Comments Add Comment

बंगलादेशमा अलपत्र नेपाली विद्यार्थीको क्रन्दन : राज्यविहीन भयौं

६ दिनदेखि डिजिटल रिले अनसनमा विद्यार्थी

१ जेठ, काठमाडौं । बंगलादेशमा अलपत्र अवस्थामा रहेका नेपाली विद्यार्थीहरु पाँच दिनदेखि डिजिटल रिले अनसनमा छन् । सरकारले स्वदेश फर्किन अनुमति दिनुपर्ने उनीहरुको एकसूत्रीय माग छ ।

स्वदेश फर्कनका लागि डेढ महिनादेखि यी विद्यार्थीले बंगलादेशी दूतावास र नेपाल सरकारसँग विभिन्न माध्यमबाट ताकेता गर्दै आएका थिए । तर, सरकारले अहिलेसम्म कुनै निर्णय लिन सकेको छैन । टिकटको पैसा आफैं तिर्न तयार हुँदा पनि चासो नदिएको भन्दै विद्यार्थीहरु दुःखी बनेका छन् ।

‘यहाँ स्थिति ठीक छैन । लकडाउन नाम मात्रैको छ । बजार पसलहरु खुलिरहेका छन् । हामीलाई संक्रमणको भय छ,’ आन्दोलित विद्यार्थीहरुको संयोजन गरिरहेका नवीन यादवले ढाकाबाट फोनमा भने ।

विद्यार्थीहरु अहिले आतंकित अवस्थामा रहेको यादव बताउँछन् । ‘मलाई धेरैले फोन र म्यासेज गरिरहनुभएको छ । हामी यहीँ मर्ने भयौं भन्नुहुन्छ । नयाँ आएका भाइबहिनीहरुले रुँदै फोन गर्दा मसित पनि उहाँहरुलाई सम्झाउने शब्द बाँकी छैन,’ यादवले भने ।

अरु सबै देशले आफ्ना विद्यार्थीहरु फिर्ता लगिसकेको यादवले बताए । उनी भन्छन्, ‘सँगै बस्ने विदेशी साथी बाई भन्दै विदा हुँदा हाम्रो मन कति कँुडिन्छ होला कल्पना गर्नुस त ? हामी यहाँ रुन मात्रै सकेका छैनौं ?’

बंगलादेशका विभिन्न शहरमा करिब आठ सयको संख्यामा नेपालीहरु छन् । उनीहरुमध्ये अधिकांश मेडिकलका विद्यार्थी हुन् । अस्पतालको होस्टलमा बस्ने भएकाले संक्रमणको खतरा अत्यधिक रहेको उनीहरु बताउँछन् ।

सारिका न्यौपाने भन्छिन्, ‘नेपाल जान पाए अहिले हामीलाई अरु केही चाहिएको छैन । तर, सरकारका लागि हाम्रो कुनै मूल्य रहेन छ । अहिले यहाँ विदेशी विद्यार्थी भनेको हामी मात्रै हौं । यहाँका कलेजहरुका लागि हामी बोझजस्तो बनिरहेका छौं ।’

अहिलेसम्म आफूहरुले सरकारसँग आशा राखेर शिष्ट तवरले डिजिटल माध्यमबाट संघर्ष गरिरहेको मृदुल जोशी बताउँछन् । अब पनि कुनै सुनवाई नभएमा भौतिकरुपमै प्रदर्शनमा उत्रिने उनले चेतावनी दिए ।

‘अहिलेसम्म धैर्यपूर्वक उद्धारको पर्खाइमा छौं । तर, कुनै सुनवाइ भएन भने दूतावासमै गएर धर्ना दिन पनि पछि पर्दैनौं,’ उनले भने, ‘यसरी त्रासमा कति दिनसम्म बाँच्ने ?’

अर्का विद्यार्थी प्रवेश राई भन्छन्, ‘हामीलाई यहाँबाट उद्धार नगरिएमा हाम्रो अन्तिम विकल्प भनेको एम्बेसीमै गएर सुत्ने हो । खान दिए दिनुस, नदिए नदिनुस् ।’

कतिपय विद्यार्थीलाई आर्थिक समस्याले पनि गाँज्न थालेको छ । नेपालबाट बंगलादेशमा बैंकिङ माध्यमबाट पैसा पठाउन सकिँदैन । यहाँबाट जाँदा नै पर्याप्त पैसा लिएर जानु पर्छ । बीचमा कोही आउजाउ गर्यो भने उनीहरुमार्फत पठाउन सकिन्छ । तर, यतिबेला कोही पनि आउजाउ गर्ने अवस्था नभएकोले अभिभावकले पैसा पठाउन सक्ने अवस्था छैन ।

डा. अनु गुरुङले भनिन्, ‘अहिले होस्टलमा विदेशी विद्यार्थी हामी मात्रै भएकाले उनीहरुले जतिसक्दो छिटो फर्किन दबाव दिइरहेका छन् । साथै होस्टलमा बसेको अतिरिक्त भाडा पनि माग्न थालेका छन् । कहाँबाट ल्याएर दिने ?’

आफ्ना छोराछोरी बंगलादेशमा अलपत्र परेपछि नेपालमा रहेका अभिभावक पनि छट्पटीमा छन् । उनीहरुले बारम्बार विभिन्न निकायमा पुगेर हारगुहार गरिरहे पनि ठोस जवाफ आएको छैन । अभिभावकहरुले परराष्ट्र मन्त्रालय र शिक्षा मन्त्रालयमा पुगेर ज्ञापनपत्र समेत बुझाएका छन् ।

कुपण्डोलका विनोद रञ्जितले नेपाली विद्यार्थीहरुको समस्याबारे सरकार सम्वेदनशील नबनेको बताए ।

‘अरु देशभन्दा बंगलादेशको अवस्था फरक छ । त्यहाँ हाम्रा छोराछोरीहरु हस्पिटलमा बस्ने भएकाले संक्रमणको खतरा ज्यादा हुन्छ । उनीहरु धेरै डराइरहेका छन्,’ उनले भने, ‘हामीले सरकारलाई आर्थिक भार पनि पार्न खोजेका छैनौं । टिकटको पैसा व्यहोर्ने र आएपछि अनिवार्य क्वारेन्टाइनमा बस्ने प्रतिवद्धता जनाउँदा पनि सरकारले वास्ता नगर्दा दुःख लागेको छ ।’

बंगलादेशमा अहिलेसम्म करिब १९ हजार जना कोरोना संक्रमित भेटिएका छन् । संक्रमितमध्ये २ सय ६९ जनाको मृत्यू भएको छ । संक्रमितको संख्या बढिरहे पनि यहाँ सरकारले लकडाउनमा कडाई गरेको छैन । बजारमा भिडभाड हुने गरेका छ भने सवारी साधन प्रशस्तै चलिरहेका छन् । स्कुल–कलेजहरु मात्रै अहिले बन्द अवस्थामा रहेको विद्यार्थीहरु बताउँछन् ।

विद्यार्थीहरुको रिले अनशन आज छैटौं दिनमा चलिरहेको छ । उनीहरु टिम बनाएर पालैपालो भिडियो लाइभमा आउँछन् । एउटा टिमले ६ घन्टासम्म भिडियो कन्फ्रेन्समा आफ्ना दुःख सेयर गर्छन् । सबैको निचोड एउटै हुन्छ, ‘हामीले सरकारलाई भार पर्ने गरी ठूलो माग राखेकै छैनौं । खाली हामीलाई जहाजबाट आउन अनुमति दिनुस् भनेका हौं । त्यति गर्न पनि किन सरकार हिच्किचाइरहेको छ ?’

केही विद्यार्थीहरुको भनाइ जस्ताको तस्तै :

सुरक्षाको समेत चिन्ता छ
डा. अनु गुरुङ

म ढाकाबाट ६ घन्टा टाढाको शहरमा बस्छु । म इन्टर्न सकाएर नेपाल जान तयार भएकी थिएँ । तर, यत्तिकैमा नेपालमा लकडाउन भयो । मजस्तै इन्टर्न सकेको धेरै विद्यार्थी हुनुहुन्छ ।

हामीले यहाँ सुरक्षित महसुस गरेका छैनौं । यहाँ लकडाउन पटक्कै फलो भइरहेको छैन । अहिले त इदले गर्दा सबै कुरा खुलिसक्यो ।

मेरो हस्पिटलमा अहिले म मात्रै छु । संक्रमणको जोखिमसँगै सुरक्षाको पनि चिन्ता छ । हस्पिटलको होस्टेलमा समयभन्दा बढी बसेको भनेर अतिरिक्त भाडा माग्न थालिएको छ । नदिए बस्न मिल्दैन जस्तो कुरा गरिरहेका छन् । घरबाट पैसा मगाउने अवस्था छैन, कसरी दिने ?

तिमीहरु चाइनाबाट आएको हो, गो ब्याक भनेर एकदमै ह्यारेस गर्छन् । जातीय हिसाबले हेला गर्छन् । नराम्रा शब्दहरु भन्छन् । अवस्था राम्रो छैन । कहिले नेपाल फर्किन पाइन्छ भन्ने मात्रै भइरहेको छ ।

हामी पढ्नलाई आएका हौं । फर्केर नेपालमै काम गर्ने हो । तर, हामीलाई सरकारले कुनै रेस्पोन्स गरेको छैन । हामी आफ्नै देशका लागि पराई भएछौं ।

जमिनबाटै लैजाँदा पनि हुन्छ
मृदुल जोशी

हाम्रा लागि अभिभावक भनेकै नेपाली दूतावास हो । यो नेपालको सरकारको एउटा प्रतिनिधि हो । हामीले सुरुदेखि नै एम्बेसीलदाई गुहार्दै आयौं ।

पहिलोपटक निवेदन दिँदा हामी सुरक्षित छैनौं र हामीलाई नेपाल लगियोस् भन्ने माग थियो । त्यसको आधिकारिक जवाफ केही आएन । फोन गर्दा हुन्छ–हुन्छ मात्र भनियो ।

हामी धेरै संख्यामा छैनौं । तीन वा चारवटा उडानमा फर्काउन सकिन्छ । हामीलाई जमिनबाटै लैजान पनि सकिन्छ । काँकडभिट्टामै हामीलाई क्वारेन्टाइन राख्दा भयो । त्यो कुरा हामीले दोस्रो पत्रमा उल्लेख गरेका छौं । हामीले यसरी अफिसियल रुपबाट निवेदन दिएपछि त्यसको औपचारिक जवाफ पाउनुपर्छ कि पर्दैन ?

एम्बेसीले डलर साटिदिन्छु भनेको छ । त्योबाहेक अरु हेल्प छैन । बंगलादेशमा नेपाली एकदम सुरक्षित छन् भन्ने सन्देश नेपालमा गएको पाएका छौं । यस्तो सन्देश एम्बेसीमार्फत गएको हो वा होइन थाहा भएन । तर, हामी यहाँ सुरक्षित छैनौं ।

यहाँको अवस्था दिन प्रतिदिन बिग्रिरहेको छ । लकडाउनका कत्ति पनि पालना भएको छैन । दैनिक हजारौंको संख्यामा संक्रमित थपिइरहेका छन् । हामी संक्रमणको उच्च जोखिममा छौं ।

के हामी नेपालका नागरिक होइनौं ?
सारिका न्यौपाने

हामीसँगै बस्ने भारतीय साथीहरुले एकसाता मात्रै प्रयास गर्दा नै स्वदेश फर्किन पाए । उनीहरु हामीलाई बाई भन्दै गए । यहाँ हामीलाई खाली सोधिन्छ, तिमीहरु कहिले जाने ? हामीसँग कुनै जवाफ छैन । साथी घर गएको टुलुटुलु हेर्दा के हुन्छ हाम्रो भित्री हृदयमा ? कसरी व्यक्त गर्ने ?

सरकार, प्लिज हामीलाई केवल एउटा अनुमति दिनुस् । टिकटको पैसा आफैं तिर्न तयार छौं । अब यो ठाउँमा धेरै बस्न सकिँदैन सरकार । अझै कति पीडित हुने ? हामी नागरिकको केही मूल्य छैन ? हामीले के गर्‍यौं भने नेपाल आउन दिनुहुन्छ, त्यो गर्न तयार छौं ।

हामी यहाँ शरणार्थीजस्तो अवस्थामा पुगेका छौं । न बंगलादेशले हामीलाई राख्न चाहेको छ, न नेपालले लैजान चाहेको छ । भएको पैसा पनि सकियो । खान पनि एकदम नराम्रो खुवाउन थालेका छन् । मुखमा गाँस हाल्दा घर परिवारको याद आउँछ । बुवाआमाले फोन गरेर के खायौ भनेर सोध्दा रुन मन लाग्छ । यस्तो कन्डिसनमा कसरी बाँच्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment