 
																			२ जेठ, काठमाडौं । दशैंतिहार होस् वा सानोतिनो बन्द–हडताल, काठमाडौंको ठमेलमा मानिसको घुइँचो कहिल्यै कम हुँदैनथ्यो । विश्वभरिका पर्यटकले ‘ठमेल बजार’ सधैं गुलजार रहन्थ्यो । तर, कोरोनाको महामारीपछि विगत दुई महिनायता ठमेल ठप्प छ । शून्यता छाएको छ ।
लकडाउनमा ठमेल सुनसान छ । तर, दिउँसो यहाँ एउटा रिक्सा यताउता दौडिरहेको देखियो । ‘बा.अ.उ १२४’ नम्बरको रिक्सा ठमेलमा अझै दौडिन छाडेको छैन ।
अधिकांश मजदुरी गर्ने मानिस उपत्यका छाडेर गाउँ गइसक्दा पनिे काभ्रे घर भएका ६५ वर्षे खामसाङ लामाले रिक्सा चलाउन छाडेका छैनन् । उनले ‘प्रशोधित दूध’वाला पहेंलो ज्याकेट लगाइराखेका थिए ।
कतिपय मानिस हजारौं किलोमिटर हिँडेर घर गए । कतिपय जिल्लाका गाउँपालिकाले उपत्यकामा फसेका आफ्ना नागरिकलाई गाडीमा राखेर उद्धार गरे । तर, खामसाङलाई सुरुमा लकडाउन खुल्छ भन्ने विश्वासले काठमाडौंमै अड्यायो ।
उनी भन्छन् ‘लकडाउन बढ्दै गयो, म यतै फसें । अब त खुल्छ भन्ने आशै मरिसक्यो ।’
जीवनका उर्जाशील ३० वर्ष ठमेल क्षेत्रमै बिताएका खामसाङलाई जस्तोसुकै परिस्थितिमा पनि ठमेल आफ्नैजस्तो लाग्दोरहेछ । यो सिलसिलालाई उनको पाखुरा र पैतालाले आजसम्म साथ दिइरहेको छ ।
ठमेलका गल्लीतिर रिक्सा कुदाउने उनको स्थायी बासस्थान नै रिक्सा हो । उनले काठमाडौंमा कोठा लिएका छैनन् । भन्छन्, ‘एउटा कोठाको केही नभए पनि ५ हजार पर्छ, त्यति पैसाले त बरु बिरामी हुँदा औषधि गर्न पुग्छ ।’
लकडाउन अघि खामसाङ दिउँसो रिक्सामा यात्रु ओसार्थे र राति त्यही रिक्सालाई शैय्या बनाएर विश्राम गर्थे । बिहान बेलुकाको खाना होटेलमा खान्थे । उनले यस्तो दैनिकी बिताएको दुई दशक बितिसक्यो ।
हामीले भेट्दा उनी सामाजिक संस्थाले खुवाउने दिवा खानाको प्रतिक्षामा थिए । लकडाउनमा उनी कहिले यस्तै राहतको खाना त कहिले आफूजस्तै रिक्सा चलाउने साथीको कोठामा खाना खान्छन् ।
काभ्रेपलाञ्चोकको तिमाल क्षेत्रमा पर्ने मेच्छेमा पर्छ उनको घर । यति लामो लकडाउनमा पनि घर नगएका उनी भन्छन्, ‘हातखुट्टै चल्न छाडेर रिक्सा चलाउन नसकेपछि त आफ्नो गाउँ जानैपर्यो नत्र किन जानु ?’ काठमाडौंमै यात्रु बोकिरहेको छु । कहिलेकाहीँ गल्लीका पसलको सामान पनि यताउता लान पाइएको छ ।’
 खामसाङका लागि सबैभन्दा आफ्नो भनेकै रिक्सा हो । उनी जहिले पनि रिक्सासँगै भेटिन्छन् । बिरामी भएर कतै सुतेको बाहेक उनको अधिकांश दिनरात रिक्सामै बित्छ ।
खामसाङका लागि सबैभन्दा आफ्नो भनेकै रिक्सा हो । उनी जहिले पनि रिक्सासँगै भेटिन्छन् । बिरामी भएर कतै सुतेको बाहेक उनको अधिकांश दिनरात रिक्सामै बित्छ ।
ठमेल बजार दिनमा भन्दा बढी रातमा जाग्ने हुँदा उनको व्यापार पनि रातमा बढी हुन्थ्यो । साँझमा रिक्सा चढेर सहर घुम्ने पर्यटक नै उनको मुख्य आम्दानीको स्रोत थियो । बजारमा चलपहल हुँदा दिनको एक हजारदेखि पन्ध्रसय रुपैयाँ कमाउने उनको लडाउनमा कुनै दिन त बोहोनीसम्म हुँदैन ।
काठमाडौंमा रिक्साबाहेक अर्थोक कुनै आधार नभएका खामसाङमात्र एक्ला होइनन् । उनका अनुसार जहान परिवार नभएका उनीजस्तै सात/आठ जना वृद्ध मानिस रिक्सामै बस्ने–खाने गर्छन् । परिवार भएका र उमेर भएका रिक्साचालक मात्रै डेरा लिएर बस्छन् ।
तीमध्ये कोही लकडाउने गाउँ फर्किए भने कोही आफन्तकहाँ गए । तर, आफ्नै रिक्सामा बस्नसुत्न मन पराउने खामसाङले भने यति ठूलो विपदमा पनि रिक्सा छाडेका छैनन् ।
उमेरमा खामसाङ ट्रेकिङमा भारी बोक्थे । ‘भारी बोक्दाबोक्दै घुँडामा समस्या आएपछि ट्रेकिङ छाडेको हुँ’ उनी भन्छन्, ‘त्यसपछि एउटा विदेशीको सहयोगले रिक्सा किनेपछि यो काम छाड्न सकेको छैन ।’
उमेर बढ्दै जाँदा खामसाङका लागि अब रिक्सा नै एकमात्र आधार बनेको छ । घुँडा दुख्ने समस्याले सताउँछ । ढाडमा पनि समस्या देखिएको छ । पहिलाको जस्तो दिनभरि रिक्सामात्रै गुडाइरहने तागत अब उनमा छैन ।
दुःखका कुरामात्र गरिरहँदा उनले बीचमा रोक्दै भने, ‘मभन्दा धेरै दुःखी यही सहरमा काल कुरेर बसेका छन् । मसँग त रिक्सा छ, चिनेजानेका साथीभाइ सहरभरि छन् ।’
उनको रक्सी–चुरोट खाने अम्मल छ । तर, नशाको तालमा अरुलाई ढाँट्ने, छल्ने बानी मन नपर्ने उनी बताउँछन् । भन्छन्, ‘काम गरेर खानेलाई देउताले पनि हेर्छन्् । तर, ठगेर, चोरेर खानेको झनै दुर्गति हुन्छ ।’
लकडाउनमा मजदुरी गर्ने अधिकांशको रोजीरोटी खोसिएको छ । लकडाउन खुल्यो भने पनि सुरुका केही महिना काम पाइहाल्न गाह्रो छ । सरकारले लकडाउनको समयमा सडकमा कोही पनि खान नपाएर मर्दैनन् भनेको छ । तर, सहरका अँध्यारा गल्ली र थोत्रा पाटीमा को कसरी बाँचिरहेको छ सरकारलाई थाहा छैन ।
प्रहरीको ध्यान पनि मुख्य चोक र आपराधिक गतिविधिमा बढी हुने गर्छ । मजदुरी गर्ने र मागेर खानेसँग प्रहरीको खासै सरोकार रहन्न ।
खामसाङले विवाह नगरेका होइनन् । तर, आफू काठमाडौंमा, जाहान गाउँमा । आपसमा कुरा नमिलेपछि श्रीमतीले छाडिन् ।
एक्लै काम गर्ने, एक्लै खाने र आफैंसँग रमाउने बानी थाहै नपाइकन बसेको उनी सम्झन्छन् । किशोरावस्थादेखि नै घर छाडेर टाढाटाढा काममा जाने बानी परेपछि उनलाई घरभन्दा बाहिरको संसार नै रमाइलो लाग्न थाल्यो ।
भनिन्छ, काठमाडौं बाहिरको मानिसका लागि उपत्यका कहिल्यै आफ्नो हुन सक्दैन । काठमाडौंले आपदमा कहिल्यै साथ दिँदैन । तर, खामसाङलाई काठमाडौंसँग कहिले झर्को लागेन ।
खामसाङ त लकडाउनमा रिक्सासँगै बीच सडकमा भेटिए । तर, उनीजस्तै अरु मजदुरी गर्ने सहरका गल्लीमा प्रशस्त छन् । तिनलाई भेट्न मूलबाटो हिँडेर सम्भव छैन ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4