Comments Add Comment

दशगजामा अलपत्र ५ सय बढी नेपाली रुपन्देही भित्रिए 

३१ वैशाख, बुटवल । भारतका विभिन्न सहरबाट स्वदेश फर्कने क्रममा सीमा क्षेत्रमा अलपत्र परेकामध्ये पाँच सय १० जना नेपालीको उद्धार गरी रुपन्देही ल्याइएको छ ।

भारतको मुम्बई, दिल्ली, हरिद्वार, राजस्थान, कानपुरलगायत ठाउँबाट आएका उनीहरू नौतनवाको क्वारेन्टाइनमा २१ दिनको बसाइँ पूरा गरी नेपाल फर्किएका हुन् । उनीहरुलाई बुधबार साँझ बेलहिया नाकाबाट बसमार्फत रुपन्देही ल्याइएको हो ।

रुपन्देहीको तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाको पहलमा स्वदेश ल्याइएका उनीहरूमध्ये दुई सय ३३ जना तिलोत्तमा नगरपालिका–१५ को मधवलिया माविको क्वारेन्टाइनमा र दुई सय ७७ जना सिद्धार्थनगर नगरपालिकाको भैरहवास्थित लिलाराम न्यौपाने मावि र भैरहवा माविको क्वारेन्टाइनमा बस्ने छन् ।

नौतनवामा अझै १५ सय जनाभन्दा बढी नेपाली रहेका र तीमध्ये २१ दिन क्वारेन्टाइन बसाइँ पूरा गरेका नौ सय ६९ जनालाई भोलि (बिहीबार) रुपन्देही भित्र्याइने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । क्वारेन्टाइनमा नबसेकाको हकमा के गर्ने भन्ने अझै यकिन नभएको उनले बताए ।

क्वारेन्टाइन बसाइँ पूरा गर्दा पनि स्वदेश आउन नपाएपछि नेपालीहरूले दशगजा क्षेत्रमै भोक हड्ताल थालेका थिए । ‘यो काम जिल्ला प्रशासनले भन्दा पनि तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाको पहलमा भएको हो’–प्रमुख जिल्ला अधिकारी पन्थले भने–‘नेपाल सरकारको निर्देशनअनुसार भित्र्याइएको होइन ।’ क्वारेन्टाइनमा बस्ने सबैको पीसीआर परीक्षण गरी नेगेटिभ रिपोर्ट आउनेलाई घर जान दिइने र पोजेटिभ आउनेलाई आइसोलेसन अस्पतालमा भर्ना गरिने प्रमुख जिल्ला अधिकारी पन्थले स्पष्ट पारे ।

‘क्वारेन्टाइनको बसाइँ पूरा गरिसक्दा पनि आफ्नो देश आउन नपाएर बेहाल अवस्थामा अलपत्र परेका नेपाली दाजुभाइको पीडा देखेर हामीले अग्रसरता लिएका हौं’–तिलोत्तमाका नगर प्रमुख बासुदेव घिमिरेले भने–‘सरकारले वैधानिक ढंगले आउन बाटो छेक्दा कैयौं नेपाली रातको समयमा लुकिछिपी नेपाल आउँदा झन् जोखिम बढ्ने भएकाले नेपाल सरकारले नै जतिसक्दो छिटो उद्धार गर्नुपर्छ ।’

बुधबार साँझ स्वदेश भित्रिएका उनीहरू गुल्मी, पाल्पा अर्घाखाँची, स्याङजा, रुपन्देहीलगायत जिल्लाका छन् । भारतमा मंगलबारदेखि रेल सेवा सुरू भएपछि स्वदेश फर्कने नेपालीको संख्या झनै बढ्ने देखिएको छ ।

यसअघि कपिलवस्तुका केही स्थानीय तहले पनि सीमा क्षेत्रमा अलपत्र पाँच सयजना नेपालीलाई जिल्ला भित्र्याएर क्वारेन्टाइनमा राखेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । कपिलवस्तुका विभिन्न सीमा क्षेत्रमा अझै पन्ध्र सय नेपाली रोकिएका छन् ।

अनेकौ पीडा खेपेर सीमामा आइपुगेर पनि स्वदेश आउन नपाएका नेपालीहरूले नेपाल भित्रिन पाएकोमा खुसी व्यक्त गरेका छन्।

सीमावर्ती भारतीय सहर नौतनवास्थित विभिन्न ९ वटा क्वारेन्टाइनमा एघार सय बढी नेपाली रहेका छन् । भारतका केही जिल्लाका क्वारेन्टाइनहरूबाट नेपालीहरूलाई निकालेर दशगजामा पुर्‍याइएको छ।

घर फर्कन भनी हिँडेका नेपालीहरूलाई सुरक्षित रुपमा स्वदेश भित्र्याउन सरकारले छिट्टै पहल नथालेमा भारतमा उनीहरूको व्यवस्थापन गर्न समस्या पर्ने र उनीहरू सीमामा पुगेमा सुरक्षाकर्मीहरूलाई रोक्नमा समस्या पर्न सक्ने दुवै देशका सुरक्षा अधिकारीहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment