
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालस्थित बंगलादेश दूतावासले काठमाडौंमा ५३ वर्षअगाडिको जुलाई जनविद्रोहको स्मरण गर्दै कार्यक्रम आयोजना गरेको छ।
- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बंगलादेशको लोकतन्त्रतर्फको यात्रामा नेपालबाट पूर्ण सहयोग रहने बताए।
- कार्यक्रममा बंगलादेशका राष्ट्रपति र सरकारका प्रमुख सल्लाहकारको सन्देश वाचन गरिएको थियो र एक वृत्तचित्र प्रदर्शन गरिएको थियो।
२० साउन, काठमाडौं । नेपालस्थित बंगलादेश दूतावासले काठमाडौंमा एक कार्यक्रम गरी आजभन्दा ५३ वर्ष अगाडि बंगलादेशमा भएको जनविद्रोहको स्मरण गरेको छ ।
‘जुलाई अपराइजिङ डे’ (जुलाई जनविद्रोह दिवस) नाम दिइएको कार्यक्रम सन् १९७२ को जुलाई १७ मा ढाका विश्वविद्यालयका विद्यार्थी र श्रमिकहरुले जनजीविकाका सवालमा सरकारविरुद्ध गरेको प्रतिरोधको स्मरणमा मनाइएको हो । यो दिवसलाई बंगलादेशको एउटा महत्वपूर्ण र ऐतिहासिक मानिन्छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बंगलादेशको लोकतन्त्रतर्फको परिवर्तनशील यात्रामा नेपालबाट पूर्ण सहयोग र समर्थन रहने बताए ।
मन्त्री गुरुङले जुलाई जनविद्रोहलाई ‘बंगलादेशी जनताको लोकतन्त्रप्रतिको सामूहिक इच्छाशक्ति’को रूपमा उल्लेख गरे । उनले नयाँ पुस्ताबाट थालनी भएको यो आन्दोलनले ल्याएको ऊर्जा र उत्साहको चर्चा गरेका थिए ।
साथै नेपाल र बंगलादेशबीच व्यापार, लगानी, पर्यटन, सूचना प्रविधि तथा जनस्तरको सम्पर्कजस्ता विभिन्न क्षेत्रहरूमा भइरहेको सहकार्य एवम् आपसी सहयोगलाई अझ सशक्त बनाउन जोड दिए ।

काठमाडौंको बसुन्धरास्थित बंगलादेश दूतावासमा आयोजित कार्यक्रममा सार्कका महासचिव मोहमद गोलाम सरवारले बंगलादेश सरकार र नागरिकहरुलाई दिवसको शुभकामना दिएका थिए ।
उनले जुलाई जनविद्रोहलाई बंगलादेशको इतिहासमा अभूतपूर्व घटना भन्दै त्याग र बलिदान गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे ।
नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले दीर्घकालीन अधिनायकवादी शासनबाट जनतालाई मुक्त गराउने जुलाईका संघर्षकर्ताहरूको योगदान स्मरण गरेका थिए । साथै दमन र विभेदविरुद्ध विशेषगरी युवा पुस्ता– जेन जेडको भूमिकाको उनले उच्च प्रशंसा गरेका थिए ।
उनले विदेशमा रहेका बंगलादेशीहरूले दिएको योगदानको पनि प्रशंसा गरेका थिए ।

यो जनविद्रोहलाई अवसरको रूपमा चित्रित गर्दै उनले लोकतान्त्रिक र समृद्ध बंगलादेश निर्माणका लागि अन्तरिम सरकारका पहलहरूमा सबै सरोकारवालाहरूले हातेमालो गर्नुपर्ने बताए ।
कार्यक्रममा बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिन र सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसको सन्देश वाचन गरिएको थियो ।
कार्यक्रमको सुरुवात नेपाल र बंगलादेशको राष्ट्रिय गानबाट सुरु भएको थियो । त्यसपछि जुलाई जनविद्रोहका शहीदहरूप्रति श्रद्धाञ्जली स्वरूप एक मिनेट मौनधारण गर्नुका साथै एक वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा नेपालका लागि बंगलादेशका राजदूतहरू, विशिष्ट व्यापारी, व्यवसायी, चिकित्सक, पेशाकर्मी, नागरिक समाज, पत्रकार लगायत सहभागी थिए । त्यस्तै, सार्क सचिवालय, इसिमोड, युनिसेफलगायत क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूका प्रतिनिधिहरू पनि कार्यक्रममा सहभागी थिए ।
प्रतिक्रिया 4