Comments Add Comment

बुझेर पनि बुझ पचाएपछिको झट्का ! अब सुरु गरेको तयारीले महामारी धान्ला ?

विज्ञ भन्छन्- पहिलो मृत्युले दिएको सन्देश झन खतरा !

कोरोनाबाट मृत्यु भएकी महिलाको शव दाहास‌ंस्कार गर्न लैजाँदै । तस्वीर सौजन्य : सजना बज्राचार्य

४ जेठ, काठमाडौं । नेपालमा कोभिड-१९ को पहिलो संक्रमितबाट दोस्रो भेटिन ५८ दिन लागेको थियो । त्यतिबेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरूको दाबी थियो, ‘१ बाट २ भयो, अब १०० कट्न दिन्नौं ।’

उनीहरूले आफ्नो दाबी प्रमाणित गर्न केही विज्ञहरूलाई कोरोनाको महामारी पूर्वानुमान गर्न लगाए । विज्ञ टोलीको अध्ययनले भन्यो, ‘जेठको पहिलो साताबाट नेपालमा संक्रमित घट्न थाल्नेछन् । त्यसपछि लकडाउन खुकुलो बनाउँदै लैजानुपर्छ ।’

नेपालमा कोरोना संक्रमण आउँदै-आउँदैन, आएपनि यसले ठूलो क्षति गर्दैन भनेर बसेका स्वास्थ्यमन्त्री र उनको सचिवालयलाई विज्ञहरूको यो निष्कर्ष ढुङ्गो खोज्दा देवता मिलेझैं भयो । त्यही अध्ययनका आधारमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना संक्रमणले नेपालले भयावह रुप नलिने रटान लगाइरहे ।

तर, मध्यवैशाखपछि कोरोना संक्रमितको संख्या उकालो लाग्यो । त्यसपछि स्वास्थ्यमन्त्री र मन्त्रालयका अधिकारीहरू भन्न थाले, संक्रमण आएपनि कसैलाई मर्न दिन्नौं ।’ मन्त्रालयको यही दाबीलाई पत्याएर सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममै लेख्यो– महामारीबाट नेपालभित्र कुनै पनि व्यक्तिको ज्यान जाने अवस्था आउन नदिन सरकार दृढतापूर्वक लागेको छ ।’

तर, अवस्था ठिक उल्टो छ । संक्रमितको संख्या दिनहुँ बढ्दै गइरहेको छ भने कोभिड-१९ कै कारण पहिलोपटक २९ वर्षीया महिलाको मृत्यु भएको पुष्टि भएको छ । योसँगै कोभिड-१९ महामारी राज्यको नियन्त्रण बाहिर गएको संकेत मिलेको छ ।

बेवास्ता गरिएको जनस्वास्थ्य विज्ञहरूको चेतावनी

चीनको वुहानबाट सुरु भएको कोभिड-१९ ले युरोप, अमेरिकासम्म महामारीको रुप लिँदा नेपाल शान्त रह्यो । पहिलो केस भेटिएको लामो समयसम्म दोस्रो केस देखिएन । भेटिएका केसमा पनि कसैलाई गम्भीर समस्या छैन । त्यसैले आममानिस मात्र होइन, सरकारी अधिकारीहरू पनि नेपालीमा रोगप्रतिरोधात्मक क्षमता बढी भएको अवैज्ञानिक तर्कमा रमाइरहे ।

महामारीबारे अध्ययन नगरेकाहरूले यो तर्क गर्नु अस्वभाविक होइन । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मन्त्री, जोसँग इडियोमियोलोजी तथा सरुवा रोगबारे अध्ययन गरेका एकसेएक विज्ञ छन्, यो निकायले त्यो गल्ती गर्नुहुन्न’थ्यो । एक जनस्वास्थ्य विज्ञ भन्छन्, ‘यस्तो महामारी अरूमा अण्डर रियाक्सनभन्दा ओभर रियाक्सन राम्रो हुन्छ । भयावह अवस्थाको कल्पना गरेर तयारी गर्नुपर्छ । ताकि भोलि त्यो अवस्था आउँदा पनि सम्हाल्न सकियोस् ।’

फेरि जीवाणु वैज्ञानिक समीरमणि दीक्षित, संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी, जनस्वास्थ्य विज्ञ शरद वन्तलगायतले बारम्बार भनेका थिए, ‘नेपालमा कोभिड-१९को महामारी फैलिँदैन भन्ने मानसिकताले केही तयारी गरेको देखिँदैन। यही सोच रह्यो भने नेपालको महामारी नियन्त्रणबाहिर जान सक्छ ।’

उनीहरूको कुरामा सहमति जनाउँदै अरू विज्ञहरूले थपेका थिए, ‘महामारी फैलिन सुरु गरेपछि चाहेर पनि तयारी गर्न सक्दैनौं, त्यसैले छिटोभन्दा छिटो व्यापक परीक्षण र पूर्वाधार निर्माणमा जोड दिएनौं भने अवस्था भयावह हुन सक्छ ।’

तर, स्वतन्त्र विज्ञहरूको चेतावनीलाई सरकारले ‘काग कराउँदै गर्छ, पिना सुक्दै जान्छ’ भनेझैं गर्‍यो । स्वयं स्वास्थ्यमन्त्री र उनका विज्ञ सल्लाहकारहरू ‘कोभिड-१९ नेपालमा आउँदैन, आएपनि महामारीको रुप लिँदैन’ भन्ने भ्रममा बसे । उनीहरूमा कोरोना महामारीलाई लिएर ‘सेन्स अफ अर्जेन्सी’ आफूले नदेखेको एक विज्ञ सुनाउँछन् ।

त्यसकै परिणाम पहिलो केस भेटिएपछि मात्र होइन, लकडाउन गरेपछि पाएको समय सदपुयोग भएन । परीक्षणको दायरा बढाउन जोड गरिएन। जनस्वास्थ्य विज्ञहरूको भाषामा भन्दा महामारीविरुद्ध लड्ने मानसिकता नै बनाइएन ।

कुनै गतिलो पूर्वाधार निर्माणमा ध्यान दिइएन । नेपालमा पहिलो कोरोना संक्रमित भेटिएको ९ माघ २०७६ र अहिलेको अवस्थामा आइपुग्दा पनि आस्पतालमा आधारित पूर्वाधारमा उल्लेख्य काम भएको छैन।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पहिलो केस भेटिँदा पनि पाँच वटा आइसोलेसन बेड थिए । अहिले एक जनाको मृत्यु र भइसक्दा पनि पाँच वटा मात्रै आइसोलेसन बेड छन् । अस्पतालका निर्देशक सागर राजभण्डारी अब केही दिनमा ३० वटा आइसोलेसन बेड थपिने बताउँछन् ।

देशको केन्द्रीय अस्पतालको हालत यस्तो छ भने प्रदेशस्तरीय अस्पतालहरू कुन अवस्थामा होलान् ? प्रदेशस्तरीय अस्पतालको आइसोलेसनमा बस्ने संक्रमितले भनिरहेका छन्, ‘अस्तव्यस्त र भद्रगोल, आइसोलेसन वार्डले गर्दा अन्य बिरामीले थला परिएला जस्तो छ ।’

तर, स्वास्थ्य मन्त्रालयका स्वास्थ्य विज्ञ डाक्टर खेम कार्की अहिले पनि एक लाख मानिस संक्रमित भए पनि उपचार गर्न सक्ने अवस्थामा रहेको दाबी गरिहेहेका छन् ।

के यो सम्भव छ ? एकपटक तथ्यांक हेरौं ।

मन्त्रालयको तथ्यांकअनुसार देशभर निजी र सरकारी अस्पतालका कुल बेड संख्या २६ हजार नौ सय ३० हो । यसमा तीन हजार ७६ आइसोलेसन बेड छन् । यसमा कोभिड-१९ बाहेकका अन्य बिरामीहरूको पनि उपचार गराउनुपर्ने हुन्छ । यस्तै देशभरका अस्पतालमा एक हजार पाँच सय ९५ आईसीयू बेड छन् भने ८४० भेन्टिलेटर छन् । १९४ वटा अस्पतालमा आईसीयूको सुविधा छ ।

मन्त्रालयका अनुसार लेभल-१ अस्पताल १३ वटा छन् भने लेभल-२ अस्पताल १२ वटा छन् । यस्तै, लेभल-३ अस्पताल तीनवटा छन् । त्यसमा पनि सरकारले डेन्जर जोन मानेको प्रदेश २ र ५ मा झनै अस्पताल र त्यहाँको पूर्वाधार निकै कमजोर छ ।

स्वास्थ्यमन्त्रीले कुरा सुनेनन् कि बुझेनन् ?

परीक्षणको दायरा बढाएर पूर्वतयारीमा जोड दिइएन भने कोरोना नियन्त्रण गर्न गाह्रो छ भनेर विज्ञहरूले मन्त्रालयको मिटिङमा पटक-पटक ध्यानाकर्षण गराएका थिए । तर, मन्त्री ढकालले पूर्वाधार निर्माणमा जोड नदिएको मन्त्रालयका एक अधिकारी बताउँछन् । उनका अनुसार मन्त्री ढकालले ‘डाक्टरहरूले नेपालमा कोरोना फैलिन्न भनेका छन्, त्रास नफैलाउनुस्’ भनेर थर्काएका थिए ।

‘यस्ता केस कति होलान्, समयमै टेस्ट भएको भए अहिले यो अवस्था आउन्न थियो । अब सबैले हामी डेञ्जर जोनमा रहेको कुरा बुझ्न ढिलो गर्नुहुन्न- जीवाणु वैज्ञानिक सुदीप खड्का

‘महामारीको संकेत गर्दा मन्त्रीले मिटिङमा थर्काए, मन्त्रीकै मानसिकता यस्तो भएपछि हामीले मात्रै के गर्न सक्थ्यौं र ?’ नाम नबताउने शर्तमा एक कर्मचारी भन्छन्, ‘झुट फैलाउनु र त्यसलाई विश्वास दिलाउनु नै मन्त्रीको सचिवालयको प्रमुख अस्त्र भएको छ । त्यसैले स्वास्थ्यमन्त्रीले हाम्रो कुरा सुन्न भएन ।’

त्यसो भए कोरोनाको महामारी फैलियो भने यही तयारीले कोभिडविरुद्ध लड्न सकिएला त ?

‘सकिन्न, कोभिड-१९ महामारी राज्यको नियन्त्रण बाहिर गइसक्यो भनेर हामीले एक साता अगाडि भनेका थियौं’ नाम उल्लेख नगर्ने शर्तमा मन्त्रालयका एक विज्ञ भन्छन्, ‘चार महिना अगाडि नै पूर्वतयारी गरौंभन्दा नेपालमा केही हुन्न भनेर मन्त्रीले कुरा सुनेनन्, अहिले टाउकोमा हात राखेर के हुन्छ ?’

अर्का अधिकारी स्वास्थ्य मन्त्रालयकै विभिन्न विभागको तालमेल नमिलेकाले पनि यस्तो भएको बताउँछन् । ‘स्वास्थ्यमन्त्री आफूले पनि भाइरसको क्षति आकलन गर्न नसक्ने र विज्ञले भनेको कुरालाई राजनीतिक चस्माले हेरेका कारण अहिलेसम्म पूर्वाधारमा जोड दिन नसकिएको हो’ ती विज्ञ भन्छन्, ‘संक्रमितको मृत्यु भएपछि पूर्वाधार निर्माण गर्छु भनेर त कहाँ सम्भव हुन्छ ?’

मन्त्रालयको छलफलहरुमा संक्रमितहरू थपिँदा राख्न चाहिने आइसोलेसन वार्डलगायतको पूर्वतयारीबारे छलफल हुँदा कसैले चासो नदिएको स्वास्थ्य मन्त्रालयका अर्का विज्ञ बताउँछन् । उनी भन्छन्, ‘त्यतिबेला मन्त्री र उहाँको सल्लाहकारहरूको मानसिकता परिवर्तन गर्न सकेको भए अहिले संक्रमित बढ्दा कम्तीमा आइसोलेसनमा राख्न त सकिन्थ्यो तर अब त ढिला भयो ।’

पहिलो मृत्युले दिएको सन्देश झन खतरा !

कोरोनाको कारण मृत्यु भएको घटना सार्वजनिक हुनुअघि वीरगञ्जको नारायणी अस्पतालमा आइसोलेसनमा बसेका दुई जना कोरोना संक्रमित भागेको समाचार बाहिरियो ।

यो खबर बाहिरिनुअघि नारायणी अस्पतालमा बेडको अभाव भएर १८ जना संक्रमितलाई अस्पताल ल्याउन सकिएको थिएन । त्यसैले संक्रमितको संख्या बढ्नासाथ उपचार पाउन गाह्रो भएको धेरैले बुझिसकेका थिए । राज्यले पूर्वतयारी गर्ने ४ महिना लामो समय पाउँदा पनि केही नगरेको प्रमाणित भएको थियो ।

यो बीचमा अस्पतालमा बसेका संक्रमित भागे गोली हान्ने आदेशसम्म दिने निर्णय भए । भलै यो निर्णय पछि सच्याइयो । तर, अस्पतालको अस्तव्यस्त आइसोलेसन वार्डबारे कतै बहस भएन । जनस्वास्थ्य वैज्ञानिक डाक्टर दीक्षित भन्छन्, ‘४ महिनापछि पनि आइसोलेसन वार्डहरूको हालत त्यस्तो हुनु भनेको राज्यले देशमा कोभिड-१९ को महामारी फैलिदैन भन्ने मानसिकता राख्नु हो ।’

जीवाणु वैज्ञानिक सुदीप खड्का पहिलो मृत्युले नेपालमा कोभिड-१९ ले महामारीको रुप लिइसकेको संकेत गरेको बताउँछन् । सुत्केरी बेथा लागेका बेला वा डेलिभरीका क्रममा मृत्यु भएको भए मृत्युको कारण समेत पत्ता नलाग्ने उनको तर्क छ ।

‘यस्ता केस कति होलान्, समयमै टेस्ट भएको भए अहिले यो अवस्था आउन्न थियो’ उनी भन्छन्, ‘अब सबैले हामी डेञ्जर जोनमा रहेको कुरा बुझ्न ढिलो गर्नुहुन्न ।’

लकडाउन सुरु हुनासाथ पीसीआर टेस्टको दायरा बढाएको भए यो महामारीको पूर्वानुमान हुने डाक्टर दीक्षित बढाउँछन् । ‘लकडाउन सुरु हुँदै व्यापक टेस्ट गरेको भए अहिले टाउकोमा हात लगाएर बस्नुपर्ने नै थिएन’ उनी भन्छन्, ‘टेस्ट कम भएपछि लड्न असम्भव हुन्छ, महामारीले आफ्नो समय लिएरै छाड्छ ।’

यो पनि पढ्नुहोस बाँकेमा क्वारेन्टाइन बसेका युवकको मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment