Comments Add Comment

नीति तथा कार्यक्रममा छलफल सुरु हुँदै, प्रधानमन्त्रीको जवाफ मंगलबार

४ जेठ, काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा आइतबार संसदमा छलफल सुरु हुँदै छ । छलफलका लागि आइतबार बिहान ११ बजे संसद बैठक बस्दै छ ।

संसदीय प्रचलनअनुसार सबैभन्दा पहिले प्रतिपक्ष दलको नेताले नीति तथा कार्यक्रममा आफ्नो दलको धारणा राख्ने छन् । त्यसपछि नीति तथा कार्यक्रममा संशोधन दर्ता गराएका सांसदहरूले आफ्ना धारणा राख्नेछन् ।

नीति तथा कार्यक्रममा आइतबार र सोमबार दुई दिन छलफल गरेर मंगलबार प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम छ ।

यही जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेकी थिइन् । कोरोना संक्रमणका कारण यसवर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिइएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण नीति तथा कार्यक्रममाथिको छलफल छोट्याउने निर्णय शनिबारको कार्यव्यवस्था समितिको बैठकले गरेको थियो । नेकपा नेतृ रेखा शर्माले कोरोना भाइरस संक्रमणको जोखिम रहेकाले धेरै दिनसम्म बैठक बसिरहनु उपयुक्त नहुने भएकाले छलफल छोट्याउने निर्णय भएको जानकारी दिइन् ।

नीति तथा कार्यक्रममा धारणा राख्न चाहने सांसदहरूको नामावली दलहरूले सभामुखलाई उपलब्ध गराउने र बैठकमा सभामुखले ती सांसदहरूलाई बोल्न दिने प्रचलन छ । अघिल्ला बैठकहरूमा बोल्न नपाएको भन्दै सांसदहरूले आक्रोश पोखेका थिए ।

नीति तथा कार्यक्रममाथिको छलफलमा पनि त्यस्तै हुन सक्ने अनुमान गरिएको छ । त्यसैले, शनिबारको कार्यव्यवस्था समितिको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सकेसम्म थोरै नाम उपलब्ध गराइदिन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment