Comments Add Comment

बेनिशाको झ्यानाकुटी डायरी : किस सिनले आपत्

चलचित्र ‘झ्यानाकुटी’ हलमा लागेर उत्रिएको झण्डै साढे दुई वर्ष भयो । तर, नायिका बेनिशा हमाललाई चाहिँ फिल्म भर्खर रिलिज भएको जस्तो ‘फिल’ आइरहेको छ । कारण हो, यूट्यूवमा चलचित्र अपलोड भएपछि पाएको रेस्पोन्स ।

कोरोनाको त्राश र लकडाउनले गर्दा चलचित्रसम्वन्धि सबै गतिविधि ठप्प छन् । घरभित्रै थन्किएका नेपाली चलचित्रका दर्शकहरु यतिबेला झुम्मिएका छन् यूट्यूवमा । लकडाउनकै दर्शकलाई लक्ष्यित गरेर केही नेपाली चलचित्र यूट्यूवमा राखिए । जसमध्ये झ्यानाकुटीले राम्रो चर्चा पाएको छ ।

सिमोस सुनुवार निर्देशित ‘झ्यानाकुटी’ १५ दिन अगाडि यूट्यूवमा अपलोड गरिएको थियो । त्यसयता यस चलचित्रले ४८ लाखभन्दा बढि भ्यूज प्राप्त गरिसकेको छ । धेरै दिनसम्म नेपालको ट्रेन्डिङको शिर्ष स्थान यसले कब्जा ग¥यो भने अहिले ३ नम्बरमा छ । यसमा करिब साढे चार हजार प्रतिक्रिया आएका छन् । अधिकांस प्रतिक्रिया सकारात्मक छन् । हलमा लाग्दा अपेक्षित सफलता नपाएको चलचित्रले यूट्यूवमा हिट भएपछि निर्माण पक्षलाई सान्त्वनासम्म मिलेको छ ।

प्रतिक्रियाहरु हेर्दा सबैभन्दा बढि प्रशंसा बेनिशाले पाएकी छन् । सौगात मल्लको उत्कृष्टता त पहिल्यैदेखि देखिँदै आएको हो । बेनिशाले यो चलचित्रमार्फत फरक खालको चरित्रमा आफूलाई प्रमाणित गरिन्.। अहिले पाइरहेको प्रतिक्रियाबाट उनी मख्ख छिन् ।

‘मलाई यो चलचित्र युट्यूवमा हालिएको थाहै थिएन,’ उनी भन्छिन्, ‘एकाएक धेरै जनाको सन्देश र प्रतिक्रिया आउन थालेपछि अचम्म लाग्यो । अनि पो यूट्यूवमा हालिएको चाल पाएँ ।’

बेनिशालाई फेसबुक, इन्स्टाग्रामदेखि टिकटकसम्म दर्शकका सन्देशहरु प्राप्त भएका छन् । यो क्रम अहिले पनि जारी नै छ ।

‘सामाजिक सञ्जालमा मैले जे पोष्ट गर्दा पनि दर्शकले झ्यानाकुटीकै बारेमा लेख्नुहुन्छ, धेरै नयाँ दर्शकले फलो गर्न थाल्नुभएको छ,’ उनले भनिन् ।

निशाले लिएकी थिइन् अडिसन

निर्देशक सिमोस सुनुवारले बेनिशालाई ‘झ्यानाकुटी’ को वान लाइनर सुनाउँदा ‘मालती’ चरित्र उनको मनमै बसेको थियो । उनले ग्रामिण महिलाको चरित्रमा अहिलेसम्म अभिनय गरेकी थिइनन् । त्यसैले यो भूमिकामा अभिनय गर्न निकै व्यग्र बनिन् ।

पछि चलचित्रमा नायिका निशा अधिकारी निर्मात्रीको रुपमा जोडिइन् । निशाले अडिसन गरेरै प्रमुख नायिका छनोट गर्ने निर्णय लिइन् ।

बेनिशाले पहिल्यै यो भूमिकाको निम्ति तयारी गरिरहेकी थिइन् । उनलाई यो कसैगरि गुमाउनु थिएन । त्यसैले उनी अडिसन दिन राजी भइन् । नभन्दै अडिसनबाट निशाले उनैलाई रोजिन् ।

बेनिशालाई सबैभन्दा ठूलो उत्साह चाहिँ अभिनेता सौगात मल्लसँग काम गर्न पाउँदाको थियो । उनी आफैं सौगातकी फ्यान हुन् । कुशल अभिनयका लागि प्रख्यात सौगातको अपोजिटमा काम गर्न उनका लागि कम चुनौतिपूर्ण पनि थिएन ।

‘उहाँसँग काम गर्ने इच्छा पहिल्यैदेखि थियो,’ बेनिशा भन्छिन्, ‘जब चलचित्रमा हामी दुईजना फाइनल भयौं त्यसपछि भने अलिकति दवाव महसुस भएको थियो । उहाँकै दाँजोमा अभिनय गर्न नसकेमा म ओझेलमा पर्न सक्थेँ ।’

चलचित्रको छायांकन धुम्पुसमा थियो । सुटिङमा जानुपूर्व बेनिशाले अभिनय र संवादका लागि आफ्नो तयारी गरिसकेकी थिइन् । सुटिङका लागी गएपछि उनले गाउँमा बच्चा बोकेर हिँडिरहेकी एक स्थानीय महिला देखिन् । उनलाई लाग्यो झ्यानाकुटीकी मालती यही हो । उनले ती महिलाको फोटो खिचिन् । निर्देशकलाई देखाइन् । अनि, आफूलाई त्यही रुपमा ढाल्ने प्रयास गरिन् ।

निकै सहजतापूर्वक सुटिङ सकिएको बेनिशा बताउँछिन् ।

‘मैले सौगात दाईबाट धेरै सिक्न पाएँ । उहाँसँग तुलना हुनु नै मेरो लागि गौरवको कुरा हो,’ बेनिशाले भनिन् ।

किस सिनले आपत्

झ्यानाकुटीको क्लाइमेक्स आम चलचित्रहरुभन्दा फरक छ । क्लाइमेक्समा बेनिशा र सौगातबीच ‘डिप किस’ पनि हेर्न पाइन्छ । यही सिनले गर्दा अहिले पनि बेनिशालाई आपत् परिरहेको छ । उनले परिवारसँग बसेर यो फिल्म हेर्न सकेकी छैनन् ।

निर्देशक सिमोसले सुरुमा नै बेनिशालाई यो सिनका लागि ‘कन्भिन्स’ गरेका थिए । निर्देशकले ‘कथाले मागेको एकदमै महत्वपूर्ण दृष्य’ भनिसकेपछि बेनिशा राजी भइन् । त्यसो त यसअघि पनि उनले ‘कालोपोथी’ मा किस सिन दिएकी हुन् ।

सौगातसँगको किस सिन पर्दामा हेर्दा उनलाई असाध्यै लाज लागेको थियो ।

बेनिशाले सुनाइन्, ‘मैले हलमा साथीहरुसँग फिल्म हेरेकी थिएँ । त्यो सिन आएपछि दर्शकले हुटिङ गर्न थाल्नुभो । साइडमा बसेका साथीहरुले पनि चिमाट्नु भो । म लाजले भुतुक्कै भएँ ।’

यही दृष्यका कारण उनले परिवारका सदस्यलाई आफूसँग फिल्म हेराउन लैजान सकिनन् । अहिले यूट्यूवमा आएपछि घरमा सबैले हेरे, तर उनले सँगै बसेर हेरिनन् । फिल्म हेरेपछि आमा र दिदीले उनलाई यति मात्रै भनेछन्, ‘अब चाहिँ सकभर यस्तो सिन नगर्नु है ।’

कस्तो छ फिल्म ?

झ्यानाकुटी श्रीमान र श्रीमतीबीचको सम्वन्धको कथा हो । ‘डार्क कमेडी’ जनराको चलचित्रमा हाँसोभन्दा भावुकता बेसी भटिन्छ । दर्शकको मन निचोर्ने दृष्यहरु छन् । कथा–पटकथा त्रुटीहरु भए पनि निर्देशन र प्रस्तुतिकरणले फिल्म सुन्दर बनेको छ ।

श्रीमानको भूमिकामा सौगात र श्रीमतीको भूमिकामा बेनिशाले अभिनय गरेका छन् । कथा उनीहरुकै वरिपरी घुमेको छ । अन्य कलाकारहरुमा पुस्कर गुरुङ, सुमी मोक्तान, आस्तल गुरुङ, जीवन भट्टराई लगायत छन् । चलचित्रको कथा प्रदिप भारद्वाजले लेखेका हुन् ।

कथामा एक दुधे बालकको पनि अहम् भूमिका छ । धुम्पुसकै एउटा परिवारसँग सो बालक मागेर अभिनय गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment