादवको भनाइ छ ।

किट पठाइदिन प्रदेश २ को स्वास्थ्य निर्देशनालय र सामाजिक विकास मन्त्रालयसँग माग गरेको र आएपछि आरडीटी जाँच अघि बढाउने प्रमुख यादवले बताए । किटकै अभावमा सिरहा जिल्लामा कोरोना परीक्षणको दर बढ्न सकेको छैन । हालसम्म सिरहामा ४६० जनाको पीसीआर परीक्षण भएको छ भने ५५० जनाको आरडीटी परीक्षण भएको जिल्ला स्वास्थ्य कार्यालय, सिरहाले जनाएको छ ।

जाँच भएका सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख यादवले जानकारी दिए । सिरहामा १ जना मात्र धनगढीमाई नगरपालिकास्थित गेनाइ मेमोरियल अस्पतालको आइसोलेसनमा रहेका छन् ।

यता, पूर्वको सप्तरी, पश्चिमतर्फको धनुषा, उत्तरतर्फको उदयपुर र दक्षिण भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अहिलेसम्म कोरोना सङ्क्रमण नपाइएको सिरहालाई सुरक्षित राख्ने चुनौती बढेको छ । प्रदेश नं २ को सिरहाबाहेक सातवटै जिल्लामा सङ्क्रमितको सङ्ख्या ९४ पुगेको छ । पर्सामा ८२, बारा र रौतहटमा तीन–तीन, महोत्तरी र धनुषामा दुई–दुई र सर्लाही र सप्तरीमा एक–एक जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश नं २ का स्वास्थ्य निर्देशनालय जनकपुरका वरिष्ठ स्वास्थ्य अधिकृत विजयकुमार झाले जानकारी दिए ।

कोरोना प्रभावित जिल्लाका साथै खुला सिमानाका कारण भारतबाट समेत लुकीछिपी मानिस आउजाउ गरिरहेका कारण सिरहा जोखिममा परेको स्थानीयवासीले बताएका छन् । प्रभावित स्थानबाट हुने आवतजावतलाई पूर्णरूपमा रोक्न नसिकए सिरहा पनि सङ्क्रमणको चपेटामा पर्न सक्ने लहानका स्थानीयवासी तथा वडा नं ७ का वडाध्यक्ष राकेश गुप्ता रोशनले बताए ।

‘कोरोना संक्रमण भेटिएको सप्तरी, धनुषा तथा उदयपुरबाट समेत आवतजावत भइरहेकै छ,’ वडाध्यक्ष गुप्ताले भने, ‘दैनिक खाद्यान्नसहितका मालवाहक सवारी साधन तथा अन्य सवारी साधन कोरोना प्रभावित उदयपुर जिल्ला ओहोरदोहर गरिरहेका छन्, जसका कारण सिरहा जिल्ला जोखिममा छन् ।’

यसरी दैनिक भइरहेको आवतजावतलाई नियन्त्रण गर्नु अर्को जिल्लाबाट आउने सवारी साधनको प्रवेश रोक्नुपर्ने उनको कथन छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजकुमार गुरागाईंले सिरहा जिल्लासँग जोडिएको चारैतिरको नाका बन्द गरी सुरक्षा व्यवस्था कडा पारिएको बताए । उनले सिरहा जिल्लासँग जोडिएका जिल्लामा कोरोना संक्रमण पुष्टि भइसकेकाले ती जिल्लाबाट हुने आवतजावत रोक्न नाकामा व्यापक सशस्त्र प्रहरी तथा नेपाल प्रहरी परिचालन गरिएको जानकारी दिए । यसका साथै जिल्लामा लकडाउनलाई समेत आजदेखि थप कडाइ गरिएको उनको कथन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment