Comments Add Comment
संसदमा अर्थमन्त्रीको जवाफ :

बजेटका सिद्धान्तमाथिको टिप्पणी परम्परागत भयो : अर्थमन्त्री

सांसद विकास कोष राख्ने कि फाल्ने ? सांसदकै हातमा !

३१ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा बुधबार अपराह्न प्रतिनिसिभाको रोष्टममा उभिनुपूर्व संसदमा केहीबेर हंगामा भयो । सत्तापक्षकै सांसद गंगा चौधरीसमेतले बजेटका सिद्धान्तमाथिको छलफलमा भाग लिन नपाएको भन्दै केहीबेर सभामुखलाई आत्थुआत्थु बनाए ।

सभामुख अग्निप्रसाद सापकोटाले ‘आर्थिक वर्ष २०७७/०७८ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ( कर प्रस्ताव बाहेक) माथिको छलफलमा माननीय सदस्यहरुले बोल्ने क्रम यहीँ समाप्त हुन्छ’ भन्नासाथ सांसदहरु जंगिएर उठेका थिए ।

होहल्ला साम्य भएपछि अर्थमन्त्री डा. खतिवडाले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा सांसदले उठाएका प्रश्नहरुको जवाफ दिए ।

जवाफ दिने क्रममा डा. खतिवडाले बजेटका सिद्धान्त र प्राथमिकतामाथि सांसदहरुबाट आएका टिप्पणीहरु पनि परम्परागतै भएको बताए ।

‘बजेटका सिद्धान्त र प्राथमिकता परम्परागत रहे भन्ने कुराहरु पनि आइराखेका छन्’ अर्थमन्त्री खतिवडाले भने, ‘योचाहिँ टिप्पणी पनि परम्परागतै भैराखेको छ । जहिले, जेसुकै ल्याए पनि बजेट परम्परागत भयो भन्ने परम्परा टिप्पणीमा पनि आइ नै रहेको छ ।’

मन्त्री खतिवडाले सांसदका सुझावहरु बजेटमा समेटिने आश्वासन दिँदै भने, ‘सुझावहरुलाई ध्यानमा राखेको छु । बजेट निर्माणमा प्राथमिकतामा राख्नेछु । सुझावहरुलाई यथोचित स्वीकारेर नीति तथा कार्यक्रम र बजेटमा प्रतिविम्वित गर्ने हो ।’

सांसद विकास कोष राख्ने कि फाल्ने ? निर्णय सांसदकै हातमा

आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेटको सबैभन्दा चर्चाको विषय हो, स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अर्थात् सांसद विकास कोष । सांसद विकास कोषका नामबाट हरेक सांसदका नाममा बजेट छुट्याउने प्रचलन हरेक वर्ष विवादित बन्दै आएको छ ।

हरेक पटक अर्थमन्त्रीले यही कार्यक्रमका नाममा आलोचना पनि खेप्नु परेको छ । यो कार्यक्रमले स्वयं सांसदहरुलाई पनि लज्जित बनाएको टिप्पणी हुने गरेका छन् । यस वर्ष झनै कोरोना महामारीका कारण यो कार्यक्रममाथिको बजेट रोक्नुपर्ने दबाव बढेको छ ।
यो पनि पढ्नुहोस प्रवासी नेपालीबारे सरकारका प्रवक्ता भन्छन्– भावना एक ठाउँमा छ, जोखिम पनि हेरौं

बुधबारको सम्वोधनमा अर्थमन्त्री डा. खतिवडाले विवादबाट बच्ने प्रयास गर्दै यो कार्यक्रम बजेटमा राख्ने वा खारेज गर्ने जिम्मेवारी सांसदहरुकै थाप्लोमा छाडिदिएका छन् ।

मन्त्री खतिवडाले संसदमा भने ‘स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमका सम्बन्धमा संसदको एक मत आओस, त्यस हिसाबले आउने सुझावलाई सरकारले पालना गर्छ ।’

तर, यस कार्यक्रमका सम्बन्धमा सबै सांसदको धारणा भने समान हुनुपर्ने अर्थमन्त्री डा. खतिवडाको शर्त छ ।

न्यूनतम आर्थिक क्रियाकलाप जारी राखौं

मन्त्री खतिवडाले कोरोनाकै बीचमा पनि न्यूनतम आर्थिक क्रियाकलाप जारी नराख्ने हो भने त्यसले उत्पन्न गर्ने संकटको सामना गर्न नसकिने स्पष्ट पारेका छन् ।

मन्त्री खतिवडाले न्यूनतम आर्थिक क्रियाकलाप जारी राख्नकै लागि बजेटमा कोरोनाबाहेकका कार्यक्रमले समेत स्थान पाउने स्पष्ट पारे ।

उनले खासगरी चालु आयोजनाबारे उठेका प्रश्नको सन्दर्भमा यस्तो बताएका हुन् । ‘हामी रोग र भोक दुबैसँग लड्नु छ, आर्थिक क्रियाकलाप अगाडि बढाउनैपर्छ,’ मन्त्री खतिवडाले संसदमा भने ‘न्यूनतम आर्थिक क्रियाकलाप जारी नराखे, रोगबाट त बचिएला भोकबाट बचिन्न ।’

आगामी बजेटबाट केही आर्थिक क्षेत्र चलायमान बनाउनैपर्नेतर्फ अर्थमन्त्रीले संकेत गरेका छन् । खासगरी रोजगारी सिर्जना गर्ने र व्यक्तिलाई काम दिने आयोजनालाई बजेटले स्थान दिने उनले संकेत गरे ।

स्वास्थ्य र शिक्षामा राज्यको बलियो उपस्थिति हुने दाबी

बजेटका सिद्धान्तमाथिको छलफलमा भाग दिँदै सांसदहरुले आधारभूत स्वास्थ्य सेवा र शिक्षामा राज्यको भूमिका बलियो हुनुपर्ने माग गरेका थिए । यसमा भने आफ्नो समेत सहमति रहेको अर्थमन्त्री डा. खतिवडाले बताए ।

तर, सबै नागरिकलाई पैसा बाँड्ने वा तलव दिने भन्ने सिद्धान्तमा भने आफू सहमत हुन नसक्ने उनको भनाइ छ ।

नागरिकलाई स्वतन्त्रता दिने हो भने काम दिएर त्यसका आधारमा पारिश्रमिक पाउने वातावरण बनाउनुपर्ने मन्त्री खतिवडाले बताए । राष्ट्रका स्रोत एकृीकत गरेर सबै स्रोत राज्यले मात्र प्रयोग गर्ने धारणासमेत संविधान विपरीत हुने उनको भनाइ छ ।

समाजवादी बजेट ल्याउने दाबी

अर्थमन्त्री खतिवडाले आगामी बजेट समाजवादी सिद्धान्तका आधारमा त्यसलाई कार्यान्वयन गर्ने किसिमको आउने दाबीसमेत गरे ।

सांसदले उठाएका प्रश्नहरुको एकमुष्ट जवाफ दिँदै मन्त्री खतिवडाले भने, ‘समाजवादको बारेमा पनि प्रश्न उठेको छ । लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समाजवाद हो, त्यसमा कुनै शंका छैन । तर, त्यो भनिरहँदाखेरि हामी सबै सामाजिक न्यायमा आधारित समृद्धिसहितको समाजवादको कुरा गर्दैछौं । यो कुरालाई हामीले बिर्सनु हुँदैन । यही कुरालाई आगामी बजेटले समेट्ने छ ।’

उनले थपे, ‘सिद्धान्तलाई व्यवहारमै उतार्ने किसिमका कार्यक्रम लिएर बजेट आउनेछ भन्ने माननीय सदस्यज्यूहरुलाई म अवगत गराउन चाहन्छु ।’

अग्लो मान्छे नुहुन्छ !

कतिपय सांसदले उठाएका छुच्चा प्रश्नको जवाफ अर्थमन्त्री खतिवडाले वाङयमय मिसाएर फर्काए । संसदमा सुनाइएको जुरेलीको कथाको प्रशंग कोट्याउँदै मन्त्री खतिवडाले भने, ‘संसदमा दुईवटा कथा पनि सुनियो । जुरेलीको बच्चाको कथा चैं मलाई राम्रो लाग्यो । मैले त्यसमा जुहारी खेल्नचाहिँ चाहेको छैन ।’

मन्त्री खतिवडाले अगाडि भने, ‘कुरा के हुन्छ भने नुहिने मान्छे नै राम्रो हुन्छ । अग्लो भएपछि नुहुन्छ पनि । यसमा जुहारी खेल्नुभन्दा आफू नुहुनु राम्रो हुन्छ । जुरेली जेसुकै होस्, त्यसमा धेरै छलफल नगरौं । परिस्थितिले कोही बाँस होला, कोही जुरेली होला ।’

कतिपय सांसदमा कुन प्रतिवेदनमा के कुरा समेटिन्छ भन्ने ज्ञान नभएको संकेत गर्दै मन्त्री खतिवडाले त्यसको जवाफ पनि कूतनीतिक पारामै फर्काए ।

‘माननीय सांसदज्यूहरुको विद्धतालाई म सम्मान गर्छु’ अर्थमन्त्री खतिवडाले भने, ‘के कुरा कुन प्रतिवेदनमा ल्याउने भन्ने कुरा मान्य सदस्यज्यूहरुले पनि बुझिदिनुहोला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment