Comments Add Comment

इन्टरनेटबाटै तेक्वान्दो प्रतिस्पर्धा : यस्तो छ स्वर्ण विजेता कमलको अनुभव

अनलाइनखबर फाइल

२ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) का कारण सबै त्रासमा रहेका बेला बिहीबार सुखद् खबर आयो, नेपालका कमल श्रेष्ठले विश्व च्याम्पियनसिपमा खेलेर स्वर्ण जिते । त्यतिमात्रै होइन, एउटा विधामा नेपालका खेलाडीले पहिलो दोस्रो र तेस्रो स्थान हात पार्दै क्लिन स्विप नै गरिदिए ।

नेपाल मात्र होइन, विश्व कोरोनासँग लडिरहेको छ । खेल गतिविधि ठप्प भएको छ । त्यस्तो बेला कमल कसरी विश्व च्याम्पियन बने ? यसमा धेरैको चासो छ ।

त्यसमाथि तेक्वान्दो फाइट गेम हो । तर, तेक्वान्दोमा पछिल्लो समय यसमा पुम्से थपिएको छ, जसमा खेलाडीले डेमोस्ट्रेसन गर्छन् । खेल कौशलका आधारमा अंक पाउनेछन् र धेरै अंक ल्याउने खेलाडी विजेता बन्नेछ । त्यसैले फ्रान्समा पहिलो पटक २०२० अनलाइन वर्ल्ड पुम्से च्याम्पियनसिप आयोजना भयो ।

पुम्से ३० वर्षमुनिको विधामा नेपालका कमल श्रेष्ठले स्वर्ण जिते । यस्तै नेपालकै जितबहादुर बोटेले रजत र प्रेमबहादुर लिम्बुले कास्य पदक जितेका छन् । अनलाइनबाट भिडियो पठाएर प्रतिस्पर्धा गरेको प्रतियोगिताको विजेता अनलाइनबाटै घोषणा भयो । सामान्य बेलामा भन्दा यो पक्कै फरक रहृयो ।

अनलाइनबाट प्रतिस्पर्धा गरेर वर्ल्ड च्याम्पियनसिपमा स्वर्ण जित्दा नेपालका कमल आफैँ पनि अचम्ममा परे । ‘मलाई त विश्वास नै थिएन । साथीले राति एक बजे फोन गरेर हजुर वर्ल्ड च्याम्पियन हुनुभयोभन्दा विश्वासै लागेन’ कमलले अनलाइनखबरसँग भने, ‘रिजल्टको स्कृनसट पठाएपछि विश्वास गरेँ ।’

२७ देशका खेलाडीले सहभागिता जनाएको च्याम्पियनसिपमा स्वर्ण जित्नु ठूलो उपलब्धि भएको उनले सुनाए । ‘२७ देश सहभागी भएको प्रतिस्पर्धामा स्वर्ण मात्रै होइन, दोस्रो र तेस्रो पदक पनि नेपाली खेलाडीले जितेका छन्’ कमलले भने, ‘वर्ल्ड च्याम्पियनसिपमा नाम राख्नु नै ठूलो उपलब्धि मानेको छु ।’

पहिलो पटक अनलाइन च्याम्पियनसिप भएकाले यो प्रतियोगिता कसरी भयो ? नेपाली खेलाडी कसरी विजेता बने भन्ने कौतुहलता समेत धेरैलाई लाग्न सक्छ ।

यो पनि पढ्नुहोस कमलले जिते विश्व अनलाइन पुम्से च्याम्पियनसिपमा स्वर्ण

स्वयं खेलाडीको लागि पनि यो फरक अनुभव थियो । किनकि डेमोस्ट्रेसन खेल पनि अरू प्रतिस्पर्धामा रिङमा मात्र आफू एक्लै हुने हो । त्यहाँ दर्शक, रेफ्री, कोच सबै हुन्छन् । तर, अनलाइन प्रतिस्पर्धामा आफूले आफ्नो पुम्सेको भिडियो खिचेर इमेल गरेर पठाउनुपथ्र्यो । त्यसलाई हेरेर सात जना रेफ्रिले निर्णय गरे । ‘हामीले आयोजकलाई दुई वटा फरकफरक पुम्से भिडियो पठाएका थियौँ । त्यसैलाई हेरेर निर्णय गरिएको हो’ स्वर्ण विजेता कमलले भने ।

यसअघि जर्मनीमा भएको युरोपियन अनलाइन पुम्से च्याम्पियनसिपमा पनि भाग लिएकाले नेपाली खेलाडीहरूलाई केही सहज भयो । त्यसबेला तीन वटा भिडियो पठाएका नेपाली खेलाडीहरू सेमिफाइनलबाट बाहिरिएका थिए ।

गत वर्ष मंसिरमा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद -साग)मा पनि कमलले स्वर्ण जितेका थिए । त्यो बेला उनले पुम्से २३ वर्षमाथि व्यक्तिगत विधामा स्वर्ण जितेका थिए । यस्तै, पुम्से २३ वर्षमाथिको समूह विधामा जितबहादुर बोटे र प्रेमबहादुर लिम्बुसँग मिलेर कास्य पदक जितेका थिए ।

१३औं साग र अनलाइन च्याम्पियनसिपमा केही फरक भएको कमलले सुनाए । ‘१३औं सागमा खेल्दा र अहिले केही फरक छ । सागमा घरेलु दर्शकको अगाडि खेल्दा केही हतोत्साही हुन्थेँ । राम्रो प्रदर्शन गर्नुपर्छ भन्ने दबाब हुन्थ्यो’ कमलले भने, ‘अनलाइन च्याम्पियनसिपमा चाहिँ हामीले भिडियो बनाएर पठाउने हो । यसमा सुधार गरेर राम्रो भिडियो पठाउन पाइयो ।’

अर्घाखाँचीमा जन्मिएका कमल श्रेष्ठ नेपाल प्रहरीमा कार्यरत छन् । उनी २०६७ सालमा प्रहरीमा प्रवेश गरेका थिए भने २०७० सालदेखि तेक्वान्दो खेल्न थालेका हुन् । ‘सुरुमा म फाइट र पुम्से दुवै विभागमा खेल्थेँ । सेकेण्ड काठमाडौं च्याम्पियनसिपमा मैले फाइटमै ब्रोन्ज मेडल समेत जितेको थिएँ’ उनले बताए ।

त्यसपछि भने उनले पुम्सेमा बढी ध्यान दिन थाले । ‘सन् २०१६ मा पोखरामा भएको वर्ल्ड तेक्वान्दो हामादान च्याम्पियनसिपमा मैले पुम्सेमा खेलेको थिएँ । त्यहाँ दुई वटा रजत पदक जितेँ’ उनले सुनाए । १३औं सागको छनोटको रुपमा रहेको आठौं बृहत् राष्ट्रिय खेलकुदमा कमलले पुम्सेको तीन फरक विधामा स्वर्ण जिते । ‘नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा मैले व्यक्तिगत, जोडी र समूहमा गरेर तीन वटा प्रतिस्पर्धामा स्वर्ण पदक जितेको थिएँ’ उनले भने ।

कमलले भियतनाममा भएको एसियन च्याम्पियनसिप, इन्डोनेसियामा २०१८ मा भएको एसियन गेम्समा पनि प्रतिस्पर्धा गरेका थिए । यस्तै नेपालमै भएको कोरियन एम्बासडर तेक्वान्दो च्याम्पियनसिपमा तीन वटा स्वर्ण जितिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment