Comments Add Comment

प्रवासी नेपालीबारे सरकारका प्रवक्ता भन्छन्– भावना एक ठाउँमा छ, जोखिम पनि हेरौं

३१ वैशाख, काठमाडौं । सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले विदेशमा रहेका नेपालीहरूलाई फर्काउनेबारे छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएको बताएका छन् ।

सीमापारि रहेका नेपालीलाई फर्काउनेबारे थप छलफल आवश्यक रहेको खतिवडाले बताए । यसमा भावना मात्र नहेरी कठिनाइ एवं स्वास्थ्यको जोखिमलाई समेत विचार गर्नुपर्ने मन्त्री खतिवडाको तर्क छ ।

बुधबार संसदमा विनियोजन विधेयक २०७७ को सिद्धान्त र प्राथमिकताबारे उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री खतिवडाले वैदेशिक रोजगारीमा र सीमापारि भारतमा रहेका नेपालीहरूबारे यस्तो बताएका हुन् ।

सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री खतिवडाले भने, ‘बाहिर बसेकाहरू स्वदेश फर्कन चाहन्छन् भने उनीहरूलाई ल्याऔं भन्नुभएको छ । योसम्बन्धी विषयमा मलाई लाग्छ अलिकति बढी छलफलको आवश्यकता पर्छ । हाम्रा भावनाहरू एक ठाउँमा छन् र हाम्रा कठिनाइहरू पनि हामीले सँगसँगै हेर्नुपर्छ ।’

मन्त्री खतिवडाले संसदमा भने, ‘हामीले जीवनरक्षाको कुरा गरिरहँदा आवत-जावतलाई हामीले कसरी बुझ्ने हो, यो कुरालाई पनि हामीले बुझ्नुपर्छ । …मान्छे ल्याउने, लाने भन्ने कुराहरू हामीले समग्र स्वास्थ्य जोखिमको आधारबाट पनि तयार गर्नुपर्ने विषय छ ।’

सीमापारिका नेपालीहरूको व्यवस्थापन कसरी गर्ने भन्नेबारे छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएको डा. खतिवडाले बताए । उनले अगाडि भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले सीमादेखि लिएर सबै विषयमा छलफल गर्नलाई सर्वदलीय बैठक बोलाइरहनुभएको छ । त्यसको निचोड जे हुन्छ, त्यसका आधारबाट अर्थमन्त्रालयले आफ्नो पाटोबाट गर्नुपर्ने काम अघि बढाउने नै छ ।’

विदेशमा रहेका नेपालीका विषयमा मात्र नभएर सीमा मिचिएको विषयमा पनि राष्ट्रिय सहमति जुटाएर अघि बढिने सरकारका प्रवक्ता एवं मन्त्री खतिवडाले संसदमा बताए ।

‘सीमा क्षेत्रमा मान्छेहरू रोगले पनि अतिक्रमित र सीमानामा पनि अतिक्रमित भएको अवस्थामा हामी यो रोगबाट संक्रमित हुनबाट जोगिनका लागि हामीले कसरी सीमा व्यवस्थान गर्ने भन्ने कुराहरू दुई पक्षबाट हामीले हेर्नुपर्छ’ उनले भने, ‘लिपुलेक सर्वदलीय छलफलको विषय हो, सर्वदलीय सहमतिको विषय हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment