Comments Add Comment

रामनारायण बिडारी भन्छन्- म डराएँ, अब बैठक राख्दिनँ

१ जेठ, काठमाडौं । संसदको विषयगत समितिका बैठक दिनहुँजसो बसिरहेका छन् । बिहीबार प्रतिनिधिसभा र राष्ट्रिय सभाका गरी विभिन्न ६ वटा विषयगत समितिका बैठक बस्दैछन् ।

संघीय संसद सचिवालयले संसद बैठकमा सहभागी हुनेहरूका लागि आचारसंहिता बनाएर लागू गरेको छ । साबुन पानीले हात धुनुपर्ने, ज्वरो परीक्षण गरेर मात्रै प्रवेश गर्नुपर्ने, सामाजिक दुरी कायम गरेर राखिएका कुर्सीमा बस्नुपर्नेलगायतका नियमको पालना संसद भवन नयाँबानेश्वर लागू गरेको पाइन्छ ।

तर, मिनीसंसद भनिने संसदीय समितिहरूको हकमा भने आचारसंहिताको पालना फितलो छ । सिंहदरबार प्रवेशद्वारमा हात धुने ठाउँ छ । तर, कमैले मात्र हात धुन्छन् । गेटमा ज्वरो जाँच गरिन्छ, तर हातलाई स्यानिटाइज गर्न अनिवार्य छैन । टेबलमा राखिएको स्यानिटाइजर कसैले प्रयोग गर्छन्, कसैले गर्दैनन् । स्वास्थ्यकर्मीहरूले पनि हातलाई स्यानिटाइज गर भनेर भन्दैनन् ।

बैठक कक्षमा सावधानी

पछिल्लो समय नियमितजसो बसिरहेको राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक कक्षको ढोकामा स्यानिटाइजर राखिएको छ । बैठक कक्षमा सामाजिक दुरी कायम हुने गरी कुर्सीहरूको व्यवस्थापन गरिएको छ ।

तर, सबैले ट्वाइलेट एउटै प्रयोग गर्छन् । बैठक कक्ष बाहिर सांसदहरू, मर्यादापालक, गुप्तचर निकायका कर्मचारीहरूबीच सामाजिक दुरीविना कुराकानी भइरहेको हुन्छ ।

अन्य समितिहरूको दृष्य पनि यस्तै छ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक नियमितजसो छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बसिरहेको छ । बिहीबारका लागि पनि बोलाइएको छ ।

अर्थ समितिको बैठक पनि दैनिकजसो छ। अर्थ समितिमा बिहीबार आगामी आर्थिक वर्षको बजेटबारे अर्थशास्त्रीहरूसँग छलफल छ ।

धेरैजसो समितिले बैठक कक्ष छिर्ने ढोकामा स्यानिटाइजर राखेका छन् । केहीले स्यानिटाइजर समेत राखेका छैनन् । राखिएको ठाउँमा पनि कसैले प्रयोग गर्छन्, कसैले गर्दैनन् ।

बैठकमा छिर्नुअघि र बाहिरिनुअघि साबुनपानीले हात धुनुपर्ने संसद सचिवालयको नियम भने मिनीसंसदमा पालना भएको छैन । साबुन पानीले हात धुने व्यवस्था कुनै पनि समितिमा नभएका कारण यो नियम पालना नभएको हो ।

संसद सचिवालयले मिनीसंसदमा सतर्कतामा कमी आएको स्वीकार गरेको छ । प्रवक्ता रोजनाथ पाण्डे भन्छन्, ‘मिनीसंसदमा सतर्कतामा केही कमी भएको छ । हामी यसबारे छलफल गरिरहेका छौं ।’

विधेयकअघि बढाउँदै समितिहरू

प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिमा बुधबार खानेपानी तथा सरसफाइ सम्बन्धी विधेयकमाथि दफावार छलफल थियो । बुधबार नै सक्ने भनिएको उक्त विधेयकमाथिको छलफल खानेपानी मन्त्री बिना मगर अनुपस्थित नहुँदा बिहीबार पनि बैठक बस्दैछ ।

समिति सभापति कल्याणी खड्काका अनुसार मन्त्रीको उपस्थितिविना समितिले विधेयक पास गर्नु उचित हुँदैन ।

‘विधेयक टुङ्ग्याउँदा मन्त्रीको उपस्थिति चाहिन्छ । थाती रहेका र दफा ५५ देखि ६० सम्म अर्को बैठकमा छलफल गरौंला,’ समिति सभापति खड्काले बुधबारको समिति बैठक सकाउँदै भनिन् । उक्त विधेयकमा ६० वटा दफा छन् ।

यस्तै, राष्ट्रिय सभाकोे विधायन व्यवस्थापन समितिले बिहीबारदेखि भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक र अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक माथिको छलफल सुरु गर्दैछ । यसका लागि समितिले बिहीबार साढे ११ बजेका लागि बैठक बोलाएको छ ।

लकडाउनकै समयमा बसेको विधायन व्यवस्था समितिको बैठक । अनलाइनखबर फाइल ।

समितिका सभापतिहरुले लकडाउन र कोरोना संक्रमण जोखिमका बीच बैठक राख्दाका आफ्ना अनुभव अनलाइनखबरलाई सुनाएका छन् । कतिपयले असावधानीका कारण बैठक राख्न डराएको समेत बताएका छन् ।

समितिका केही सभापतिहरुको अनुभव यस्ता छन्-

बिहीबारको बैठकमा छलफल हुन्छ : परशुराम मेघी गुरुङ, सभापति, विधायन व्यवस्थापन समिति

पहिलेदेखि बैठक बसिराखेका छौं । बिहीबार पनि बैठक बोलाएका छौं । अब के गर्ने त्यहीँ नै सल्लाह गछौर्ं । म आफैँ भक्तपुर कटुञ्जे हाइटबाट सिंहदरबार आउँछु । हाम्रो पास छ । सचिवालयका एक तिहाई कर्मचारीलाई बोलाउने भन्ने छ ।

विधायन व्यवस्थापन समितिले बिहीबार साढे ११ बजे अख्तियार ऐन संशोधन सम्बन्धी विधेयकमाथि छलफलका लागि बैठक राखेको छ ।

छलफल सिध्याएर अब प्रतिवेदनतिर लाग्नुपर्ला : कृष्ण दाहाल, सभापति, अर्थ समिति

अर्थसमितिको बैठक बिहीबार बिहान १० बजे बोलाइसकिएको छ । लकडडाउन कडा बनाइएको भन्या छन् । जति अप्ठ्यारो भए पनि बिहीबार चाहिँ हाम्रो समितिको बैठक बस्छ । बिहीबारदेखि छलफल सिध्याएर प्रतिवेदनतिर लाग्नुपर्ला ।

अर्थ समितिले बिहीबार आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा अर्थशास्त्रीहरुसँगको छलफलका लागि बैठक डाकेको छ ।

बैठक रोक्नेबारे सोचेका छैनौं : जयपुरी घर्ती, सभापति, शिक्षा तथा स्वास्थ्य समिति

हामी नियमितजसो छलफल गरिरहेका छौं । बिहीबार बिहान ११ बजे कोरोना भाइरसबारे छलफल गर्न स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई बोलाएका छौं । कोरोना विज्ञलाई पनि बोलाएका छौं । आगामी दिनमा बैठक रोक्नेबारे सोचेका छैनौं । तर, पत्रकारहरुलाई भने बोलाएका छैनौं । ठाउँ साँघुरो छ । सामाजिक दुरी कायम गर्न गाह्रो हुन्छ भनेर ।

समिति सदस्यहरु भने आइरहनुभएको छ । कसैलाई समस्या भयो भने संसद सचिवालयले ल्याइदिने व्यवस्था मिलाइएको छ ।

सांसदहरुलाई आउन अप्ठ्यारो हुन्न : निरु देवी पाल, सभापति, महिला तथा सामाजिक समिति

कोरोना महामारीको बेलामा एनजीओ आईएनजीओहरुको भूमिका के हुन सक्छ भनेर बिहीबारका लागि महिला तथा सामाजिक समितिको बैठक बोलाएका छौं । बैठकमा महिलामन्त्री, सचिव, एनजीओ फेडेरेसनको अध्यक्ष र पदाधिकारीहरु आउनुहुन्छ ।

बैठक अस्ति-अस्ति पनि राखेकै हो । राखी नै रहेका छन् सबैले । सामाजिक दुरी कायम गरेर बस्न सकिन्छ ।

बैठकमा सांसदहरुलाई आउन अप्ठ्यारो हुन्न । किनभने दुई गते नीति तथा कार्यक्रम छ । त्यसमा सांसद आउनै पर्यो । सदन चलिरहेको छ । मेरो हकमा बानेश्वर बस्छु, अप्ठ्यारो छैन् ।

मचाहिँ डराएँ, अब बैठक राख्दिनँ : रामनारायण बिडारी, सभापति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति

विज्ञहरुलाई बोलाएर सीमाबारे बैठक राख्न खोजेको थिएँ । स्वास्थ्य सम्बन्धी सावधानी नअपनाइएको देखेर मचाहिँ डराएँ । अब बैठक राख्न सक्दिन जस्तो लागेको छ । तत्काल राख्दिन पनि । समितिका बैठक नराख्दा राम्रो । बैठक नराख्दैमा देश डुब्ने, जहाज डुब्ने, केही हुँदैन । सामान्य समय भए केही काम गरौं भन्ने हुन्थ्यो । अहिले त जोखिम धेरै छ ।

बिडारी नेतृत्वको समितिले मंगलबार मात्रै परराष्ट्र मन्त्रालयलाई सीमा विवाद समाधानका लागि विगत ४ महिनामा के कस्ता पहल भएका छन् त्यसको विवरण सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment