+
+
Shares

बुटवलको कोरोना अस्पताल संक्रमितले भरियो, नयाँ थपिए कहाँ लैजाने ?

टोपराज शर्मा टोपराज शर्मा
२०७७ वैशाख ३१ गते १९:५८

३१ वैशाख, बुटवल । कपिलवस्तु र रुपन्देहीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित बढेसँगै बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पताल भरिएको छ ।

धागो कारखानाको भवनलाई कोरोना विशेष अस्पताल घोषणा गरेर ३६ वटा आइसोलेसन शय्या  (बेड) बनाइएको थियो । अहिले सबै बेड कोरोना संक्रमितले भरिएका छन् । रुपन्देहीका १५ र बाँकी कपिलवस्तुका बिरामी भर्ना भएका हुन् ।

भवन बाहिर टेन्टमा १४ बेड बनाइएको छ । तर सर्पदंशको डर र वर्षायाम शुरु हुन थालेकाले त्यहाँ बिरामी नराखिने भएको छ । ‘नयाँ बेड तयार नहुँदासम्म यहाँ बिरामी भर्ना गर्न सक्ने अवस्था छैन’ अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले भने, ‘भवनबाहिर खुला चौरमा १४ बेड रहे पनि बिरामी नराख्ने भयौं ।’

धागो कारखाना परिसरमै अर्को भवनमा दुई सय बेड थप्ने निर्णय भएको छ । सवै प्रक्रिया पूरा गरेर आवश्यक पुर्वाधार र जनशक्ति थप गर्नुपर्ने भएकाले समय लाग्ने अध्यक्षा सूर्यबहादुर भट्टराईले बताए । ‘निर्णय भएको छ, विद्यमान कानून अनुसार टेण्डरलगायतका काम गर्नुपर्ने भएकाले समय त लाग्छ’ उनले भने ।

प्रदेशको सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रादेशिक अस्पताल र बुटवल उपमहानगरपालिकाको सहकार्यमा आवश्यक पूर्वाधार र स्वास्थ्य जनशक्ति थप गरिने अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

प्रदेश ५ सरकारले बुटबलको धागो कारखानासँगै भैरहवाको भीम अस्पताल, दाङको बेलझुण्डीस्थित आयुर्वेद अस्पताल र नेपालगञ्जको शुशील कोइराला क्यान्सर अस्पताललाई कोरोना विशेष आइसोलेसन अस्पताल बनाउने निर्णय गरेको थियो । नेपालगञ्जको अस्पतालमा २५ बेड आइसोलेसन बनाइएको थियो । त्यहाँ पनि वेड खाली छैन । भीम अस्पतालमा ३० मध्ये १० बेड खाली रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीले बताए ।

दाङको कोरोना अस्पतालमा ८८ वटा आइसोलेन बेड बनाइएको छ र सबै खाली छन् । तर बर्दियाका संक्रमितलाई लैजान खोज्दा दाङको सुुन्दरनगर गाउँपालिका प्रमुखले विज्ञप्ति निकालेर विरोध गरेपछि नेपालगञ्ज लगेर भर्ना गरिएको थियो ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?