Comments Add Comment

बुण्डेशलिगा सुरु हुँदा नेपाली खेलाडीहरु उत्साहित

३ जेठ काठमाडौं । मैदानमा खेल हेर्न दर्शक हुने छैनन् । प्रशिक्षक र बेन्चमा बस्ने खेलाडीले मास्क लगाउनेछन् । खेल सुरु हुनुअघि ह्याडसेक हुने छैन । खेलाडीबीच अंकमाल हुने छैन । मैदानमा थुक्न पाइने छैन तर फुटबल हुनेछ ।

कोरोनाभाइरस कोभिड-१९ को महामारीले दुई महिना रोकिएको बुण्डेशलिगा शनिवार पुन: सुरु हुँदा यस्तै फरकपन देख्न पाइनेछ ।

अहिले कोरोनाभाइरसले विश्न नै त्रसित छ । खेलकुद गतिविधि ठप्प छन् । चर्चित खेल फुटबल नभएको दुई महिना बढी भइसक्यो । यस्तोमा सुरक्षाको सबै विधि अपनायर आजैदेखि जर्मनीको शीर्ष डिभिजनको फुटबल बुण्डेशलिगा फेरि सुरु हुन लागेको हो ।

यसलाई लिएर अहिले जर्मनीको मात्र नभई सारा विश्वका फुटबल खेलाडी र खेलप्रेमीहरु उत्साहित छन् । मैदानमा उपस्थित भएर हेर्न नपाए पनि टेलिभिजनमा प्रत्यक्ष हेर्न पाइने खबरले पनि सबैमा उत्साह छ ।

नेपाली फुटबल खेलाडीहरु पनि यसबाट उत्साहित बनेका छन् ।

‘यो सबैको लागि राम्रो समाचार हो जो फुटबलमा संलग्न छन् र जो फुटबल हुन हेर्न साँच्चै नै मन गर्छन् ।’ नेपाली राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर किरणकुमार लिम्बुले अनलाइनखबरसँग भने ।

अहिले कोरोनाले गर्दा नेपाली फुटबल खेलाडीहरु पनि फुर्सदमा छन् । नेपालको शीर्ष श्रेणीको फुटबल शहीद स्मारक ए डिभिजन लिग गत फागुनमा सकिएको थियो भने बी डिभिजन चल्लै गर्दा कोरोनाले स्थगित भएको थियो ।

यस्तै चैत पहिलो साता सुरु हुने तय भएको महिला राष्ट्रिय लिग पनि सुरु नभई स्थगित भएको छ ।

‘फुटबल फेरि ब्याक हुँदैछ । हामी खुशी छौँ । म चाहन्छु कि हामी पनि चाँडै ट्रेनिङमा फर्न पाउँ,’ किरणले भने ।

यस्तै राष्ट्रिय टिमकै अर्का गोलकिपर विशाल श्रेष्ठ पनि फुटबल फेरि हुन लाग्दा उत्साहित छन् । ‘युट्युमा मात्रै हेरिकाको प्रत्यक्ष हेर्न पाउने भयो । तर अब नयाँ शैलीमा हुँदैछ । सबैलाई एकदमै उत्सुकता छ,’ विशालले भने, ‘दर्शक बिना रमाइलो त हुँदैन । फुटबलको पहिले देखेको माहोल जोश अलीकती कम देखिने हो की कस्तो हुन्छ भनेर हेर्न लायक हुनेछ ।’

मछिन्द्र क्लबलाई ए डिभिजन लिग जितेका विशाल अब नयाँ शैलीमा फुटबल हुने हुँदा त्यो कस्तो देखिएला भनेर हेर्न उत्सुक छन् । ‘अब ५ सब्सिच्युट हुने सेलेब्रेसनलगायत नयाँ नियमहरु आइराको छ । रेफ्रीसँग डिस्कस गर्ने कम हुन्छ। झगडा नहुने । कस्तो होला भनेर नयाँ शैलीमा हेर्न पाइने भयो ।’

यसैगरी राष्ट्रिय टिमका मिडफिल्डर सुजल श्रेष्ठले पनि बुण्डेशलिगा हेर्न उत्साहित रहेको बताए । १३औं सागमा स्वर्ण जितेको नेपाल यु-२३ टिमको कप्तान समेत रहेका सुजलले बुण्डेशलिगा यसअघि खासै फलो नगरेपनि अहिलेको अवस्थामा जर्मन लिगको खेल हेर्न लायक हुने बताए । ‘यस फरक शैलीमा हुँदैछ । फ्यान हुने छैनन् । अहिलेको अवस्थामा त्यो नै ठिक हो,’ सुजलले भने ।

यद्यपि सुजलले बोरुसिया डर्टमण्डको खेल अली मन पर्ने बताए । ‘मलाई तिनीहरुको फ्यान मन पर्छ। अनी खेलाडीमा डर्टमण्डके मार्को रियस मन पर्छ,’ उनले बताए ।

राष्ट्रिय टिमका फरवार्ड अभिषेक रिजालले पनि फुटबल फेरि शुरु हुन लागेकोमा खुशी लागेको बताए । ‘धेरै पछि फुटबल हुँदैछ । आफू नखेलेपनि अरुको खेल हेरेर इन्जोयो गर्नुपर्‍यो भन्ने लाग्छ,’अभिषेकले भने ।

भारतीय फुटबल आई लिग खेलेर चैतमा नेपाल फर्किएका किरण चेम्जोङ लामो समयपछि फुटबल फर्किएकोले खेल हेर्न आफू तयार तयार रहेको बताए । ‘मलाई ठूला म्याच हेर्न मन पर्छ । लामो समयपछि फुटबल फेरि सुरु हुँदैछ । आजको खेल म पक्कै हेर्नेछु। फ्यान बिना कस्तो हुन्छ होला । नयाँ अनुभव हुनेछ,’ किरणले भने, ‘प्रिमियर लिग झन् धेरैले पर्खिरहेका छन् ।’

जर्मन बुण्डेशलिगामा उनको कुनै फेभरेट टिम भन्ने छैन तर ठूला टिमको गेम हेर्ने उनले सुनाए । ‘सबै टिम आफ्नो ठाउँमा राम्रो छ फेभरेट भन्ने छैन । ईपीए, ला लिगा र बुण्डेशलिगा सबैको,’ उनले भने ।

अभिषेकले पनि आज हुने बोरुसिया डर्टमण्ड र साल्काबीचको खेल हेर्ने सुनाए । तर उनको मन पर्ने टिम र खेलाडी भने इटालियन सिरी ए मा छ । ‘मलाई युभेन्ट्स मन पर्छ । तर अहिले खेल छैन । त्यही भएर आज डर्टमण्ड र साल्काकै खेल हेर्नेछ,’ युभेन्ट्सबाट खेल्ने क्रिस्टियानो रोनाल्डोको फ्यान अभिषेकले भने ।

उता गोलकिपर विशाल श्रेष्ठ पनि आफ्नै पोजिसनमा खेल्ने वायर्न म्युनिखका गोलकिपर मानुएल नोएको खेल हेर्न उत्साहित छन् । ‘मलाई वायर्न म्युनिखको खेल मानुएर नोए भएर मन पर्छ । अहिले काम त छैन सबे गेम हेर्नलाई फुर्सद छ,’ विशालले भने, ‘नोए भएकोले वायर्नको म्याच हेर्छु । यो गेमहरु हेरेर माइन्डलाई अली फ्रेस होला ।’

बुण्डेशलिगाको शीर्ष स्थानमा रहेको वायर्नले आइतवार युनियन बर्लिनसँग खेल्दैछ ।

२ महिनापछि सुरु हुन लागेको बुण्डेशलिगामा आज भने ६ खेल हुँदैछ । जसमा दोस्रो स्थानको बोरुसिया डर्टमण्ड र छैटौं स्थानमा रहेको साल्का ०४ बीचको खेल धेरैको लागि प्रतिक्षित बनेको छ । उक्त खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजे हुनेछ । त्यही समयमा तेस्रो स्थानको आरबी लेयपजिगले फ्राएवर्गसँग खेल्दैछ ।

डर्टमण्डको ५१ अंक र लेइपजिगको ५० अंक छ । दुवै टिमलाई जित हात पार्दे वायर्नसँग अंकदुरी कम पार्ने अवसर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment