Comments Add Comment

सिन्धुपाल्चोकका ४ वडा र स्वास्थ्य चौकी सिल, बाह्रबिसे बजार पनि बन्द

सिन्धुपाल्चोकको बाह्रबिसेमा तैनाथ सुरक्षाकर्मी ।

४ जेठ, काठमाडौं । कोरोना संक्रमणबाट सिन्धुपाल्चोकमा एक जना महिलाको मृत्यु भएपछि चार वटा गाउँ सिल गर्दै सेना परिचालन गरिएको छ । ती महिलालाई उपचार गर्न लगिएको बाह्रबिसेको स्वास्थ्य चौकी पनि सिल गरिएको छ ।

बाह्रबिसे नेगरपालिकाकी उपमेयर सुशीला पाख्रिनले लकडाउनमा कडाइ गर्न बाह्रबिसे नगरपालिकाका वडा नम्बर ८ र ९ तथा बलेफी गाउँपालिकाका ७ र ८ नम्बर वडामा सेना परिचालन गरिएको बताइन् । बाह्रबिसे ती महिलाको घर हो भने बलेफी उनको माइती हो ।

उपमेयर पाख्रिनका अनुसार बाह्रबिसे बजार पनि आइतबार बिहानबाट पूर्णरुपमा बन्द गरिएको छ । ‘अरु दिनमा अत्यावश्यक खाद्य सामग्री किनबेच गर्न केही घण्टा खोलिन्थ्यो, आज बिहान त बजार पूरै बन्द गरिएको छ,’ उपमेयर पाख्रिनले भनिन् ।

शनिबार बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । उनको मृत्युलगत्तै शनिबारदेखि नै जोखिमयुक्त गाउँ र बजार क्षेत्रमा कडाइ गरिएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको टोली पनि सिन्धुपाल्चोक गएर अनुसन्धान गर्दै छ ।

बाह्रबिसेकी ती महिला कोरोनाबाट ज्यान गुमाउने नेपालको पहिलो व्यक्ति हुन् । आइतबार बिहानसम्म नेपालमा २९१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस कोरोनाबाट ज्यान गुमाएकी महिला : टोखामा बस्थिन्, डेलिभरी भएपछि मात्र गाउँ लगिएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment